२० असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि आफू अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् । तर ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने उनले बताए ।
राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले नेताद्वय ओली र नेपाल एकअर्कासँग रिसाएको बताए । रिस शान्त नभएसम्म पार्टी एकताका लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास सार्थक नहुने भन्दै उनले भने, ‘लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओलीजीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनुभएको छ । दुई नेताको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको चिन्ताले काम लाग्नेवाला छैन ।’
एमाले एकता अभियान चलाएका गौतम १६ असारमा अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा गएका गौतमले आफू पार्टी एकताका लागि ओलीतिर लागेको बताए ।
आफूले केन्द्रीय कमिटी बैठकमै प्रस्ताव राखेको र हलले पनि एकताको प्रयत्न बामदेवले गर्नुपर्छ भन्ने पास गरेको भन्दै उनले भने, ‘धैर्यधारण गरेर प्रयत्न गर्नुहोस् भनेर मैले अरुलाई भनेको छु । म त्यसको लागि प्रयत्नशील छु ।’
अध्यक्ष ओली र नेता नेपालको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ भनेर आफू लागेको पनि उनले बताए ।
यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपाध्यक्ष गौतमले भने, ‘सर्वोच्चको निर्णय आएपछि एकता संभव होला भन्ने लागेको छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4