
२१ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेफ)ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को लागि चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक मनोनयनमा तेक्वान्दो खेलका खेलाडीको वर्चस्व रहेको छ । तेक्वान्दोबाट वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष खेलाडी युवा र वर्ष प्रशिक्षकसहित कुल ४ खेलाडी र १ प्रशिक्षक गरी ५ जना मनोनयनमा परेको छ ।
तेक्वान्दोबाट पुम्से खेलाडी कमल श्रेष्ठ वर्ष खेलाडी पुरुषमा, पुम्सेकै आयशा वर्ष खेलाडी महिलामा मनोनयनमा परेका छन् । यस्तै तेक्वान्दोकै सिना लिम्बु मादेन र भुपेन श्रेष्ठ वर्ष युवा खेलाडीको मनोनयनमा परेका छन् भने प्रशिक्षक नविन कुमार श्रेष्ठ वर्ष प्रशिक्षकको मनोनयनमा परेका छन् ।
यस्तै करातेबाट दुई खेलाडी र एक प्रशिक्षक गरी तीन जना मनोनयनमा छन् भने एथ्लेटिक्सबाट दुई खेलाडी मनोनयनमा छन् ।
गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु नै मनोनयनमा परेका छन् । जसमध्ये कीर्तिमानी चार स्वर्ण जितेकी पौडीबाट गौरिका सिंह, दुई/दुई स्वर्ण जितेका कराते खेलाडी मन्देकाजी श्रेष्ठ, सुवास तामाङ र आयशा छन् । गौरिका र मन्दे पिपुल्स च्वाइस विधाको मनोनयनमा समेत परेका छन् ।
सुवास तामाङ अवार्डको लागि दुई विधामा मनोनयनमा पर्ने एक्लो खेलाडी हुन् । उनी वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी युवाको लागि मनोनयनमा परेका छन् ।
मन्देकाजी कमल र सुवाससFगै वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा सागमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका धावक गोपीचन्द्र पार्की र सागमै स्वर्ण जितेको फुटबल टिमको गोलकिपर विकेश कुथु पनि छन् ।
यस्तै महिलातर्फको उत्कृष्ट खेलाडीको विधामा गौरिका र आयशासँगै एथ्लेटिक्सकी सन्तोषी चौधरी, ट्रायथलनकी सोनी गुरुङ र कराते खेलाडी अनु अधिकारी छन् । सन्तोषी, सोनी र अनुले १३औं सागमा एक एक स्वर्ण जितेका थिए । सन्तोषी र सोनी आफ्नो खेलबाट सागमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी समेत हुन् ।
यसैगरी वर्ष खेलाडी युवामा गल्फका सुवास र तेक्वान्दोका सिना र भुपेनसंगै भारोत्तोलनका सञ्जु चौधरी र जुडोकी पुनम श्रेष्ठ छिन् ।
यस्तै वर्ष प्रशिक्षकको मनोनयनमा तेक्वान्दोका नविनसंगै करातेका मदन उप्रेती, उसुका अमर थिङ, पौडीका शंकर कार्की र बक्सिङका प्रकाश थापा मगर छन् ।
१३औं सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण ६ रजत र ११ कास्य जित्दा नविन मुख्य प्रशिक्षक थिए । यस्तै करातेले १० स्वर्ण ४ रजत र ५ कास्य जित्दा मदन उप्रेती मुख्य प्रशिक्षकको भूमिकामा थिए ।
उसुले १३औं सागमा ५ स्वर्ण ६ रजत र ५ कास्य जित्दा अमरकुमार थिङ मुख्य प्रशिक्षक थिए । १३औं सागमा पौडीबाट नेपालले ४ स्वर्ण ४ रजत र ४ कास्य जित्दा शंकर कार्की मुख्य प्रशिक्षक थिए भने बक्सिङमा ३ स्वर्ण ६ रजत र ६ कास्य जित्दा प्रकाश थापा मगर प्रशिक्षक थिए ।
सेमि भर्चुअल माध्यमबाट हुने यस वर्षकाे स्पोर्ट्स अवार्डका लागि एनएसजेएफले यसअघि नै पिपुल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा मन्दे र गौरिकासँगै भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी छिन् ।
एनएसजेएफको फेसबुक पेज लाइक, इसेवाबाट भोटिङ, एनएसजेएफका सदस्यहरुको मत र मुख्य प्रशिक्षकहरुको मतदबाट पिपुल्स च्वाइसको विजेता घोषणा गरिनेछ ।
यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड, पारा एथ्लेट सम्मान, स्पेशियल अवार्ड, टिम अफ दि इअर विधाको विजेता अवार्डकै दिन घोषणा गरिनेछ ।
यसैगरी गत वर्षदेखि थपिएको इन्टरनेसनल एसियन स्पोर्ट्स अर्नालिस्ट अवार्डलाई पनि यस संस्करणमा निरन्तरता दिने एनएसजेएफले जनाएको छ ।
वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपुलस च्वाइस विधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेताले नगद ५० हजार हात पार्नेछन् ।
वर्ष २०७६ सालभर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा गरिएको प्रदर्शनको आधारमा अवार्ड प्रदान गरिनेछ । पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करण यही पुस २८ गते आयोजना हुँदैछ ।
जेठ महिनामै अवार्ड कार्यक्रम आयोजना हुनुपर्ने भएपनि विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस महामारीले गर्दा यस पटक अवार्ड कार्यक्रम ढिला हुन लागेको हो ।
गत वर्ष बृहत आठौं राष्ट्रिय खेलकुद, १३औं साग लगायत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना भएको थियो ।
चार विधामा मनाेनयनमा पर्न सफल खेलाडी र उनीहरुकाे उपलब्धी
१. वर्षको उत्कृष्ट पुरुष
१. मन्देकाजी श्रेष्ठ (कराते)
– १३औं सागमा दुई स्वर्ण पदक (टिम काता र एकल)
– आठौं राष्ट्रिय खेलकुद– स्वर्ण पदक (एकल काता) र रजत (टिम काता)
– बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा कास्य पदक (एकल काता) र स्वर्ण पदक (टिम काता)
– नवौं थाइल्यान्ड ओपन च्याम्पियनसिपमा रजत (सिनियर काता), उत्कृष्ट खेलाडी घोषित
२. गोपीचन्द्र पार्की (एथलेटिक्स)
– १३औं सागमा ५ हजार मिटर दौडमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ हजार मिटर दौडमा स्वर्ण पदक
– गणेशमान सिंह ओपन रोड रेसमा प्रथम
– चितवन नेशनल १५ किमि ओपन रोड रेसमा प्रथम
३. कमल श्रेष्ठ (तेक्वान्दो) पुम्से एकल (२४–२९ वर्ष)
– १३औं सागमा स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा तीन स्वर्ण
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण
४. सुवास तामाङ (गल्फ)
– साग दुई स्वर्ण (ब्यक्तिगत र समूहमा)
– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा रजत (आर्मीबाट–सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।
५. विकेश कुथु (फुटबल)
– १३औं सागमा टिममा स्वर्ण
– आठौं राष्ट्रियमा आर्मीबाट स्वर्ण
– ए डिभिजन लिगमा दोस्रो
– विशाल गोल्ड कप च्याम्पियन
२. वर्षको उत्कृष्ट महिला
१. गौरिका सिंह (पौडी)
– वर्ष २०७६ जलपरी गौरीकाका लागि स्वर्णमय रह्यो ।
– १३औं सागमा चार स्वर्णको कीर्तिमान सहित दुई रजत र तीन कास्य जित्न सफल
– सागमा सर्बाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानमा बराबर
– आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल
२. सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
– १३औं सागमा १० हजार मिटर दौडमा स्वर्ण
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण, रजत र कास्य ( ५ हजार, १५ सय र १० हजार मिटरमा)
