१२ असोज, वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो ।
कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् ।
सोमबार बिहानै उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ । महिलाको साथमा उनको श्रीमान इनरदीप पण्डित पनि अस्पताल गएका छन् ।
शनिबार रातिदेखि आइतबार बिहानसम्म अक्सिजन लगाएर राखिएको उनको स्वास्थ्य अवस्था सामान्य छ । आइतबबार बेलुकी कोभिड वारियर्सको टोलीसँगै घरमै पुगेकी प्रसूति रोग विशेषज्ञ डाक्टर दिप्ती यादवले पनि उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।
संक्रमित गर्भवतीलाई नारायणी अस्पताल पठाइएको उपचारमा सहयोग गर्दै आएका सिएमए जितेन्द्र शर्माले जानकारी दिए । ‘गाडी पठाउँछु, संक्रमितलाई अस्पतालमा पठाइदिनुस् भनेर हिजै राति नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्डको फोन आएको थियो,’ उनले भने, ‘बिहान गाडी पठाउनुभएछ, आएर लिएर गएका छन् ।’
संक्रमित महिलाको छेउमा घाउमा इन्फेक्सन भएका बिरामी राखिएकोले रगत बगिरहेको हुँदा डर लागिरहेको गुनासो उनले गरेको शर्माले बताए । यसबारे अस्पतालमा जानकारी गराइसकिएको र समस्या समाधान गर्ने आश्वासनसमेत पाएको शर्माको भनाइ छ ।
नारायणी अस्पतालमा जनरल सेवा जारी छ । कोभिड शंकास्पद विरामीलाई राख्नका लागि १५ बेडको अब्जरभेसन वार्ड मात्रै सञ्चालन छ । संक्रमण पुष्टि भइसकेपछि संक्रमितलाई कोभिड अस्पताल, सामुदायिक आइसोलेसन वा होम आइसोलेसन पठाउने गरिएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सञ्जय ठाकुर कोभिड अस्पतालले संक्रमितको उपचार गर्न नमान्दा सरोकारवाला निकाय मुकदर्शक भएर बस्नु गलत भएको बताउँछन् । कोभिड र नन कोभिड विरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा संक्रमण फैलने जोखिम हुने उनको भनाइ छ ।
‘कोभिडको साइडमा ननकोभिड राख्दा संक्रमण फैलने जोखिम हुन्छ । त्यसो गर्ने हो वा कोभिड अस्पताललाई सुविधा सम्पन्न बनाउने ? त्यसबारे निर्णय हुनुपर्छ,’ उनले भने । नारायणी अस्पतालमा दुवै सेवा सञ्चालन गर्ने हो भने त्यसै अनुसारको ठाउँ र जनशक्तिको व्यवस्थापन गरिदिनुपर्ने बताउँदै मेसु ठाकुरले भने, ‘दुई वटा अस्थायी कोभिड अस्पतालको सम्झौता सकिएको छ । उनीहरुले सम्झौता नवीकरण गर्न मानिरहेका छैनन् ।’
निजी अस्पतालहरुको संस्था एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन (अफिन)ले आशाराम अस्पताल दिन तयार भए पनि पनि मन्त्रालयको दरले मात्रै सञ्चालन खर्च नउठ्ने भएकाले सम्झौता हुन नसक्ने जनाएको उनको भनाइ छ ।
वीरगञ्जमा हाल सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पताल (बाबा आइसोलेसन)ले मिर्गौला रोगी, गर्भवती र सुत्केरीलाई सेवा दिन नसक्ने जनाइसकेको छ । डायलायसिस र शल्यक्रियाका लागि व्यवस्था नभएकाले सेवा दिन नसक्ने अस्पताल प्रशासनको तर्क छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कोभिडका सम्बन्धमा देखिएको समस्या समाधानका लागि दुई बजे विशेष बैठक बोलाइएको जानकारी दिए । ‘तत्कालका लागि अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं, कोभिड अस्पतालमै पठाउने व्यवस्था हुन्छ,’ उनले भने, ‘त्यसैका लागि दुई बजे डिसिएमसीको विशेष बैठक बोलाएको छु ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4