+
+

मजदुरलाई खान खुवाउने २३ अभियन्ता पक्राउ, सहमति विपरीत संरचना भत्काइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १४ गते २१:१८

१४ असार, काठमाडौं । कोभिड–१९ महामारीको पहिलो लहरमा सरकारले एक्कासी लकडाउन गर्ने निर्णय लिँदा मजदुरहरु उपत्यकामा अलपत्र परे ।

रोगभन्दा भोकले मर्ने स्थिति आएको भन्दै ‘हाम्रो टिम नेपाल नामक अभियान’ सुरु भयो ।

महामारीको दोस्रो लहर आउँदा पनि अभियानले पहिले झैँ खाद्यान्न वितरण कार्यक्रमलाई निरन्तरता दियो । तर अभियानले मजदुरहरुलाई खाना खुवाउन बनाइएको संरचना सोमबार काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ भने प्रहरीले अभियन्ताहरुलाई पक्राउ गरेको छ ।

२३ अभियन्ता पक्राउ

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह एक वर्षदेखि सार्वजनिक जग्गा मिचेकाले अभियन्ता बताउनेहरुलाई पक्राउ गरिएको बताउँछन् ।

उनका अनुसार पक्राउ पर्नेमा अभियानका अध्यक्ष विमल पन्त, रमिला मुक्तान, सुजित पौडेल, कविता पौडेल, सुजन दाहाल र शिव पराजुली छन् । त्यस्तै, अंशु यादव, शिव यादव, निरकुमार बुढाथोकी, मञ्जु इटनी, अस्मिन अधिकारी, कमला पहाडी, सुस्मा थापा, जेसिका कार्की र साजन श्रेष्ठ पनि पक्राउ परेका छन् ।

देवबहादुर बुढाथोकी, रञ्जु ऐरी, सपना रोका मगर, लक्ष्मण धामी, बुद्धि बोकटी, उमेर बोहोरा, विष्णु थापा र अविरल न्यौपाने गरी २३ जनालाई पक्राउ गरेर भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको थियो । उनीहरुलाई साँझ छाडिएको छ ।

सहमति विपरीत हटाइयो संरचना

अभियन्ता सपना रोका मगरका अनुसार अनामनगरको पूर्वी गेट नजिकै रहेको रहेको खाली जग्गामा अस्थायी संरचना बनाउन वडा नं. २९ मा सहमति लिइएको थियो ।

‘निषेधाज्ञा खुलेको एक महिनाभित्र संरचना हटाइसक्ने सहमतिमै उल्लेख थियो’ उनले अनलाइनखबरसँग भनिन्, ‘त्यस विपरीत सहयोग सामग्रीहरु अलपत्र हुने गरी सोमबार संरचना भत्काइयो ।’

वडाध्यक्ष कुश ढकाल पनि अभियानले मजदुरहरुलाई सहयोग गरेर राम्रो काम गरेकाले खाना खुवाउन ठाउँ दिइएको बताउँछन् । ‘लिखित रुपमै त्यो स्थान उहाँहरुलाई दिएका थियौं, निषेधाज्ञा खुल्ने वित्तिकै छाड्नुपर्ने सर्त थियो’ उनले भने, ‘तर वरिपरिका समाजसेवी, सरकार र मेयर नै लागेर राम्रो काम गर्नेलाई हटाए ।’

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले चाहिँ सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजना अनुसार टहरा बनाइएको बताउँछन् । ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ–जिडाइन तयारी अवस्थामा छ’ उनले भने ।

तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?