+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चितवनमा कृष्णसार ल्याउन अध्ययन शुरु

रासस रासस
२०७७ पुष १९ गते १२:५८

१९ पुस, काठमाडौं । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ ।

सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको संयोजकत्वमा गठित समितिले अध्ययन थालेको हो । समितिमा डिभिजन वन कार्यालय, स्थानीय सामुदायिक वन, रत्ननगर नगरपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि र विभागका सहायक इकोलोजोष्टि हेमराज आचार्य सदस्यसचिव रहेका छन् । केही वर्ष अघिदेखि नै टिकौलीमा कृष्णसार ल्याउने विषयमा बहस शुरु भएपछि ठोस काम हुन सकेको थिएन ।

संयोजक आचार्यका अनुसार यसै साता प्रतिवेदन दिने गरी काम भइरहेको छ । टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बनाउने काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार ल्याउन उपयुक्त देखिएमा लाग्ने खर्च, ल्याउन सकिने सङ्ख्या, ठाउँ तयार पार्न लाग्ने खर्च र समय, ल्याएपछिको व्यवस्थापन कसले र कसरी गर्ने लगायतका विषयमा अध्ययन भइरहेको छ ।

सो ठाउँमा कम्तीमा २० हेक्टर जमीन कृष्णसारका लागि छुट्याउन सकिने अनुमान गरिएको छ । ल्याउन उपयुक्त देखिएमा बर्दियाको खैरापुर वा शुक्लाफाँटाबाट स्थानान्तरण गरी ल्याइने उनको भनाइ छ । उनले भने,’सम्भावना रह्यो भने यो ठाउँ दोस्रो स्थानान्तरण हुनेछ ।’ यसअघि खैरापुरबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएको थियो । सङ्ख्या हेरेर दुवै ठाउँबाट पनि ल्याउन सकिने उनले बताए ।

आचार्यले कृष्णसार स्थानान्तरण गर्न सकिएमा प्रजाति विविधीकरणसँगै वंश संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । यससँगै यहाँको पर्यटन प्रवर्द्धन र खाली बसेको जमीनको उपयोग हुने उनी बताउँछन् ।

रत्ननगर नगरपालिकाले पनि कृष्णसार ल्याउने विषयमा पहल गरिरहेको छ । नगरपालिकाका प्रमुख नारायण वनले अन्य भौतिक संरचना निर्माण गर्न नमिल्ने सो ठाउँमा कृष्णसार ल्याउँदा यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘अध्ययनन शुरु भएको छ, आगामी फागुनसम्ममा ल्याउने गरी तयारी गरेका छौं ।’

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले समितिले अध्ययन थालेकाले प्रतिवेदनको आधारमा काम अघि बढ्ने बताए । देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा कृष्णसार थपिएमा यहाँको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?