+
+

सरुवा भएको दुई महिनासम्म सहसचिव घरमै

रोयल आचार्य रोयल आचार्य
२०७८ जेठ १९ गते १८:४२

१९ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव विष्णुप्रसाद कोइरालाको गत २३ चैतमा सरुवा भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत २४ गते नै कोइरालालाई दाङको तुल्सीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको पत्र पठायो ।

कोइरालाको सरुवा भएपछि मन्त्रालयले सहसचिव गणेश अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गर्‍यो । नयाँ प्रशासकीय अधिकृत आएपछि कोइरालाले बुरबुझारथ गरेर आफू सरुवा भएको ठाउँमा जानुपर्ने थियो ।

तर दुई महिनासम्म पनि उनी आफू सरुवा भएको ठाउँ तुल्सीपुर उपमहानगरपालिका पुगेका छैनन् । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार उनी सरुवा भएको कार्यालयमा नगएर घरमै बसिरहेका छन् ।

‘राम्रै काम गरिरहेको थिएँ सरुवा भयो भनेर सुनाउनुभएको थियो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सरुवा भएको पत्र बुझे पनि उहाँ जानुभएन ।’

कोइरालाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि आफ्नो सरुवा भएकोमा गुनासो गरेका थिए । महर्जनले अनलाइनखबरसँग भने, ‘उहाँले सरुवा भएपछि गुनासो पनि गर्नुभएको थियो तर हाम्रो काबुको विषय नभएकाले हामीले बिचरा भन्न सक्छौं, काँध थाप्न सक्दैनौं ।’

तुल्सीपुर उपमहानगरपालिका भने नयाँ प्रमुख प्रशासकीय अधिकृतको पर्खाइमा छ । मेयर घनश्याम पाण्डेका अनुसार अहिले तुल्सीपुरमा शिक्षा शाखा हेरिरहेका भाष्करराज गौतमले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गरिरहेका छन् ।

अनलाइनखबरको सम्पर्कमा आएका सहचिव विष्णुप्रसाद कोइरालाले पनि आफू सरुवा भएको ठाउँमा हाजिर नभएको स्वीकार गरे । ‘जागिर खाने हो, नजाने भन्ने कुरै हुँदैन नि, अहिले कफ्र्यू छ के छ, उताबाट खोजी पनि भएको छैन, निमित्तले काम चलाइरहेको छ, विस्तारै जाउँला नि’ उनले भने ।

मन्त्रालय भन्छ- उच्च अधिकारीबाटै यस्तो हुनु दुःखद्

निजामती कर्मचारी नियमावलीमा सरुवा भएको ठाउँमा नयाँ कर्मचारी आए बढीमा २१ दिनमा सबै काम सकेर  नयाँ कार्यालयमा हाजिर हुनुपर्छ । अर्थात् २१ दिनको अवधिमा नै कार्यालयको सामग्री तथा जिम्मेवारी बुझाएर रमना लिएर बिदा हुनुपर्छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले निजामती कर्मचारी नियमावलीको नियम ३९ अनुसार आफ्नो ठाउँमा सरुवा भएर अर्को कर्मचारी आइसकेको अवस्थामा बढीमा २१ दिनसम्म बरबुझारथ गर्ने समय हुने बताए ।

यस अवधिमा आफ्नो जिम्मेवारीमा रहेका सामान, कागजातहरु बुझाउनु पर्ने हुन्छ । तर लकडाउनका बेला अथवा विभिन्न परिस्थितिका कारण कार्यालय प्रमुखले कारण देखाएर केही समय लिन सक्ने प्रवक्ता अधिकारीले बताए ।

‘सहसचिव जस्तो मान्छेले आफैंले बुझ्नुपर्ने हो, सिनियर मान्छेलाई अरुले बुझाउनुपर्ने भयो भने त्यो विडम्बना हुन्छ,’ प्रवक्ता अधिकारीले भने ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?