+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

परदेशी नेपाली भन्छन्– कोरोनाले लुट्यो दसैंको रौनक

अनिल पराजुली अनिल पराजुली
२०७७ कात्तिक ७ गते ७:५१

७ कात्तिक, काठमाडौं । विभिन्न देशमा रोजगारी गरिरहेका नेपालीहरुबीच यसपालि दसैंको माहौल पहिलेजस्तो छैन । न नेपालमा रेमिट्यान्स पठाउनेहरुको लामो लाइन छ, न दसैंमा साथीभाइ जमघट गर्ने योजनाहरु नै बनेका छन् ।

विदेशमै जमघट गरेर रमाइलोसँग दसैं मनाउने विगतको परम्परालाई यो वर्ष कोरोनाले प्रभावित गरेको छ । साउदी, कतार, कुवेत, ओमान, बहराइन, मलेसियाजस्ता देशमा रहेका नेपालीहरुमा चाडवाडको रौनक देखिन्न ।

महामारी नियन्त्रणमै रहे पनि ती देशका सरकारले ठूलो भीडभाड गर्न अनुमति नदिएकाले पनि दसैं सुनसान बन्ने भएको छ । अर्कोतर्फ आफैंलाई संक्रमणको डर त छँदैछ । कोरोनाबाट बच्दै सामान्य तरिकाले दसैं मनाउने सोचाई धेरैले बनाएका छन् । योबेला घर–परिवारलाई सम्झिँदै कामको चटारोलाई व्यवस्थापन गरेर जति सकिन्छ, त्यति खुसी बटुल्ने प्रयत्नमा छन् परदेशी नेपालीहरु ।

कतारमा रहेका नेपालीहरुले विगतमा टीकाको दिन एकै ठाउँमा जम्मा भएर समूहको जेष्ठ सदस्यबाट टीका थाप्ने गरेका थिए । नेपालीले एकताका लागि खोलेका विभिन्न संस्थाले पनि परदेशीको दसैंलाई विशेष बनाउन भूमिका खेल्थे । यस्ता सामाजिक संस्थाहरुले रोजगारीका सिलसिलामा रहेका नेपालीहरुलाई समेटेर दसैंका कार्यक्रम आयोजना गर्थे ।

कतिपय संघ–संस्थाले नेपालबाट कलाकार बोलाएर पनि कार्यक्रम गर्थे । यो पनि नेपाली कामदारका लागि दसैंमा मन भुलाउने अर्को बिकल्प बन्थ्यो । कतिपय नेपाली समुदायले फुटबल लगायतका खेलकुद कार्यक्रम पनि आयोजना गर्थे । यसमा पनि धेरै नेपालीहरु खेलाडी र दर्शकका रुपमा सहभागी हुन्थे । कतिपयले दसैंमा जम्मा भएर घुम्न निस्कने, नाचगान गर्ने, तास खेल्ने गर्थे । प्रविधिको युग भएकाले आफूले मनाएको दसैंको तस्वीर फेसबुक, भाइबर, इमो लगायतका सामाजिक सञ्जालमार्फत तुरुन्तै परिवार र साथीभाइसँग सेयर पनि गर्नु त परिहाल्यो ।

तर, यो वर्ष यस्ता माहोलहरु ‘मिस’ हुनेछन् । यो वर्षको दसैं निकै खल्लो हुने कतारमा रहेका नेपालीहरु बताउँछन् । कतिपय देशमा गरिएको कडा लकडाउनका कारण अहिले यताउता जान पनि सजिलो छैन ।

सरकारी तथ्यांकअनुसार करिब १५ लाख नेपाली मलेसियासहित खाडी मुलुकमा कार्यरत छन् । यो वर्ष धेरैले दशैमा घर जाने योजनामा बिदा बचाएर राखेका थिए भने कतिपय दसैंमा घर बिदा जाने तयारीमा थिए । त्यो तयारी उनीहरुको खेर गयो ।

गोर्खाका विनोद श्रेष्ठ कतार आएको १६ महिना बित्यो । कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान रद्द गरेपछि कतारमै रोकिएका श्रेष्ठ एक वर्ष पुग्दा पनि घर जान नपाएपछि खल्लो मानिरहेका छन् । कोभिडका कारण उनी यस वर्षको दसैं मनाउन र मान्यजनको आर्शिवाद थाप्न जान नपाउने भएका हुन् ।

‘कोरोनाका कारण बिदाको समय पनि कतारमै सकियो,’ उनले भने, ‘अब यहाँ नै केही साथीभाइहरुसँग रमाइलो गरेर दसैं मनाउने हो ।’

दसैंमा सबैको बिदाको दिन एउटै नभएकाले पनि जमघट गर्न भने नसकिने उनले बताए ।

हेटौंडा पिप्लेका बलराम चौलागाई पनि यसपालीको दसैं विशेष नहुने बताउँछन् । आफ्नो कम्पनीबाट धेरै नेपाली कामदारले रोजगारी गुमाएकाले पनि उनलाई खल्लो लागिरहेको छ ।

‘पहिला हाम्रो कम्पनीमा धेरै नेपाली थिए, कोभिडका कारण धेरैको रोजगारी खोसियो, अहिले हामी चार–पाँच जना मात्रै छौं,’ उनले भने ।

अघिल्लो वर्ष सबै मिलेर जमारा राखेको, टिका लगाएको उनको स्मृतिमा ताजै छ । तर, यस वर्ष कोभिडले भिडभाड गर्न नमिल्ने भएपछि दसैंको खासै रौनक नहुने उनी बताउँछन् ।

‘अघिल्लो दसैंमा सबै मिलेर सल्ुवा रोडमा गएर खसी किनेर ल्याउने गरेका थियौं । धेरै नेपाली हुँदा रमाइलो हुन्थ्यो । यो वर्ष खासैं प्लान छैन,’ चौलागाईंले भने ।

यसपालि दसैंमा घर जाने योजना बुनेर बसेका धादिङका आशिष अर्याल पनि यतिबेला निराशन छन् । उनी कतार आएको ६ वर्ष बित्यो । यो अन्तरालमा एकपटक मात्र दसैंमा घर पुगे उनी । यसपाली त सम्भावना नै छैन ।

‘अघिल्लो वर्षको दसैं जस्तो यसपाली हुँदैन,’ उनले भने, ‘कोठाकै साथीभाइ मिलेर रमाईलो गर्ने हो ।’

बजारबाट दसैंका लागि १५ देखि २० किलो सम्मको खसी ल्याउने योजना रहेको उनले बताए । अर्यालका अनुसार दसैंमा नेपालीहरुले धेरै किन्ने भएकाले सुडानीहरुले खसीको मुल्य बढाउने गरेका छन् । बजारमा ६ सय रियालभन्दा धेरैको खसी बिक्रीका लागि राखिएको उनले सुनाए ।

फाइल तस्वीर

दसैं नजिकिँदै गर्दा तनहुँ भीमादका हिरालाल विश्वकर्मा पनि खसी काट्ने र कोठाका साथीभाइ मिलेर नाचगान गर्ने योजनामा छन् । उनी कतार आएको ५ वर्ष बित्यो ।

उनले अघिल्लो वर्षको स्मरण गर्दै भने, ‘सलवा रोडमा गएर १०/१५ किलोको खसी ल्याएर काटिएको थियो । यसपाली खसी मार्केट सरेको छ रे । सबै साथी मिले भने अलखोरमा गएर भए पनि ल्याउने हो ।’

स्याङजाका मोमबक्स मियाँ दसैंमा टिका, जमरा नलगाए पनि दसैं मनाउने गरेको स्मरण गर्छन् । उनी कतार आएको १० वर्ष बित्यो । मुस्लिम समुदायका उनी नेपालका सबै धर्म र चाडपर्वलाई सम्मान गर्छन् ।

‘दसैंमा मेरो खासै केही प्लान छैन, तर सँगै कोठामा बस्ने साथीहरुसँग मिलेर रमाइलो गर्छु,’ उनले भने ।

झापा बिर्तामोडका समिर मियाँ पनि दसैंमा मिलेर खाने र रमाईलो गर्ने बताउँछन् । उनी कतार आएको डेढ वर्ष भयो । दसैंमा बिशेष योजना नहुने भए पनि अन्य साथीहरुसँग सरिक हुने गरेका छन् उनी ।

‘सबैको ड्युटी समय एउटै हुँदैन, मिलेसम्म सँगै बसेर खाने र रमाइलो गर्ने हो । अरु त खासै केही छैन दसैंमा,’ उनले भने ।

काठमाडौंका शिवराज गौतम यो वर्षको दसैं अलि फरक हुने सुनाउछन् । उनी कतार आएको १५ वर्ष बित्यो ।

उनले भने, ‘पहिला–पहिला नेपाली दूतावासमा पनि दसैंको टिका थाप्न जाने चलन थियो । यसपालि भने मेरा साना नानीहरुले जमरा राखेका छन् । श्रीमती र छोरीहरुसहित टिका लगाएर दशंै मनाउने त हो नि ।’

आफ्ना छोरीहरुलाई बिदेशी भूमिमा पनि नेपाली संस्कृति सिकाउनका लागि नेपाली चाडपर्व मनाउने गरेको उनले बताए । विदेशमा रहेका सबै नेपालीले आफ्नो कला, संस्कृति, परम्पराको संवर्द्धन गर्नुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?