+
+

हट्ने भयो सोलु करिडोर प्रसारणलाइन निर्माणको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २८ गते ११:४६

२८ असोज, काठमाडौं । लामो समयदेखि अवरुद्ध सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजना निर्माणको बाँकी काम अघि बढ्ने भएको छ ।

उदयपुरको कटारी नगरपालिका-४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको आयोजना निर्माणको अवरोध हटा पहल गरेका हुन्। स्थानीयबाट प्रसारण लाइनको बाटो -राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्ने लगायत सर्त राखेर काममा अवरोध हुँदै आएको छ ।

मन्त्री पुनले मंगलबार उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी-४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरेका छन् । मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री पुनले सरकार जनताका जायज चासो सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए ।

त्यसमा जनतासँग सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय तह र जनप्रतिनिधिलेे महत्वपूर्ण र जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पुनले लामो समयदेखि अड्किएको प्रसारण लाइन निर्माणको कामले गति लिने भएपछि आफूलाई सन्तोष मिलेको बताए ।

सांसद राईले स्थानीयका समस्या करिब समाधान भएको बताए । ‘ऐलानीको मुआब्जा दिने गरी अवरोध हटाउने  सहमति भएको छ’, सांसद राईले भने, ‘मन्त्रीज्यूले आयोजना प्रमुखलाई आँखा चिम्लिएर जनताको माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ, हामी जनप्रतिनिधि पनि स्थानीय प्रशासन, आयोजना र मर्कामा परेका जनताका बीचमा समन्वय गरेर कामको अवरोध हटाउनेे काममा लाग्छौं ।’

नगर प्रमुख श्रेष्ठले स्थानीयका माग सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रीबाट आएको उल्लेख गरे । ‘मन्त्रीज्यूसँग कुराकानी भयो । हामीले स्थानीयका तर्फबाट उठेका मागबारे मन्त्रीज्यूलाई अवगत गरायौं” श्रेष्ठले भने, ‘हामी यहाँ (काठमाण्डौं) बाट फर्किएपछि स्थानीयसँग छलफल गरेर निकास दिने भन्ने भएको छ ।’

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि्र प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ घाघ २०  देखि व्यवसायिक उत्पादन गर्दै आएकोसोलुखोला हाइड्र्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक  सबै बिजुली खेर गइरहेको छ । प्रसारण लाइन जलविद्युत आयोजनाबाट उत्पादति बिजुली राष्ट्रि्रय प्रणालीमार्फत ग्राहकका घरघरमा पुर्‍याउने पूर्वाधार हो ।

सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । जसमध्ये ९५ प्रतिशत अधिकांश काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले बताए । गौतमका अनुसार कुल ३ सय २ वटा टावरमध्ये २ सय ८८ वटाको निर्माण सम्पन्न भइसकेको छ ।

कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ । मरुवाबाहेक ४ अन्य वटा टावर निर्माणको काम जारी रहेको र दसैं अगावै सकिने आयोजनाले जनाएको छ ।

उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रि्रय प्रसारण लाइनमा जोडिने छ । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) गरेको छ ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १ सय ३२ केभी डबल सर्किट प्रसारणलाइनको ठेक्का सम्झौता गरेको थियो । बिना अवरोध काम भएको भए २०७६ माघ दोश्रो साता प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको हुने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?