 
																			३० जेठ, धनगढी । भारतबाट हुने चोरी, तस्करी बढेपछि नेपाली बिँडी व्यवसायी मारमा परेका छन् । वर्षौंदेखि बिँडी उद्योग सञ्चालन गर्दै आएका बाराका बिँडी व्यवसायीहरुले सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट अवैध बिँडी भित्रिने क्रम बढेसँगै मारमा परेको गुनासो गरेका छन् ।
एक वर्षदेखि अवैध रुपमा हुने आयात रोक्न माग गर्दै सुदूरपश्चिम प्रहरी कार्यालय, आन्तरिक राजश्व कार्यालय, आन्तरिक राजश्व विभाग, उद्योग मन्त्रालय, गृह मन्त्रालय लगायतका निकायमा धाउँदा समेत कुनै सुनवाई हुन नसकेको उनीहरुले बताए । बाराको महागढीमाई नगरपालिका–१० को अरबनी बिँडी उद्योगका सञ्चालक पंकज जैसवालले कुल उत्पादनको ५० प्रतिशतभन्दा बढी सामान सुदूरपश्चिमका बजारमा खपत हुँदै आएकोमा भारतबाट हुने चोरी तस्करीले मारमा परेको बताए ।
‘हामीले भारतबाट हुने चोरी तस्करी रोकिदिनुस् भनेर पटक–पटक गृह मन्त्रालय, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, नेपाल प्रहरी लगायतका सबै निकायलाई ध्यानाकर्षण पत्र बुझाइसकेका छौं,’ जैसवालले अनलाइनखबरसँग भने, ‘तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । हाम्रो व्यवसाय नै धरासायी भइसक्यो ।’
बाराका उद्योगले कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका ९ वटै जिल्लामा बिँडी खपत गर्दै आएका छन् । बाराकै केशव बिँडी फ्याक्ट्रीका सञ्चालक कन्हैया शाहले पनि भारतबाट हुने तस्करी र राजश्व वृद्धिको मारमा बिँडी उद्योग मारमा परेको सुनाए । गत आर्थिक वर्ष २०७६/७७ मा ११ वटा बिँडी उद्योगले झण्डै १० करोड राजश्व सरकारलाई बुझाएको स्मरण गर्दै शाहले अवैध तस्करी नियन्त्रण प्रहरी प्रशासनले तदारुकता नदेखाउँदा ठूलो समस्या भोग्नुपरेको बताए । उनले कञ्चनपुरको गड्डाचौकी, पुनर्वास, बेलौरी, कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर क्षेत्रबाट बढी मात्रामा भारतीय बिँडी तस्करी हुँदै आए पनि नियन्त्रण हुन नसकेको बताए ।
तस्करी मौलाउँदा यहाँ उत्पादित बिँडीले बजार पाउन नसक्दा करिब २० प्रतिशतसम्म उत्पादन नै घटेको छ भने त्यहाँ कार्यरत मजदूरलाई समेत समस्या भएको छ ।
प्रहरी भन्छ– विगतमा समस्या थियो, अहिले छैन
प्रहरीले भने विगतमा सुदूरपश्चिमका सीमा नाकाबाट भारतीय बिँडी तस्करी हुने गरेको भए पनि अहिले त्यो समस्या नरहेको दाबी गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले भारतबाट अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी कटिबद्ध रहेको बताए ।
उनले विगतमा ठूलो परिमाणमा बिँडी, सूर्ती लगायतका सूर्तीजन्य पदार्थ अवैध रुपमा सुदूरपश्चिम भित्रिने गरेको भए पनि अहिले त्यो समस्या नरहेको दाबी गरे । सूर्ती र बिँडी भारतबाट आयात समेत गर्न नपाइने बताउँदै थापाले ल्याउनेहरुको हकमा बरामद गरेर आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय बुझाउने गरेको जनाए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4