+

अष्ट्रेलियासँग अट्याकिङ फुटबल खेल्नेछौं : प्रशिक्षक अलमुताइरी

२०७८ जेठ  १२ गते १४:५१ २०७८ जेठ १२ गते १४:५१
अष्ट्रेलियासँग अट्याकिङ फुटबल खेल्नेछौं : प्रशिक्षक अलमुताइरी

१२ जेठ, काठमाडौं । चैत २२ मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक भएपछि अब्दुल्लाह अलमुताइरीले नेपालले अब अट्याकिङ फुटबल खेल्ने बताएका थिए ।

फिफा विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने भएकोले एन्फाले चैत १८ गते उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

नेपाली फुटबल टिमको प्रशिक्षक बनेपछि नै उनको ‘बोल्ड’ शैली देखिन थालेको थियो । पछिल्लो समय उनले २३ सदस्यीय टोलीमा ६ नयाँ खेलाडी राख्दै अर्को बोल्ड निर्णय गरे ।

यस्तै अलमुताइरीले नेपालको खेल्ने फर्मसेन पनि परिवर्तन गर्ने बताएका छन् । दी वल्र्ड गेमसँगको कुराकानीमा पनि अलमुताइरीले उक्त कुरा दोहोर्‍याएका छन् । ‘मैले यसको ४–४–२ वा ४–२–३–१ को फर्मेसनलाई चेन्ज गर्दै ४–३–३ को सिस्टममा ल्याएको छु र हामीले खेल्ने तरिका परिवर्तन गरिरहेका छौं ।’

अलमुताइरीले वर्ल्ड गेमसँग भनेका छन्, ‘हामी रक्षात्मक तरिकाले खेलिरहेका थियौं तर अब डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएका छौं । हामीले कहिलेकाहीं डिफेन्सलाई रेस्ट दिन अट्याक गर्नुपर्छ ।’

विश्वकप छनोटको बाँकी तीन खेल र इराकसँगको मैत्रीपूर्ण खेलको लागि मंगलबार राति नै नेपाल इराक प्रस्थान गरिसकेको छ । जहाँ नेपालले इराकसँग १५ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

अलमुताइरीले वर्ल्ड गेमसँग भनेका छन्, ‘हामी रक्षात्मक तरिकाले खेलिरहेका थियौं तर अब डिफेन्स र अट्याकमा धेरै सन्तुलन बनाएका छौं । हामीले कहिलेकाहीं डिफेन्सलाई रेस्ट दिन अट्याक गर्नुपर्छ ।’

त्यसपछि नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा एक खेल मात्र जितेको थियो ।

यस्तै अलमुताइरीले युरोपमा भएको खेलबाट समेत प्रभावित भएको बताउँदै नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको उदाहरण समेत दिएका छन् । ‘मलाई एउटा कुरामा विश्वास छ । यदि नर्थ मेसेडोनियाले जर्मनीलाई हराउन सक्छ भने हामी अष्ट्रेलियालाई अट्याक गर्न सक्छौं,’ उनले थपे, ‘हुन सक्छ हामी उनीहरुलाई हराउन सक्दैनौं तर हामी राम्रो फुटबल खेल्ने प्रयास गर्नेछौं । यदि हामी हाम्रो बक्समा बस्छौं भने त्यो समाधान हुँदैन र हामी हार्छौं । अष्ट्रेलियासँग हार्दा कुनै लाज हुँदैन तर लाज तब हुन्छ जब फुटबल खेल्न प्रयास गर्दैनौं ।’

फिफा विश्वकप छनोटअन्तर्गत युरोपियन छनोट खेलमा नर्थ मेसेडोनियाले गत अप्रिलमा जर्मनीलाई २–१ गोलले पराजित गरेको थियो ।

अष्ट्रेलियाली टिमको विश्लेषण गरेपछि अलमुताइरीले आफ्नो टिमले गर्नुपर्ने तयारीबारे पनि बुझेको बताएका छन् । ‘राएन ग्रान्ट, ज्याक्सन इर्भिन र मिलोस डेगेनेकलाई हामीले विशेष हेर्नुपर्छ, किनकि हामीले उनीहरुलाई नियन्त्रणमा राख्दै खतरा कम गर्नुपर्छ,’ अलमुताइरीले भने, ‘निश्चय नै यो कठिन छ तर हरेक कुरा सम्भव छ । मैदानमा ५ मिनेट एक रातो कार्डले अवस्था परिवर्तन गर्छ ।’

यसअघि २०१९ मा नेपालले पहिलो पटक अष्ट्रेलियासँग उसैको मैदानमा खेलेको थियो । नेपाल ५–० गोलले पराजित हुँदा स्वीडिस योहान कालिन नेपालका प्रशिक्षक थिए । कोरोना महामारीपछि कालिन स्वदेश फर्के र उतैबाट राजीनामा पठाए । त्यसपछि बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल र चैतमा भएको थ्री नेसन्स कपमा बालगोपाल महर्जनले राष्ट्रिय टिमको कार्यकारी प्रशिक्षकको रुपमा काम गरेका थिए । तर विश्वकप छनोटका लागि भने एन्फाले कुवेती प्रो लाइसेन्सधारी अलमुताइरीलाई अनुबन्ध गरेको हो । उनी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् ।

उनको पहिलो ड्युटी इराक विरुद्धको मैत्रीपूर्ण खेल हुनेछ । त्यसपछि उनकै देश कुवेतमा नेपाली टोलीले गएर खेल्नेछ, तर नेपालले कुवेतसँग भने खेल्नेछैन । नेपाल कुवेतसँग दुवै खेलमा पराजित भएको थियो भने अष्ट्रलिया र जोर्डनसँग पनि पराजित भएको थियो । चाइनिज ताइपेईलाई भने नेपालले उसैको मैदानमा पराजित गरेको थियो ।

समूह बी मा ५ खेलबाट ३ अंकसहित नेपाल चौथो स्थानमा छ । अष्ट्रेलिया शतप्रतिशत जितसहित ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।

नेपाल विश्वकपको तेस्रो चरणमा पुग्ने सम्भावना लगभग सकिसकेको छ तर २०२३ मा चीनमा हुने एसिया कपमा छनोट हुने सम्भावना भने अझै बाँकी छ । त्यसैले नेपालले कुवेतमा कस्तो नतिजा ल्याउँछ त्यो अनुसार एसियन कपको लागि छनोट खेल्नुपर्ने हुनेछ ।

प्रशिक्षक अलमुताइरीले यस पटक युवा खेलाडीलाई मौका दिनुको कारण पनि अहिलेको नतिजा भन्दा पनि सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिप र एसियन कप छनोटका खेललाई लक्षित गर्नु हो ।

‘हामी यस समूहमा चौथो स्थानमै रहन चाहन्छौं र एसियन कपको यात्रा निरन्तर गर्न चाहन्छौँ । हाम्रो अर्को लक्ष्य साफको फाइनल पुग्नु पनि छ,’ अलमुताइरीले भने, ‘हामीले मे २९ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्छौं । नेपाल सुपर लिग केही समयअघि सकिएको छ र खेलाडीहरु पनि लयमा छन् । हामी जुनको ठूलो खेललाई लिएर तयार छौं ।

अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय