Comments Add Comment

मोदीको भ्रमणबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइयो

१४ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक डाकेको छ । बुधबार बस्ने भनिएको तीन दलको बैठक स्थगित गरेर सरकारले बिहीबार विहान सर्वदलीय बैठक डाकेको हो ।

यसैवीच भारतसँग गर्न लागिएको उर्जा व्यापार सम्झौता (पीपीए)को मस्यौदा तयार पार्न गठन गरिएको तीन सदस्यीय कार्यदलले बुधबार मस्यौदा तयार पार्न नसकेपछि विहीबार यसलाई अन्तिम रुप दिने जनाएको छ ।

बालुवाटारमा मंगलबार बसेको तीन दलको बैठकले पीपीएको मस्यौदा तयार पार्न तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा कांग्रेसका तर्फबाट अर्थमन्त्री डा. रामशरण महत, एमालेका तर्फबाट भीम रावल र एमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

बुधबार दिउँसो कार्यदलको बैठक बसे पनि मस्यौदाबारे टुंगो नलागेकाले विहीबार पुनः बैठक बस्ने नेताहरुले जनाएका छन् । कार्यदलले जलविद्युत सम्झौतालाई छुट्टयाएर विद्युत व्यापारका विषयमा मात्रै सम्झौतापत्र तयार पार्ने बताइएको छ ।

यसैवीच मोदीको भ्रमणपूर्व माथिल्लो कर्णालीका विषयमा समेत सम्झौता गर्नका लागि लगानी बोर्डले छलफल अघि बढाएको छ । बुधबार माथिल्लो कर्णालीबारे बोर्डले माओवादी नेतासँग समेत छलफल गरेको छ । माओवादी र एमाओवादी लगायतका दलहरुले माथिल्लो कर्णाली आयोजना भारतलाई दिन नहुने बताउँदै आएका छन् ।

तीन दलीय कार्यदलले पीपीएको मस्यौदा तयार पार्न नसकेपछि बुधबार बस्ने भनिएको तीन दलको बैठक बस्न सकेन । विहीबार विहान बस्ने सर्वदलीय बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनका क्रममा गरिने सहमति र सम्झौताबारे सहमति जुटाउने स्रोतको दाबी छ । भारतीय प्रधानमन्त्री मोदी आइतबार बिहान १० बजे नेपाल आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment