Comments Add Comment

ओलम्पिककै बीचमा टोकियोमा कोरोना संक्रमणको चिन्ता

१४ साउन, काठमाडौं । जापानको राजधानी सहर टोकियोमा अहिले ओलम्पिक प्रतियोगिता चलिरहेको छ । प्रतियोगिता चलिरहेकै समयमा टोकियो सहरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम पनि बढेको छ ।

बिहीबार टोकियोमा ३ हजार ८६५ नयाँ संक्रमित देखिएको टोकियोको स्थानीय सरकारले बताएको छ । यसअघि बुधबार टोकियोमा ३ हजार १७७ नयाँ संक्रमित थपिएका थिए । टोकियोमा लगातार तेस्रो दिन कोरोनाका नयाँ संक्रमितको संख्यामा वृद्धि भएको हो ।

बिहीबार भेटिएकामध्ये १९८ नयाँ संक्रमित ओलम्पिक खेलसँग सम्बन्धित रहेको ओलम्पिक आयोजकले बताएको छ । टोकियोमा कोरोना संक्रमण बढेसँगै अगष्ट २२ सम्मको लागि आपतकालीन अवस्था जारी गरिएको छ ।

टोकियोका सार्वजनिक स्वास्थ्य विशेषज्ञ केन्जी शिबुयाले ओलम्पिक खेल भइरहेको समयमा कोरोना संक्रमण बढ्नु चिन्ताको विषय भएको बताए । यसबाट जापानमा कोरोना संक्रमण ठूलो संख्यामा फैलिन सक्ने जोखिम बढेको उनको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment