+
+

‘फ्रन्टलाइनर’को चित्र मेटाएको महानगरले लाखौं खर्चेर अर्को चित्र बनाउने

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ असार १६ गते २०:३२

१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने भएको छ ।

चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले एकाएक मेटेपछि सर्वत्र आलोचना भइरहेको छ ।

कोरोनाभाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ शेर्पालाई काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयले अनुमति दिएको थियो ।

तर, वडा कार्यालयले त्यस्तो अनुमति दिन नपाउने भन्दै काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएपछि नयाँ चित्र कोर्ने योजना सार्वजनिक गरिएको छ ।

प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले वडा र महानगरबीच उचित समन्वय नहुँदा चित्र तयार हुन पुगेको दाबी गरे । चित्र मेटिएको स्थानमा महानगरले नयाँ चित्र बनाउने योजना बनाइसकेको पनि उनले जानकारी दिए ।

कलाकारले चित्र बनाउँदै गर्दा ज्ञवालीले पनि चित्रबारे सोही स्थलमा पुगेर सोधपुछ गरेका थिए । वडाको सिफारिश देखाएपछि आफूले महानगरमा छलफलका लागि आउन भने पनि थप छलफल नगरी चित्र बनाइएको दाबी ज्ञवालीको छ ।

‘अब सो स्थानमा काठमाडौं उपत्यकाको कलासंस्कृति झल्किने भित्ते चित्रहरु काेर्छौं’ उनले भने,’केही समय फ्रन्टलाइनरप्रति सम्मान जनाउने चित्र त्यहाँ रहिहाल्यो, अब त्यहाँ नयाँ चित्र बनाइनेछ । त्यसकै लागि चित्र मेटाएका हौं ।’

उनले महानगरका अन्य सम्भाव्य क्षेत्रमा पनि ललितकलामा आधारित चित्रहरु कोरिने बताए । त्यसका लागि महानगरपालिकाको सम्पदा विभागले काम गर्ने ज्ञवालीको भनाइ छ ।

चित्र कोर्न आगामी वर्षको बजेटमा रकम विनियोजन गर्ने महानगरको सम्पदा विभाग प्रमुख अर्चना शाक्यले बताइन् । आगामी वर्षको बजेटमा त्यसका लागि रकम छुट्याउन छलफल भइरहेको र केही समयपछि त्यसको टुंगो लाग्ने उनले बताइन् ।

बायाँतर्फ चित्र बनाएपछिको तस्वीर, दायाँतर्फ महानगरले चित्र मेटाएपछिको तस्वीर

भित्तामा चित्र बनाउन, पम्प्लेट र पोस्टर टाँस्न र होर्डिङ बोर्ड राख्न मनाही गरिएको भन्दै महानगरपालिकाले चित्र मेटाएको थियो । तर, अब आफैंले बजेट खर्चेर अरु चित्रहरु बनाउने तयारी छ । कलकारहरुका अनुसार यस्तो चित्र बनाउन लाखौं खर्चिनुपर्छ ।

कोरोना महामारीको समयमा शहरका अधिकांश मानिस घरभित्र बसेका बेला बाहिर निस्केर काम गर्नेहरुको सम्मानका लागि सो भित्ते चित्र बनाएको कलाकारहरु बताउँछन् । चित्रमा मास्क लगाएर काम गरिरहेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, प्रहरी, पाइलट, पत्रकार, शव व्यवस्थापकहरु देख्न सकिन्थ्यो ।

चित्रको परिकल्पनाकार डोजाङ शेर्पा महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहनेहरुको सम्मानका लागि राजधानीको मुटुमा अनुमति लिएरै चित्र मेटाएर महानगरपालिकाले  फ्रन्टलाइनर, कला र मिहिनेतको अपमान गरेको बताउँछन् ।

‘वि विल राइज एगेन, र टुगेदर वि क्यानसहित के टाउन लेखेर हामीले यो चित्र विश्वले काठमाडौंको हो भनेर विश्वले चिनोस् भन्ने चाहेका थियौं’ उनले भने, ‘तर, महानगरपालिकाले एकाएक चित्र मेटिदिंदा साह्रै चित्त दुखेको छ । ‘

चित्र बनाउने क्रममा पहिलो दिन महानगरपालिकाबाट आएका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले चित्रबारे सोधेपछि वडाको पत्र देखाएको उनले बताए । त्यत्रो दिन केही नबोलेको महानगरपालिकाले कुनै पूर्वजानकारी समेत नदिई चित्र मेटेको भन्दै उनले त्यसले महानगर कलाको उपहास र अपमान गर्ने निकायको रूपमा चित्रित भएको बताए ।

‘हामीले अनुमति नलिई बनाएका पनि हैनौं, कुनै व्यापारिक स्वार्थ पनि हैन’ उनी भन्छन्,’जनताको सेवामा खटिनेहरुलाई प्रोत्साहन मिलोस् भनेर गरेको काममाथि रंग पोतेर महानगरपालिकाले हाम्रो मिहिनेतमाथि पनि भद्दा मजाक गर्‍यो ।’

अग्रपंक्तिमा खटिनेलाई ‘मोटिभेट’ गर्न बनाएको चित्र एकाएक मेटाइदिएपछि सो क्षेत्रका स्थानीयवासी र जनप्रतिनिधिले पनि चिन्ता व्यक्त गरेका छन् । वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीले चेतनामूलक सम्मानप्रद र जागरण दिने खालको चित्रको प्रस्ताव आएपछि चित्र बनाउन सकिने गरी सिफारिश दिएको बताउँछन् ।

‘महानगरपालिकाले एकाएक मेटाइदिएछ’ उनले भने,’यसबारे म कार्यपालिका बैठकमा कुरा उठाउँछु ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?