– प्रथम हेटौंडा रनमा ५ किमि दौडमा स्वर्ण
– वीर गणेशमान एडिडास १० किमि रोड रेसमा स्वर्ण
– नेवा च्यारिटी धरान १० किमी रनमा स्वर्ण
– युथ कर्नर क्लब ५ किमी ओपन दौडमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत
– अन्तर्राष्ट्रिय एथलेटिक्स स्पर्धामा नेपाललाई पहिलो स्वर्ण जिताउने महिला
३. आयषा शाक्य (तेक्वान्दो)
– १३औं सागमा दुई स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा कास्य
४. सोनी गुरुङ (ट्रायथलन)
– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एक स्वर्ण र एक रजत
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण
– दोस्रो ग्रड बुद्धिस्ट ट्रेल–२०१९ मा स्वर्ण
– हाईअल्टिच्युट त्री–एडभान्चुअर कम्पिटिसन २०१९ मा स्वर्ण
५. अनु अधिकारी (कराते)
– १३औं सागमा स्वर्ण पदक
– आठौं राष्ट्रिय खेलुकदमा रजत पदक
– बंगलादेश, पाँचौं साफ च्याम्पियनसिप करातेमा स्वर्ण पदक
– उज्वेकिस्तानमा भएको १६औं सिनियर कराते च्याम्पियनसिपमा १६औं स्थान
३. उत्कृष्ट युवा खेलाडी
१. सुवास तामाङ (गल्फ) – १७ वर्ष
– साग दुई स्वर्ण (ब्यक्तिगत र समूहमा)
– पहिलो पटक नेपाललाई ऐतिहासिक स्वर्ण ।
– आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा रजत (आर्मीबाट–सुवास तामाङ, राहुल विक र निश्चयजंग रायमाझी)
– फाल्डो सिरिज छनोट २०७६ च्याम्पियन ।
– सूर्य नेपाल प्रिमियर लिग समग्रमा च्याम्पियन ।
२. सिना लिम्बु मादेन – तेक्वान्दो
– १३ औं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ कास्य
– आठौं राष्ट्रिय खेलकुदमा १ स्वर्ण, १ रजत, १ कास्य
– नवौं कोरियन एम्बेसडर खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा १ स्वर्ण, १ रजत, १ कास्य
३. भुपेन श्रेष्ठ – तेक्वान्दो
– १३औं सागमा स्वर्ण
– आठौं बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण
– हैदराबादमा आयोजित दोस्रो इन्डिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा कास्य
४. पुनम श्रेष्ठ (जुडो ७५ केजी)
– १३औं सागमा स्वर्ण
– आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण
– राजविराजमा सम्पन्न छैटौं नेसनल ओपन जुडो च्याम्पियनसिपमा स्वर्ण
५. सञ्जु चौधरी (भारोत्तोलन)
– १३औंमा स्वर्ण (राष्ट्रिय किर्तिमान)
– सुनिललाल मेमोरियलमा स्वर्ण सहित उत्कृष्ट खेलाडी
– चीनमा भएको एसियन च्याम्पियनसिप र टोकियो ओलम्पिक छनोट खेलमा प्रतिस्पर्धा
४. उत्कृष्ट प्रशिक्षक
१. नविन श्रेष्ठ (तेक्वान्दो)
– १३ औं सागमा तेक्वान्दोबाट नेपाललाई सर्बाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्य दिलाउन सफल
– तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक
– चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक
२. मदन उप्रेती (कराते)
– राष्ट्रिय टिमको मुख्य प्रशिक्षक
– १३औं सागमा नेपाल १० स्वर्ण, ४ रजत र ५ कांश्य पदक जिताउ सफल, नेपाल शीर्षस्थानमा
३. अमर कुमार थिङ (उसु)
– १३औं सागमा ५ स्वर्ण, ६ रजत ५ कास्य
४. शंकर कार्की (पौडी)
– १३औं सागमा ४ स्वर्ण, ४ रजत ४ कास्य
५. प्रकाश थापामगर (बक्सिङ)
– १३औं सागमा ३ स्वर्ण, ६ रजत ६ कास्य
प्रतिक्रिया 4