+
+

सेयर कर्नरिङबारे अनुसन्धान गर्दै बोर्ड, सजग भएर लगानी गर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २५ गते १७:०८
बाेर्का अध्यक्ष भिष्मराज ढुंगाना

२५ जेठ, काठमाडौं । सेयर कर्नरिङबारे पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुसन्धान शुरु गरेको छ । पछिल्लो समय सेयर बजारमा अत्यधिक कर्नरिङ हुने गरेको उजुरीहरु परेपछि अनुसन्धान सुरु गरिएको बोर्डले जनाएको छ ।

मंगलबार बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै सेयर कर्नरिङ्गबारे अध्ययन सुरु भएको र अध्इयन सुरु गर्न भने केहि समय लाग्न सक्ने बताएको छ । यस्तो बेला सजग भएर लगानी गर्न समेत बोर्डले सेयर लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

‘पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोवार बृद्धिसँगै सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन शुरु गरेको छ, यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न सक्छ’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन आग्रह गर्दै बोर्डले भनेको छ, ‘देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौं ।’

धितोपत्रको दोश्रो बजारमा सेयर कारोवार अनलाइनमार्फत् घरमै बसी बसी कारोवार गर्न सकिने व्यवस्था रहेको छ । अहिले हाल करिव ९० प्रतिशत कारोवार अनलाइनमार्फत् नै भइरहेको, धितोपत्रको प्राथमिक र दोश्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा बृद्धि भइरहेको छ भनेकारोवार रकम र कारोवार संख्यामा समेत बृद्धि भइरहेको छ ।

बजारको सिद्धान्त अनुरुप बजार घटबढ हुने हुदाँ लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगसँगै जोखिम पनि हुन्छ भन्ने कुरा ध्यानमा राखी जोखिम बहन गर्न सक्ने गरी लगानी गर्नुपर्ने बोर्डले बताएको छ ।

धितोपत्र बजारको नियमन निकायको रुपमा बोर्डले लगानीकर्ताहरुलाई बजारको विविध पक्षहरु बारे समय समयमा प्रेस विज्ञप्ती, बोर्डको प्रकाशन, बोर्डको वेभसाइट तथा विभिन्न सञ्चार माध्यममार्फत जानकारी गराउँदै आइरहेको छ ।

सूचीकृत संगठित संस्थाहरुको मूल्य संवेदनशील विवरण तथा सूचना नेप्सेमार्फत् प्रकाशन गरी लगानीकर्ताहरुले समयमा नै पाउने व्यवस्था बोर्डले गरेको छ ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्वन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन गरेर लहै लहैमा नलागी लगानी सम्वन्धी निर्णय लिन बोर्डले अनुरोध गर्दै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?