Comments Add Comment

भानुभक्त आचार्य : भारतमा हाइहाइ, नेपालमा केही न केही

२९ असार,  काठमाडाैँ। राष्ट्रिय विभूतिका रुपमा घोषणा गरिएका आदिकवि भानुभक्त आचार्य नेपालीहरुका लागि कम र भारतमा रहेका नेपाली मूलका नागरिकहरुमा बढी लोकप्रिय  बन्न थालेका छन् । भानु जयन्ती अर्थात असार २९ गते नेपालमा सामान्य कविता गोष्ठीहरु हुनेबाहेक भानुभक्तलाई खासै सम्झने प्रचलन हराउँदै गएको छ ।bhanu bhakta acharya

तर, भारतको दार्जीलिङ, सिक्किम असाम लगायतका नेपाली वस्तीहरुमा भानु जयन्तीलाई उत्सवकै रुपमा धुमधामका साथ मनाउने गरिन्छ । भारतको सिलिगुडीमा आइतबार भानुजयन्तीको अवसरमा आश्रमपाडाबाट जुलुस र शोभायात्रा गरिँदैछ । त्यस्तै दिउँसो ११ बजे भव्य सभा आयोजना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यको आज दुई सयौं जन्मजयन्ती हो । संस्कृत भाषामा रहेको रामायणको नेपाली भाषामा भावानुवाद गरी उनले प्रत्येक नेपालीमा घरघरमा रामायणलाई पठनीय बनाएका थिए ।

उनले नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेकाले उनलाई आदिकविका साथै राष्ट्रिय विभूति मानिएको हो ।
भाषिक सहजता सहितका भानुभक्तका कृतिले नेपाली समाजमा पठन पाठन र संस्कृतिको विकास गर्न तथा साँस्कृतिक, धार्मिक, सामाजिक एवम् नैतिक चेतनाको विकास गर्न उल्लेख्य योगदान पुर्‍याएका छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा उनलाई चिनाएका हुन् ।

आचार्यका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौँफुटकर लगायत साहित्यिक कृति प्रकाशित छन् । आचार्यको द्विशतवाषिर्क समारोहका अवसरमा भानु प्रतिष्ठानले ‘भानुभक्तको रामायणको विशेष संस्करण’ प्रकाशन समेत गरेको छ ।

जातीय र लैङ्गिक दृष्टिकोणमा भानुभक्तको आलोचना

कतिपय जातीय अधिकारकर्मी एवं मधेसवादी विश्लेषकहरुले भानुभक्तलाई राष्ट्रिय विभूतिका रुपमा सहजताका साथ नलिएका कारण भानुजयन्ती सेलाउँदै भएको हो । विगतमा भानुभक्तको मूति तोडफोड गर्नेसम्मका कार्यहरु भएका थिए, जसले भानुभक्तलाई बहसको घेरामा पार्न खोज्यो । त्यसैगरी नारीवादीहरुले पनि भानुभक्तलाई आलोचना गरेका छन् । खासगरी प्रश्नोत्तर र बधूशिक्षामा भानुभक्तले नारीहरुलाई ‘नर्क’सँग तुलना गरेको आरोप महिलाअधिकारकर्मीहरुको छ ।

तर, आजभन्दा दुईसय वर्ष पहिलेको समाजको सापेक्षतामा भाुनभक्तलाई विश्लेषण गरिएन भने उनीमाथि अन्याय हुने समालोचकहरु बताउँछन् । जात लिंग र धर्मको दृष्टिले अहिलेको सयमसँग भानुभक्तका विचारहरु तादाम्य राख्ने अवस्थामा नभए पनि नेपाली भाषाको विकासमा उनको योगदान कोशेे ढुंगो हो भन्ने कुरामा भानुभक्तका आलोचकहरु पनि शायदै असहमत होलान् ।

आदि कवि भानुभक्त आचार्यले नारीहरुलाई यसरी नर्कको मूल ढोका र बन्धनको साङ्लो बताएका थिए, जसका कारण उनलाई नारीवादीहरुले रुचाउने गरेका छैनन् । भानुले नारीहरुलाई यस्तो भनेका थिए-
कुन् मूल ढोका छ नरक् कि ? नारी,
लान्छे नरक् मोह ठूलो फिजारी ।
…..
साङ्ला कउन् हुन् सबलाइ बाँध्न्या ?
स्त्री हुन् सदा पाउ समाइ-राख्न्या ।

भारतमा भानुभक्तको हाइहाइ

Bhanuनेपालमा भानुभक्तबारे जति नै संकीर्ण विवाद भइरहे पनि भारतमा रहेका नेपालीभाषीले भने उनलाई उच्च सम्मान गर्दै आएका छन् । भारतीय लेखक पी.अर्जुनले आइतबार भारतीय पत्रिका हिमालय दर्पणमा लेखेका छन्-‘आज संसार सानो भएको छ । क्षेत्रीयतालाई नाघेर जातीय गोष्ठीहरु राष्ट्रव्यापी एवं विश्वव्यापीस्तरमा रुपान्तरण भइरहेछन् ।

विश्व साहित्यको सन्दर्भमा नेपाली भाषाले पनि विस्तारित हुँदै पूर्णतय विश्वस्तरीय भइसकेको छ । आदिकवि भानुभक्त आचार्य नेपालीभाषी संसारका आद्यप्रणेता हुन् । जातीय एकताका प्रतीक हुन् ।….भानुभक्तको आदिकवित्वको सम्मान गरौं । नेपाली साहित्यलाई राष्ट्रिय विशिष्टतासहित अन्तरराष्ट्रिय स्तरमा उठाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment