Comments Add Comment

स्वास्थ्य चौकीमा सात वर्षपछि चिकित्सक हाजिर !

११ साउन, ओखलढुङ्गा । दुर्गम भेगमा अझै पनि स्वास्थ्य सेवा पाउन निकै कठिन हुन्छ । न भनेको बेलामा स्वास्थ्यकर्मी पाइन्छ न ओखतीमुलो नै । कुनै बेला यस्तै उदाहरणका रुपमा जिल्लाको रानीवन-३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिन सकिन्थ्यो ।

स्वास्थ्य चौकीबाट प्राथमिक स्वास्थ्य केन्द्र स्वीकृत भएको १९ वर्षपछि दोस्रोपटक सात वर्षपछि स्वास्थ्य केन्द्रमा चिकित्सक हाजिर भएकामा गाउँले निकै खुसी भएका छन् । स्वास्थ्य केन्द्रमा यसअघि जम्मा दुई जनामात्र चिकित्सक हाजिर भएका थिए । यस प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना चिकित्सक कृष्णहरि सुवेदी दुई वर्ष बसे भने अर्का चिकित्सक हाजिर भएको दुई सातामै हिँडेका थिए ।

त्यसयता हालसम्म स्वास्थ्य सहायक र केही करारका स्वास्थ्यकर्मीका भरमा अस्पताल चलिरहेको थियो । जिल्लाको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रमा यस्तो समस्या लामो समय रहे पनि अब भने यसको समाधान भएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो । उनका अनुसार दुई वर्षका लागि डा. नवराजेन्द्र मुनकर्मी स्वास्थ्य केन्द्रमा जिम्मेवारी सम्हाल्न आएका छन् ।

चिकित्सक एक, स्टाफ नर्स एक, स्वास्थ्य सहायक एक, अहेब दुई, अनमी तीन, ल्याब असिस्टेन्ट एक र कार्यालय सहयोगी तीनजना दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा एक नर्स, एक अहेब एक र अनमी एक मात्र दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि चिकित्सक नहुँदा कतिपय यहीँ निको बनाउन सकिने रोग लागेका बिरामीलाई समेत लाखौँ खर्च गरेर काठमाडौ लानु परेको स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डोरप्रसाद ढुङ्गेलले बताए । जिल्लाको दुर्गम मानिएका पश्चिमी गाविसहरु रानी वन, फूलबारी, बिलन्दु, सिंहदेवी, नर्मदेश्वर, पलापु, यसम लगायतका गाविसवासी नजिकै स्वास्थ्य केन्द्र भए पनि सुविधा लिनबाट भने वञ्चित रहँदै आएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment