Comments Add Comment

रौतहटमा मास्क नलगाए जरिवाना

७ वैशाख, रौतहट । कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ ।

रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमुना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण बढ्दै जाँदासमेत स्थानीयले सचेतना नअपनाएपछि जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय गरेको छ ।

मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

‘अवस्था हेरेर गौरमा थप दुईवटा आइसोलेसन निर्माण गर्ने निर्णयसमेत भएको   छ,’ उनले भने, ‘होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायिक क्वारेन्टिनमा राखिने छ ।’ सीमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

गौरमा घरमै रहेका संक्रमितहरु किनमेलका लागि बजार जाने तथा घरबाहिर निस्कने गुनासो बढेपछि त्यस्ता संक्रमितहरुलाई फोनमार्फत सचेत गराइएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । संक्रमितहरु घरबाहिर देखिए उनीहरुलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा लगेर राखिने उनले बताए ।

गौरको बीपी चोकमा स्थानीयलाई मास्क वितरण गर्दै बुधबारदेखि मास्क नलगाएमा जरिवाना हुने जानकारी प्रशासनले दिएको छ । संक्रमितको संख्या बढे पनि स्थानीयले मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन वेवास्ता गरिरहेका छन् ।

सचेतना फैलाउनुपर्ने राजनीतिक दल, संघ–संस्था तथा पालिकाहरुले समेत मानिसहरुको भिडभाड गराएर विभिन्न कार्यक्रम गर्न छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment