Comments Add Comment

लुम्बिनी वाणिज्य क्याम्पसमा विद्यार्थीहरुले गरे तोडफोड

२६ साउन, बुटवल । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् ।

नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् ।

यसअघि साउन ८ गते नै चार विद्यार्थी संगठनले एमबीएस कार्यक्रम नहटाउन माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर क्याम्पसले एमबीएसको सट्टा एमबीएस एफ र एमबीए एमएफ कार्यक्रममा भर्ना खोलेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

एमबीएस एफ र एमबीए एमएफ कार्यक्रम क्याम्पसले स्वायत्त ढंगले सञ्चालन गर्ने र शुल्क चार गुणा महँगो भएकाले गरीब तथा विपन्न वर्गका विद्यार्थीका लागि एमबीएस कार्यक्रमलाई नै निरन्तरता दिन माग गरिएको नेविसंघ क्याम्पस समितिका उपसभापति अशोक गौतमले बताए । निजी क्याम्पसले एमबीएस कार्यक्रमलाई निरन्तरता दिएकाले उनीहरुलाई फाइदा पुर्याउने गरी हटाइएको गौतमले बताए ।

‘गरीब विद्यार्थीलाई सुपथ शुल्कमा एमबीएस पढ्नबाट वञ्चित गरी निजीमा पठाउने वा महंगो शुल्कमा एमबीएस एफ र एमबीए एमएफ पढ्न बाध्य पार्ने सुनियोजित चालबाजी हो,’ अखिल छैठौंका सागर बेल्बासेले भने ।

विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका पुराना पाठ्यक्रम चलाउन र नयाँ थप गरिएका पाठ्यक्रम बन्द गर्न क्याम्पस प्रशासनलाई दवाव दिंदै आन्दोलन गर्दै आएका थिए । विद्यार्थी संगठनहरुले क्याम्पसमा यसअघि सन्चालन भइरहेका बिबिएस र एमबिएसमा पठनपाठन सन्चालन गर्नुपर्ने र एमबिए, बिबिए लगायतका पाठ्यक्रम बन्द गर्न माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment