Comments Add Comment

प्रदेश र जिल्लाको प्रहरी नेतृत्वमा फेरबदलको तयारी

३१ जेठ, काठमाडौं । नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ । प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो ।

गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको छैन । ८ वैशाख २०७७ मा सरुवा भएर प्रदेश गएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु हालसम्म प्रदेशमै कार्यरत छन् ।

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । कार्यसम्पादनमा समस्या देखिए त्यसअगावै पनि प्रहरीको सरुवा हुने गरेको छ । उनीहरुको सरुवा प्रक्रिया थालिएको गृह मन्त्रालय स्रोतले बतायो । यसपछि क्रमशः प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मै सरूवा हुने स्रोतको भनाइ छ ।

हाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गर्ने बेला भइसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत बताउँछन् । संघीय प्रहरी कार्यालयका एसएसपीहरु, मोरङ, सुनसरी, दाङ, कैलाली, बाँके, कास्की लगायतका जिल्लाका एसपी र अर्घाखाँची, भोजपुर, संखुवासभा, खोटाङ लगायतका डीएसपीले एक वर्ष अवधि विताइसकेका छन् ।

उपत्यकामा प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपी दक्षकुमार बस्नेत, हरिबहादुर बस्नेत, नविन कार्की, निराजनदत्त भट्ट, रोशन खड्कालगायतको पनि एक वर्ष अवधि पुगिसकेको छ । सोह्रखुट्टका डीएसपी दिपक खड्काको पनि एक वर्ष अवधि पुगिसकेको थियो । तर कारबाहीमा परेर जिम्मेवारी खोसिएको छ ।

कानूनतः एसपीसम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई हुन्छ । तर हरेक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मकै सरुवामा शक्तिकेन्द्रले दबाब दिने गरेको छ ।

यदि संसद पुनर्स्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ

एक अधिकृतका अनुसार सुरुवातमा कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सरुवा रोकिएको थियो । पछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पदमुक्त भएपछि प्रहरीमा सरुवा हुनसकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि प्रहरी सरुवामा बालुवाटारको चासो छ । यद्यपि अदालतमा मुद्दा–मामिला चलेर परिस्थिति अन्यौलग्रस्त भइरहँदा पनि प्रदेश र जिल्लाका नेतृत्वको सरुवामा ढिलाइ भएको छ ।

हालै डीआईजी सरुवाको तयारी गरिए पनि नयाँ गृहमन्त्री आएसँगै पछाडि धकेलिएको एक अधिकृत बताउँछन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले भने सरुवाको विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

स्रोतका अनुसार नयाँ गृहमन्त्री खगराज अधिकारीले बल्ल डीआईजी सरुवा सुरु गर्ने तयारी गरेका छन् । यदि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फैसला हुँदा संसद पुनर्स्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ ।

प्रदेशमा प्रमुखमा क-कसको दाबी ?

हालका रहेका डीआईजीमध्ये कार्यक्षमतामा बलियो मानिएकालाई प्रहरी महानिरीक्षक शैलेश थापाले यसअघिकै सरुवामा महत्वपूर्ण ठाउँमा अवसर दिइसकेको अधिकृतहरु बताउँछन् ।

सामान्यतया प्रदेशबाट प्रदेशमै सरुवा गरिँदैन । त्यसैले अबको सरुवा प्रदेश जाने योग्न डीआईजीहरु कम भएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

अब प्रदेश जाने अधिकांश डीआईजीहरु अघिल्लो बढुवामा छुटेका डीआईजीहरु छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रदेश नं. १ मा अरुणकुमार बिसीलाई पठाउने तयारी गरेको छ । सबैभन्दा चुनौतिपूर्ण मानिने प्रदेश नं. २ मा दिवेश लोहनीलाई जिम्मा दिने प्रहरी मुख्यालयको तयारी छ ।

संगठनमा व्यवसायिक अधिकृतको छवि भए पनि ३३ किलो सुनकाण्डमा मुछिएपछि उनी बढुवामा छुटेका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा डीआईजी सहकुलबहादुर थापालाई पठाउने तयारी गरिएको छ । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा निर्देशक रहेका डीआईजीमा ब्याचको दोस्रो वरियतामा छन् ।

पहिलो बरियताका विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनिसकेका छन् । र, प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने लाइनमा आफूलाई सुरक्षित स्थानमा उभ्याएका छन् ।

गण्डकी प्रदेशमा डीआईजी प्रकाशजंग कार्की, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा डा. देवबहादुर बोहोरालाई पठाउने तयारी छ । तर यसमा गृहमन्त्री खगराज अधिकारीको राय आइसकेको छैन । त्यसैले सूचीमा केही फेरबदल हुनसक्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment