+
+

धर्तीको स्वर्ग हो च्छो रोल्पा !

शर्मिला महर्जन शर्मिला महर्जन
२०७८ जेठ १ गते १३:१३

वरिपरि हिमाल, बीचमा ताल । ताल पनि पूरै हिउँले ढपक्क ढाकेको । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो ।

तालसम्म पुग्न उकालो चढ्दा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरियो । तालको डिलमा बसेर हेरिरहँदा एकपटक आफैलाई चिमोटुँ झैं भयो– यो सपना हो कि विपना !

पेशाले म स्वास्थ्य क्षेत्रसँग आवद्ध भए पनि वर्षमा दुईपटकसम्म काठमाडौं उपत्यका बाहिर निस्कने गर्छु । कोरोनाका गत वर्ष कारण निस्कन पाएको थिएन ।

यसपटक भने वैशाखको पहिलो हप्ता नै दोलखाको च्छो रोल्पा ताल पुगेर फर्किएँ । च्छो रोल्पा ताल जान धेरैपटक योजना बनाएँ ।  तर साइत नै जुरेन । यहाँ बसेर ताल र ताललाई वरिपरिबाट अँगालोमा बेरेर बसेका हिमालको दृश्य देख्दा लाग्यो यति सुन्दर रैछ र पो सितिमिति यहाँ हेर्न नजुरैको हो कि !

च्छो रोल्पा तालमा रमाउँदै पर्यटक

च्छो रोल्पा ताल भ्रमणको साइत जिपमाण्डु टाभल्स एण्ड टुरका विक्रम भट्टले जुराइदिए ।

तालसम्म पुग्न उकालो चढदा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें, उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको रंग भरियो ।

अहिलेसम्मको यात्रामा मैले च्छो रोल्पा ताल जाने पदमार्ग अन्य पदमार्गभन्दा व्यवस्थित अनुभव गरें । बाटाको सुन्दरता पनि कमको थिएन ।

अन्य स्थानहरूमा यात्रा गर्दा जाँदा उकालो आउँदा ओरालो यात्रा तय गर्नुुपर्ने हुन्छ । तर यहाँ जाँदा भने उकालो ओरालो बराबरैजस्तो होला । अझ हामीले यात्रा तय गर्दा बाटोभरि फुलेका लालीगुराँस हेर्दा लाग्थ्यो यी फूलहरू हाम्रै स्वागतमा फक्रिएका हुन् । यात्रामा हामी १० जना थियौं । बाटोमा रमाइलो गदैै गयौं । च्छो रोल्पा यात्राको ६ दिन पनि कति चाँडै बितेछ भन्ने लाग्यो ।

तालको विशेषता

आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य हो, च्छो रोल्पा ताल । दोलखा जिल्लामा पर्ने यो ताल नेपालको सबैभन्दा उचाइमा रहेको ठूलो हिमतालमध्ये एक हो । समुन्द्री सतहबाट चार हजार ५८० मिटर उचाइमा रहेको यो ताल डुलुङ हिमालको फेदमा छ ।

तालका लागि यात्रा तय गर्दा गौरीशंकर हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न पाइनु अर्को विशेषता हो । तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिन्छ ।

सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको थियो । सन् १९९७ मा लिएको भू–उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ । तालको  गहिराइ १३५ मिटर छ ।

कसरी पुग्ने ?

पहिलो दिनको यात्रा काठमाडौंदेखि दोलखा सदरमुकाम चरिकोट हुँदै सिँगटी नजिकको गाउँ छेटछेटसम्म जीपमा १० घण्टामा पुग्न सकिन्छ । त्यसपछि छेटछेटदेखि सिमीगाँउ तीन घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यो दिनको बास सिमीगाँमा हुन्छ ।

च्छो रोल्पा ताल र ना गाँउको बीचमा पर्ने पुल पार गर्दै

दोस्रो दिन सिमीगाँउदेखि डोन्ग्याङ ८ घण्टा पैदल यात्रा गर्नुपर्छ । तेस्रो दिन डोन्ग्याङदेखि ना गाँउसम्म आठ घण्टाको बाटो पार गर्नुपर्छ । चौथो दिन ना गाँउदेखि च्छो रोल्पा ताल अवलोकन गरेर बेदिङ पुगिन्छ । पाँचौ दिन बेदिङबाट आठ घण्टा पैदल यात्रा गरेर सिमीगाँउ आउन सकिन्छ । छैटौं दिन सिमीगाँउदेखि छेटछेटसम्म पुनः ३ घण्टा पैदल यात्रा गरेर त्यहाँबाट मोटरमा काठमाडौं फर्किन सकिन्छ ।

गतिलो गन्तव्य बन्न सक्छ : अनिल लामा, पर्यटन व्यवसायी

संघीय राजधानी काठमाडौंबाट सहजै पुग्न सकिने स्थान हो च्छो रोल्पा ताल । यो क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । यो क्षेत्रमा जति पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । हामी प्रचारप्रसारमा कमजोर भएर त्यसो भएको हो भन्ने लाग्छ ।  स्थानीय तहले आफ्नो बतबुताले भ्याएसम्म प्रचारप्रसार गरिरहेका छन् ।  तर राज्यस्तरबाट हुनुपर्ने जति प्रचारप्रसार भएको छैन ।

राज्यले थोरै ध्यान दिने हो भने यो क्षेत्र तत्काल पर्यटकका लागि गतिलो गन्तव्य बन्न सक्छ । अहिले कोभिडले नेपाल मात्र नभएर विश्वभर पर्यटन क्षेत्र सुनसान छ । तर यो समयमा हामीले आन्तरिक पर्यटकलाई ध्यान दिनसक्यौं भने निकै राम्रो हुन्छ ।

विगतमा हामीले  आन्तरिक पर्यटकलाई जति ध्यान दिनुपर्ने हो त्यति दिन सकेका रहेनछौं भन्ने लाग्छ । अब सोच्नु पर्ने बेला आएको छ । कोभिडको समयमा केही फुर्सदिलो भएका बेला हामीले यसको प्रर्वद्धन र प्रचारप्रसारमा ध्यान दिन सकिन्छ ।

च्छो रोल्पा ताल पदमार्गको हिमताल फुट्ने कुरा आएपछि मात्रै प्रचारप्रसार भएको हो । यो ताल त्यसै पनि सुन्दरताको हिसाबले पर्यटनको गन्तव्य लागि प्रख्यात छ । यहाँ विदेशी मात्र नभएर विशेष गरी काठमाडांै उपत्यकादेखि पर्यटक जाने गरेका छन् । अझ प्रचारप्रसार गर्न सके यसको भविष्य सुन्दर छ भन्ने लाग्छ । राजधानीदेखि सजिलै पुग्न सकिने भएकाले पनि  यो राम्रो पर्यटकीय क्षेत्र बन्न सक्छ ।

तस्वीर : विक्रम भट्ट

बेदिङ र ना गाँउको बीचमा पर्ने पदमार्ग
च्छो रोल्पा ताल पदयात्रा सकाएर काठमाडौं फर्कनु अघि रमाउँदै
च्छो रोल्पा ताल
च्छो रोल्पा तालबाट देखिएको हिमाल
ना गाँउ होटलमा हिउँमा रमाउँदै गर्दाको दृश्य
ना गाँउ नजिकैको पदमार्ग
च्छो रोल्पा तालबाट निस्किएको खोला
च्छो रोल्पा जाने पदमार्गअन्तर्गत ग्यालछने नजिकैको दृश्य
डोन्ग्याङ गाँउ पार गरेपछिको काठको पुल
सिमीगाँउ पार गरेपछिको झोलुंगे पुल
सिमीगाँउ पार गरेपछिको झोलुंगे पुल
सिमीगाँउ होटलमा बास बस्नुअघि खाना खाँदै आन्तरिक पर्यटक
सिमी गाँउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?