+
+

कोरोनाका कारण पूर्वी तराईका आदिवासीको सिरुवा पर्व प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १८:५०
फाइल तस्वीर

२ वैशाख, झापा। झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको छ ।

नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको जगेर्ना गर्दै मनाइने सिरुवा यस वर्ष कोभिड महामारीको दोस्रो लहरका कारण प्रभावित बनेको हो ।

तराइमा बसोबास गर्ने थारुसँगै राजवंशी र ताजपुरिया जातिले वैशाख १ गते पानी, २ गते कादो (हिलो) र ३ गते रंग खेलेर सामूहिक रुपमा सिरुवा पर्व मनाउँछन् । कोभिड सङ्क्रमण बढेका कारण यस वर्ष आ-आफ्नो घरमा बसेर पर्व मनाउन बाध्य भएको राजवंशी समाज विकास समितिकी केन्द्रीय सदस्य फूलमति राजवंशीले बताए ।

‘कोभिडको जोखिम बढेका कारण यसपटक उल्लासपूर्वक मनाउन पाइएन । आफन्त, नातागोताको समेत जमघट भएन”, उनले भने, ‘हिन्दूको महान चाड दशैँ जस्तै हो यो हाम्रो सिरुवा पर्व, तर पहिलो प्राथमिकता स्वास्थ्य सुरक्षा भएकाले जमघट गरिएन ।’

उनले पछिल्ला दुई वर्षमा कोभिड सङ्क्रमणको त्रासदीका कारण सिरुवाको रौनकले नछोएको बताए । वर्षभरि शीतलता प्राप्त होस्, क्रोध नष्ट भएर जाओस् भन्ने कामना गर्दै वैशाख १ गते पानी सिरुवा मनाइने गरिन्छ ।

त्यसैगरी वैशाख २ गते हिलो छ्यापाछ्याप गरी माटोसँगको आत्मीयता कायम राख्न कादो सिरुवा मनाउने गरिन्छ भने वैशाख ३ गते जीवन थप रङ्गीन बनोस् भन्ने कामना गर्दै रंग सिरुवा मनाउने परम्परागत चलन भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?