Comments Add Comment

नेकपा विवाद : मोरङमा ओली समूहको शक्ति प्रदर्शन

२७ मंसिर, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म आइपुगेको छ ।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय र जिल्ला स्तरका भेला तथा शक्ति प्रदर्शनलाई तीव्र बनाएका छन् ।

शनिबार ओली पक्षले मोरङमा शक्ति प्रदर्शनसहित युवाहरुको भेला गरेको छ । विराटचोकमा भएको भेलालाई पूर्वमन्त्री गोकुल बास्कोटाले सम्बोधन गरेका थिए । भेलाअघि मोटरसाइकल र्‍याली निकालिएको थियो ।

गत सोमबार विराटनगरमा ओली समूहको  प्रदेशस्तरीय विद्यार्थी भेला आयोजना भएको थियो, जसलाई प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गरेका थिए ।

नेपाल र प्रचण्ड पक्षले भने झापाको दमकमा विद्यार्थीको प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको गृह नगरमा आयोजना आइतबार गरिने भेलालाई विद्यार्थीका केन्द्रीय नेतृत्व र प्रदेशका एक मन्त्रीले सम्बोधन गर्नेछन् ।

ओली पक्षको भेला गोप्य भए पनि नेपाल र प्रचण्ड पक्षको कार्यक्रम भने खुला हुने अनेरास्वियुका केन्द्रीय सचिव वसिम आलमले बताए । ‘उहाँहरु गोप्य भेला गर्दै हिँड्नुहुन्छ । हामी खुलारुपमा केन्द्रीय नेतृत्वलाई दबाब दिन चाहान्छौं’ उनले भने, ‘हाम्रो भेलाको एउटै उद्देश्य  एकताप्रति केन्द्रीय नेतृत्वलाई दबाव दिनु हो ।’

यसअघि प्रधानमन्त्री ओलीले १९ कात्तिकमा प्रदेश १ का आफू निकट नेताहरुको गुटगत भेला आयोजना गरी ‘जनताको बहुदलीय जनबाद’को बहस वडासम्म बनाउन निर्देशन दिएका थिए । २७ कात्तिकमा इटहरी ४ मा मदन भण्डारी फाउण्डेशनले प्रदेश कार्यायल नै खोेल्यो । यस्तै मंगलबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी छ । विराटनगरमा विद्यार्थी र युवाहरुको जिल्ला स्तरीय भेला आयोजनाको तयारी गरेको हो ।

त्यसको काउन्टरमा नेपाल र प्रचण्ड पक्षका नेताले १० मंसिरमा इटहरीमा प्रदेशस्तरीय भेला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment