+
+

कोरोना खोपको मूल्य बढाउने भारतीय कम्पनीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते २०:२०

२७ फागुन, काठमाडौं । सरकारले भारतबाट कोभिड-१९ विरुद्धको ५० लाख डोज खोप किन्दा म पहिले भन्दा बढी मूल्य पर्ने देखिएको छ ।

यसअघि सरकारले २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरेको थियो । यो पटक भने भारतको सेरम इन्ष्टिच्युट अफ इण्डियाले प्रतिडोज ६ डलर माग गरेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरीले बताए ।

‘हामीले कम्पनीलाई ५० लाख डोज खोप खरिदको लागि प्रस्ताव पठाएका छौं, त्यसको जवाफ भने आइसकेको छैन’ उनले भने, ‘कम्पनीका प्रतिनिधिहरुले यो पटक प्रतिडोज ६ डलर पर्ने जनाएका छन् ।’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयको विशेष पहलमा सहुलियतमा खोप पाएको तिंकरीले बताए । ‘आफ्नै देशको नागरिकलाई खोप सुनिश्चितता नभएसम्म पटक पटक सहुलियतमा खोप पठाउन उनीहरुलाई पनि आफ्नै बाध्यता छ’ तिंकरीले भने ।

उनका अनुसार विभागले सकेसम्म सहुलियत मुल्यमा खोप पठाउन आग्रह गरेर प्रस्ताव पठाएको छ । कम्पनीसंग प्रतिडोज साढे पाँच डलरमा उपलब्ध गराउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार अहिलेसम्म ५० लाख डोज खोप खरिद गर्न सम्झौता भएको छैन ।

‘हामीले मागेको मूल्यमा दिने वा नदिने उहाँहरुको कुरा हो, तर हामीले सहुलियतमा उपलब्ध गराउन आग्रह गरेका छौं’ मन्त्रालयका ती अधिकारीले भने, ‘खोपको उपलब्धता भन्दा धेरै माग भएकाले पनि यो पटक सस्तोमा खोप पाउन मुश्किल हुने कम्पनीले भनेको छ ।’

विभागले सेरम इन्ष्टिच्युटलाई पठाएको प्रस्तावको जवाफ नआइसकेकाले खोप खरिदको मिति टुंगो नलागेको महाशाखा प्रमुख डा. तिंकरी बताउँछन् । यसअघि खरिद गरिएका २० लाखमध्ये आउन बाँकी १० लाख डोज केही दिनभित्रै आउनेसमेत तिंकरीले बताए । उनले भने, ‘अब हामी फेरि कम्पनीसंग फलोअप गर्छौं ।’

८ माघमा भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघदेखि खोप अभियान सुरु गरिएको थियो । फागुन २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप दिन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?