Comments Add Comment

स्कुटर चलाउँदा टिप्पर र ट्रक देखेपछि डर लाग्छः पूर्णकला वि.सी

पूर्णकला बि.सी चर्चित लोकदोहोरी गायिका हुन् । डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय पूर्णकलाले पाँच हजार बढी गीतमा स्वर दिएकी छिन् । ‘मायालुको शहरमा मेरो गाउँमा घर छ’, ‘स्कूल पढ्दा लाएको पिरती’, ‘डाँडै बिसाउनी’ लगायतका दर्जनौ गीत श्रोता तथा दर्शकले रुचाएका छन् । उनै पूर्णकलासँग अनलाइनखबरले गरेकोे कुराकानी यहाँ प्रस्तुत गरिएको छः

हिजोआज सांगीतिक क्षेत्रका कामहरु के भइरहेको छ ?
९ महिनापछि स्टेज कार्यक्रममा बर्दिया पुगेर फर्किएँ । हालै एउटा रोइला गीतको छायांकन पनि सकाएँ । पहिले जस्तो काम नभएपनि फाट्टफुट्ट काम भने भैरहेको छ ।

लामो समयपछि स्टेजमा गीत गाउँदाको अनुभव कस्तो भयो त ?
५–७ महिना, ८–१० महिना ‘ग्याप’ हुँदैमा खासै फरक पर्ने त होइन । तर पहिले कोरोनाको डर हुदैनथ्यो । यसैले दर्शकको उपस्थिती पनि बाक्लो हुन्थ्यो । उत्साह पनि छुट्टै पाइन्थ्यो । तर अहिले त्यो माहोल नहुने रहेछ । कोरोनाको त्रासकाविच कार्यक्रम भएकाले पनि होला, मानिसहरु मास्कमा उपस्थित थिएँ । त्यो एउटा फरक अनुभूती रह्यो ।

रेकर्डिङ, स्टेज कार्यक्रम नहुँदा दैनिकी कसरी वित्छ ?
मैले कपुरधारामा बुटिक व्यवसाय सुरु गरेकी छु । त्यहाँ मैले भन्दा पनि श्रीमान्ले बढी समय दिनुहुन्छ । म फुर्सद भएको समयमा त्यही जाने, साथीहरुलाई आइदिनुस् भन्ने गर्छु । प्रायः त म सांगीतिक काममा ब्यस्त भइरहेको हुन्छु ।

कति बजे उठ्नुहुन्छ ?
७ बजेको सेरोफेरोमा उठिसक्नुपर्छ । किनभने छोरीलाई खाना पकाएर, खुवाएर स्कुल पठाउनुपर्छ ।

श्रीमान्–श्रीमतीबीच झगडा पर्छ कि पर्दैन ?
हामी झगडै नपर्ने श्रीमान्–श्रीमतीमध्येमा पर्छौ होला । उहाँ आफ्नो काममा व्यस्त हुनुहुन्छ । म आफ्नो काममा व्यस्त हुन्छु । त्यसैले झगडा नै हुदैन भन्दा पनि हुन्छ । पोहोर साल माघमा सामान्य कुरामा झगडा परेको थियो । त्यसपछि भएको छैन ।

कहिलेकाही झगडा भैहाल्यो भने कसले पहिले फकाउनुहुन्छ ?
पहिले–पहिले मैले फकाउनुपथ्र्यो । पोहोर साल उहाँले फकाउनुभयो । किनभने मेरो गल्ती नहुँदा उहाँ रिसाउनुभएको थियो ।

काठमाडौंमा यात्रा के मा गर्नुहुन्छ ?
स्कुटरमा ।

स्कुटरको यात्रा कस्तो लाग्छ ?
पहिलेदेखि स्टुकरमा हिडिरहेको बानी भएर सहज नै लाग्छ । सडकमा अगाडि ट्रक, टिप्पर आयो भने एकदमै डर लाग्छ । टिप्परको ठक्करबाट मान्छे मरेको समाचारहरु आइरहने भएर होला ट्रक, टिप्पर आयो भने डराउँछु । पानी परेको समयमा स्कुटर चलाउन पनि असहज लाग्छ । तर आफ्नो क्षमता जे छ त्यसमै रमाउनुपर्यो । मन त गाडी मै हिड्ने हुन्छ नी ।

स्कुटर चढ्न थाल्नुभएको कति वर्ष भयो ?
काठमाडौं आएको चार–पाँच वर्षदेखि स्कुटरमै यात्रा गरिरहेकी छु ।

स्कुटर चढ्दा दुर्घटनामा परेको कुनै घटना याद छ ?
२०६८ कि ०६९ सालतिर डरलाग्दो दुर्घटनामा परेकी छु । झक्तपुरमा सांगीतिक कार्यक्रमम थियो । मेरो ‘डाँडै बिसाउने’ गीत राम्रो चलेको थियो । बद्री पंगेनी दाई र म त्यहाँ जाँदै थियौं । उहाँ अर्को बाइकमा हुनुहुन्थ्यो, म स्कुटरमा एक्लै थिए । भर्खर–भर्खर स्कुटर सिकेकी थिएँ । बिलबुक, लाइसेन्स पनि थिएन ।

बद्री दाई म भन्दा अगाडी जानुभयो भन्ने सोचेर मैले स्कुटर स्पिडमा हाकेँ । साइडमा दाइलाई देखेजस्तो लाग्यो अनि दाइतिर ध्यान गयो । अगाडिको ट्याक्सी बायाँतर्फ लाग्दै रहेछ । त्यही ट्याक्सीमा मेरो स्कुटर ठोक्कियो । म भुँइमा लडेँ । एकछिन केही थाहा पाइनँ । बद्री दाई पनि दुर्घटना देखेर अतालिनु भएछ ।

पछि म आफै उठेँ । धेरै चोट लागेको थिएन । तर मेरो स्कुटर केही काम नलाग्ने भएको थियो । त्यो स्कुटर मैले ग्यारेजमै छाडेकी थिएँ । त्यसपछि एकदमै डर लाग्यो र दुई वर्षजति स्कुटर चलाइन् । तर, काठमाडौंमा यात्रा गर्न सधै सार्वजनिक सवारीमा हिँडेर साध्य नहुने । त्यसैले पछि फेरि स्कुटर लिएँ । अहिले एकदमै सुरक्षित रहेर ‘स्लो’ गतीमा चलाउँछु ।

कोरोनाले सांगीतिक क्षेत्रमा पारेको असरलाई कसरी हेर्नुभएको छ ?
अन्य क्षेत्रमा भन्दा सांगीतिक क्षेत्रमा अझ धेरै असर पारेजस्तो लाग्छ । मेला– महोत्सव चलेको समयमा केही महिना कमाउने, अन्य समय खाली रहने कलाकारहरुका लागि कोरोनाले ठूलो असर पुर्याएको छ ।
दोहोरी साँझदेखि, डान्सबारमा आवद्ध कलाकारहरुलाई असर गरेको छ । चलेका कलाकारहरु पनि धेरै तनावमा हुनुभयो ।

विस्तारै म्युजिक भिडियो छायांकनले सांगीतिक क्षेत्रका मोडल, प्राविधिकहरुलाई केही राहत भएको छ । अहिले केही सांगीतिक कार्यक्रम हुन थालेसँगै गायक–गायिकाहरु पनि फाट्टफुट्ट स्टेजमा देखिन लाग्नुभएको छ । अब विस्तारै–बिस्तारै पुरानै लयमा फर्किन्छ की भन्ने आशा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment