 
																			१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ ।
अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका प्रवक्ता अब्दुल समाइ जर्बीकाअनुसार बाढीबाट १७० घर पूर्ण वा आशिंक रुपमा भत्किएका छन् भने तीन सयभन्दा बढी परिवार प्रभावित भएका छन् । बाढीमा परी कम्तीमा ३४ जना घाइते भएका छन् ।
बाढीले जिल्लाका प्रमुख पुलहरु बगाएको छ । बाढीबाट ठूलो क्षति भए पनि अहिलेसम्म कुनै राहत उपलब्ध गराउन नसकिएको सरकारी अधिकारीहरुले बताएका छन् । अफगानिस्तानका संकट व्यवस्थापन राज्यमन्त्री टामिम अजिमीले भने, ‘दुर्भाग्यवश, यो क्षेत्र तालिबानको नियन्त्रणमा रहेकाले हामी प्रान्तीय टोलीलाई उक्त स्थानमा पठाउन सक्दैनौं ।’
यद्यपि अफगानिस्तान रेडक्रस सोसाइटीको टोली भने उक्त क्षेत्रमा राहत पुर्याउनका लागि प्रस्थान गरेको छ । पछिल्लो समय तालिबानले अफगानिस्तानका धेरै क्षेत्रमा कब्जा जमाएको छ । तालिबानलाई अफगानिस्तानमा देखिने यस किसिमका समस्यासँग लड्नु एक कठिन परीक्षा हुने विश्लेषकहरुले बताएका छन् ।
गत वर्ष अगष्ट महिनामा अफगानिस्तानका विभिन्न १३ प्रान्तमा आएको बाढीमा परी १५० जनाको मृत्यु भएको थियो । औसतमा अफगानिस्तानमा प्राकृतिक संकटबाट वार्षिक दुई लाख मानिस प्रभावित हुने गरेका छन् ।
एजेन्सीहरुको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4