Comments Add Comment

बाघको संख्या बढे पनि आपसमै लडेर मासिने खतरा

१३ साउन, काठमाडौं । सरकारले आगामी ६ वर्षभित्रमा नेपालमा पाइने बाघको संख्या दोब्बर बनाउने भने पनि मान्छेका कारण संकटमा परेका बाघ आफ्नै आन्तरिक लडाइको पनि शिकार हुन थालेको पाइएको छ । संरक्षित क्षेत्र र पर्याप्त आहाराको कमीले गर्दा बाघहरु आपसमै लडाइ गर्दै मासिन सक्ने अध्ययनहरुले देखाएका छन् ।

विश्व बाघ दिवसका अवसरमा मंगलवार बाघ गणना २०१३ को राष्ट्रिय प्रतिवेदन २०१४ सार्वजनिक गर्ने क्रममा वन मन्त्रालयका निमित्त सचिव अन्नपूर्ण दासले आपसमा लडेर पनि बाघको संख्या घट्ने सम्भावना औंल्याए । ‘मानव र वन्यजन्तुबीको द्दन्द्द मात्र बाघ संरक्षणको समस्या होइन’ दासले भने-‘आहार र आरक्षको कमीले गर्दा आपसमै लडेर पनि घट्ने सम्भावना देखिएको छ’ ।

उनले संरक्षण क्षेत्र नबढाउने हो भने बाघ राख्ने ठाउँ नहुने बताए । ‘बाघको संख्या उत्साहप्रद रुपमा बढेको छ, सन् २०२०/२१ भन्दा अघिनै अहिलेको भन्दा दोब्बर संख्या हुने देखिन्छ’ उनले भने ‘तर संरक्षण क्षेत्र नबढाउने हो भने बाघलाई कहाँ लगेर राख्ने ?’ । बाघको एक ठाउँबाट अर्को ठाउँ हिड्ने कोरिडर जोड्नुपर्ने विज्ञहरुले पनि बताएका छन् ।

बढिमा २३५ बाघ

हाल नेपालमा १ सय ९८ ओटा बाघ रहेका छन् । तर यो संख्यामा बच्चालाई नजोडिएका कारण संख्या कम्तिमा १६३ देखि बढिमा २३५ सम्म रहेको पछिल्लो अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वमै लोप हुँदै गएको बाघ सबैभन्दा बढि पाइने देश नेपालनै हो । नेपालका बाघ आहार खोज्ने क्रममा भारतीय क्षेत्रमा पनि जाने गरेका छन् ।

पछिल्लो पटक नेपालका दुई नयाँ ठाउँमा पनि बाघ देखिएका छन् । हालसम्म बाघ नपाइने दाङ र कपिलबस्तुमा बाघ भेटिएको विश्व वन्यजन्तु कोषका कार्यक्रम निर्देशक डा. घनश्याम गुरुङले बताए । करीव ४ लाख डलर खर्च गरेर बाघ गणना गरिएको थियो । सबैभन्दा धेरै बाघ बर्दिया राष्ट्रिय निकुन्जमा भेटिएका छन् । बाघको आहाराका लागि बर्दिया, शुक्लाफाँटा र चितवन राष्ट्रि निकुञ्ज सबैभन्दा उपयुक्त पाइएका छन् ।

कसरी गणना हुन्छ बाघको ?

बाघ भेटिनसक्ने सम्भाव्य स्थानमा स्वचालित क्यामेरा लागतार १५ दिनसम्म राखेर दुवैतिरबाट खिचिएका तस्वीरहरु विश्लेषण गरि एउटा बाघको संख्या पत्ता लगाइन्छ । यस बिधि अनुसार बाघ हिड्ने बाटोमा बाघको देब्रे र दाहिने दुवैतर्फ स्वाचालित क्यामेरा राखिएको गणनामा सहभागीहरुले बताए । बाघ त्यो बाटो हिड्ने बित्तिकै स्वचालित क्यामेराले आफैं फोटो खिच्छ ।

यसरी खिचिएका सबै फोटो जम्मा गरेर प्रत्यके बाघको शरीरमा हुने पाटाहरु अर्को बाघसँग नमिल्ने हुनाले बाघको शरीरमा भएका पाटाका आधारमा फोटो छुट्याएर बाघको संख्या यकिन गरिन्छ । यसमा बाघका बच्चा अर्थात डमरुको संख्या राखिएको हुदैन । किनकी डमरुको मृत्युदर धेरै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment