१८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा प्रदर्शन गर्दै आएको वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गर्यो ।
प्रदर्शनमा सहभागी राजनीतिक विश्लेषक तुलानारायण साहले संबोधनका क्रममा विदेशी राजदूतावासतर्फ लक्षित गर्दै नेपालका राजनीतिक दल फुटाउनतिर नलाग्न सचेत गराए ।
उनले महामहिमज्यू भनी संबोधन गर्दै नेपाललाई अस्थितरतामा राख्न कुनै नेतालाई च्याप्ने र पार्टी फुटाउनेतिर नलाग्न आग्रह गरे ।
‘चाइनिज भाषा बुझ्नेले चाइनिजमा, हिन्दीमा र अंग्रेजी बुझ्ने अंग्रेजीमा ट्रान्सलेट गरेर बुझ्नुहोला’, साहले भने, ‘पार्टीलाई फुटाएपछि आफ्नो गेम खेल्ने बाटो सहज हुन्छ भन्ने खेलमा कृपया महामहिमज्यूहरु नलागिदिनुस् ।’
शहीद धर्मभक्त माथेमाको शालिकमुनि आयोजित नागरिक आन्दोलनमा बोल्दै साहले राजदूतहरुको पछिल्लो गतिविधिबारे असन्तुष्ट व्यक्त गरेका हुन् । ‘अहिलेसम्म नेपालमा स्थिरता किन भएन ?’, उनले प्रश्न गरे, ‘कुनै नेतालाई दिनको तीन पटक भेट्ने, कुनै नेतालाई बोलाएर भेट्ने, कुनै नेतालाई च्याप्ने र कुनै पार्टी फुटाउने काम बन्द गर्नुस् ।’
नेपालीले पनि आफ्नो देशमा स्थिरता चाहेको भन्दै साहले नेपालको आगामी पुस्तालाई पनि अस्थिरताको मारमा नधकेल्न राजदूतहरुलाई आग्रह गरे ।
‘कतिपयले हाम्रो लोकतान्त्रिक यात्रामा सहयोग गरेकोमा धन्यवाद दिन्छौँ’, उनले भने, ‘तर, अब राजनीतिक सक्रियता नहोस् भन्ने आग्रह गर्दछु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4