
११ मंसिर, काठमाडौं । हिमाल आरोहणका दौरान कम्पनीहरुले राखेको फोहोरमैला व्यवस्थापनसम्बन्धी धरौटी फिर्ता नलगे अब त्यो संघकै आम्दानी मानिने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)बाट हिमाल प्रवर्द्धन गरिरहेका हिमालका हकमा यो व्यवस्था लागू हुनेछ ।
धरौटीवापत कम्पनीले रकम राख्ने तर, आरोहणपछि फिर्ता नलैजाने गर्दा संघको लेखा परीक्षणका दौरान यस्तो रकम खातामा देखिएको हो ।
संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईका अनुसार अब आरोहणका लागि धरौटी राखेका कम्पनीले संघबाट धरौटी रकम दुई वर्ष भित्र फिर्ता नलगे त्यो एनएमएकै आम्दानीका रुपमा बाँधी फिर्ता नदिने निर्णय भएको छ ।
एनएमएले अहिले धरौटी बाँकी रहेका कम्पनीलाई समेत ३५ दिनभित्र धरौटी रकम फिर्ता लैजान सूचना जारी गरेको छ । यो अवधि पनि सकिएपछि भने धरौटी वापतको रकम संघकै आम्दानीमा गनिने र्निणय भएको बताइएको छ ।
हिमाल आरोहणका दौरान आरोहण व्यवस्थापन गर्ने कम्पनीले फोहोरमैला व्यवस्थापन वापत धरौटी नेपाल पर्वतारोहण संघ र पर्यटन विभागमा बुझाउनु पर्छ ।
आरोहणबाट फर्किएपछि फोहोर फिर्ता ल्याउने कम्पनीले धरौटी पनि फिर्ता पाउँछन् । नभए त्यस्तो धरौटी जफत हुने प्रावधान रहेको छ ।
प्रतिक्रिया 4