Comments Add Comment

खुफिया पीडित नेपाली नेताले मोदीसँग के माग्लान् ?

मात्रिका पौडेल/टिप्पणी

१२ साउन, काठमाडौं । सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणलाई राजकीय बनाउन नेपालले कुनै कसर बाँकी नराख्ने सन्देश दिइसकेको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी दल समेतको संयुक्त बैठकले नरेन्द्र मोदीको भ्रमणलाई सफल र ऐतिहासिक बनाउन कुनै कसर बाँकी नराख्ने सहमति गरेपछि नेपालले मोदीलाई दिएको महत्वको अर्थ बुझ्न सकिन्छ ।

फाइल फोटो
फाइल फोटो

मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले मोदीको बिरोध गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै सरकारी निवासमा प्रचण्डसहितका नेताहरुलाई राखेर मोदीका भ्रमणलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नेबारे छलफल गरे । सम्भवतः उनले वैद्यसँग पनि मोदीको भ्रमणका क्रममा मुलुकलाई घाटा हुने र प्रतिष्ठा गिर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गर्नेछन् ।

सुष्माको सन्देश

मोदी भ्रमणको पूर्वसन्ध्यामा भएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुबै देशबीच गर्नैपर्ने प्रमुख कामहरुको कार्यसूची तयार पारेको छ । उनको भ्रमणका क्रममा दुई देशबीच कुनै विषयगत सम्झौता नभए पनि मोदीको भ्रमणका लागि राम्रो ग्राउण्ड तयार भएको नेपाल भारत मामिलाका जानकारहरु बताउँछन् ।

मोदीले आफू निर्वाचित भए लगत्तै छिमेकीलाई महत्व दिनु र प्रधानमन्त्री बनेको दुई महिना नपुग्दै नेपाल भ्रमण गर्नुले नेपाललाई उनले र उनको नेतृत्वको भारतले परम्परागतभन्दा बढिनै महत्व दिन खोजेको प्रष्ट हुन्छ । ‘हामी नेपालसँग परम्परागत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन चाहान्छौं र नेपाललाई उच्च महत्वमा राखेका छौं’ स्वराजको यो भनाइले पनि मोदी युगमा नेपालप्रति भारतको दृष्टिकोणमा बदलाबको संकेत गर्छ ।

मुनी र श्यामशरण के भन्छन् ?

नेपाल मामिलाका जानकार तर मोदीप्रति कठोर मानिने भारतीय बुद्धिजीवी तथा प्राध्यापक एसडी मुनीले नेपालले भारतबाट फाइदा लिनका लागि राजनीतिक विकास गर्नैपर्ने र कथित राष्ट्रवादको साँघुरो दायर यहाँका केही मान्छेले त्याग्नै पर्ने बताएका छन् । सुष्माको भ्रमणले मोदीको आगामी साता हुने भ्रमणलाई राम्रो आधार तयार पारेको ठहर गरेका मुनीले ट्वीटर मार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिन परम्परागत सोच त्याग्नैपर्छ’ मुनी भन्छन् ‘भारतले पनि नेपाल भारत सम्बन्धको पूरै समीक्षा गर्नका लागि अवकाशप्राप्त कुटनीतिज्ञहरुलाई होइन बहालवाला तथा प्रवुद्ध कुटनीतिज्ञहरुलाई संलग्न गराउनुपर्छ’ । भारतले अब नेपाललाई ‘ब्युरोक्रेटिक’ वा ‘इन्टिलिजेन्स’मार्फत होइन, राजनीतिक तहबाट समान हैसियतमा डिल गर्नुपर्ने सुझाव पूर्वराजदूत श्यामशरणले पनि दिएका छन् । ‘कर्मचारी र गुप्तचरी निकायबाट होइन, राजनीतिक तहबाट नेपालसँग डिल गरिएन भने नेपालमा हामीभन्दा अगाडि चीन हुनेछ’ श्यामशरणले एक आलेखमा भनेका छन् ।

यसलाई संयोगमात्र मान्न नसकिएला, जतिबेला श्यामशरणको भनाइ आयो, त्यही बेला नेपालका पूर्वप्रधानमन्त्री प्रचण्डले पनि भारतीय विदेशमन्त्रीलाई नेपालसँग राजनीतिक तहबाट डिल गर्न सुझाव दिए । कर्मचारी र गुप्तचर संयन्त्रबाट आजित भएका नेपालका नेताहरुले सम्भवतः मोदीसँगको भेटमा आफ्नो यो आशय प्रकट गर्नेछन् । मोदीले नेपाललाई हेर्ने अख्तियारी राजनीतिक तहमा लगे पनि दुवै देशलाई फाइदा हुनेछ ।

मोदीसँग के माग्ने ?

भारतीय कर्मचारीतन्त्र र खुफिया एजेन्सीहरुको नेपाल दृष्टिकोण सधैं हेपाहा, एकांगी र नेपाली नेपालीबीच खेलाउने खालको रहँदै आएको छ । नेपालका जिम्मेवार नेता र उच्च अधिकारीहरुले खुल्लेआम यो कुरा भन्न नसके पनि तत्कालिन राजादेखि वर्तमान रंकसम्म यसको शिकार भएका छन् । त्यसैले यसपटक मोदीसँगको भेटमा नेपाली नेताहरुले यो साझा सरोकार राख्न सक्छन् ।

‘अब दुई देशबीचको सम्बन्ध उन्नतस्तरबाट अघि बढाउनुपर्छ र भारतले राजनीतिक लेभलबाट नेपालसँग डि्रल गर्नुपर्छ भन्ने कुरा यसपटक सबै नेताहरुले मोदी समक्ष राख्ने सम्भावना छ’ तीन दलको बैठकमा सहभागी एक नेताले भने ‘बालुवाटारमा बोलेको कुरा हायातमा राख्न सक्छन् कि सक्दैनन् त्यो हेर्न बाँकी छ’ । मोदी हायात होटलमा बस्नेछन् ।

करीव दुई दशकपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणलाई फलदायी बनाउन कुनै न कुनै सन्धि सम्झौता गर्नुपर्ने विषयमा पनि दलहरु गम्भिर भएका छन् । नेपालको हितमा हुने जलस्रोत, उर्जा, पर्यटन लगायतका विषयमा सम्बद्ध मन्त्रालयहरुले आवश्यक गृहकार्य गरेपछि सम्भवत दलहरुले केही सहमति गर्नेछन् । जसले मोदीको भ्रमणलाई पशुपतिको दर्शनमा मात्र सीमित गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment