Comments Add Comment

अब ५० बेडका सबै सरकारी अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

क्यूआर कोड भदौ १ गतेदेखि

फाइल तस्वीर

१८ साउन, काठमाडौं । वैदेशिक रोजगारीमा जान चाहने नागरिकले खोप लगाएको प्रमाणीकरण अब प्रदेश र जिल्लास्तरकै अस्पतालबाट गर्न मिल्ने भएको छ ।

यसअघि सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था मिलाएको थियो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहले एक सूचना जारी गर्दै ५० बेड क्षमताभन्दा माथिका जुनसुकै सरकारी अस्पतालमा खोप कार्ड प्रमाणीत गर्न सकिने व्यवस्था मिलाइएको जानकारी गराएका हुन् ।

विभागका अनुसार जिल्ला, प्रदेश र संघको ५० बेडभन्दा माथिका सरकारी अस्पतालहरुले खोप लगाएको प्रमाणीकरण गर्ने अधिकार दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सचीव स्तरीय बैठकले वैदेशिक रोजगारी, अध्ययन र उपचार लगायत अन्य कामले विदेश जान चाहने नागरिकले खोप कार्ड प्रमाणीकरण गर्न पाउने डा. सिंहले बताए ।

खोप केन्द्र तोकिएको अस्पतालले कम्तीमा पनि दुई जना मेडिकल डाक्टरलाई फोकल पर्सन तोकेर निःशुल्क खोप कार्ड प्रमाणीकरणको व्यवस्था मिलाउन विभागले भनेको छ ।

क्यूआर कोड भदौ १ गतेदेखि

मन्त्रालयले क्यूआर कोडसहितको प्रमाणपत्र भदौ १ गतेदेखि जारी गर्ने भएको छ ।

विभागले भदौ १ गतेदेखि विदेश जाने नागरिकका लागि सूचना प्रमाणीकरण प्री रजिस्ट्रेसन गराएर मात्र खोप लगाउन भनेको छ । सूचना प्रणालीबाट क्यूआर कोडसहितको प्रमाणपत्र विद्युतीय प्रणालीबाट उपलब्ध गराउने, अन्य नागरिकहरुको हकमा पनि प्रि रजिस्ट्रेसन गर्ने, यसअघि खोप लगाएका सबै नागरिकहरुको पोस्ट रजिस्ट्रेसन अनिवार्य गर्न पनि विभागले निर्देशन दिएको छ ।

रजिस्टरमा खोप लगाउने व्यक्तिको जन्ममिति समेत उल्लेख गर्न विभागले खोप केन्द्रलाई भनेको छ । यस्तै खोप केन्द्र व्यवस्थित गर्नका लागि कुपन प्रणाली लागू गर्न, खोप केन्द्रको संख्या बढाउने गरी व्यवस्था मिलाउन पनि विभागले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment