Comments Add Comment

सभामुख महोदय, मायाप्रेमले बर्बाद पार्‍यो !

१६ साउन, काठमाडौं । ‘सभामुख महोदय, यो मायाप्रेम र लभले धेरै युवायुवतीको जीन्दगी बिगार्‍यो, यस्तो विकृति रोक्न पनि विधेयकमा केही व्यवस्था गर्नुपर्‍यो’ सभासद जीवनकुमारी घिमिरेले शुक्रवार व्यवस्थापिका संसदमा यस्तो माग राखिन् ।

Bamdev-Gautemगृहमन्त्री वामदेव गौतमले सामाजिक व्यवहार सुधार ऐनमा संशोधनका लागि विधेयक पेश गरेपछि त्यसमाथि भएको सामान्य छलफलमा भाग लिने सभासदहरुले यस्तै-यस्तै धारणा प्रकट गरे । नेपालमा ३८ वर्षपछि यो ऐनमा संशोधन हुँदैछ ।

पञ्चायतकालमा बनेको सामाजिक सुधार ऐनका धेरै प्रावधान अहिले काम नलाग्ने भइसकेका छन् । बिहे, पास्नी, ब्रतबन्ध जस्ता सामाजिक संस्कारहरुमा कतिसम्म खर्च गर्न पाउने भन्ने त्योबेलाको ऐनमा व्यवस्था भएको थियो । ‘तर अहिले त बर्थडे र डेटिङ, सेटिङमा समेत भड्किलो शैली भित्रिएर बिकृति बढेको छ, यस्तो विकृति रोक्ने गरी ऐन बनाउनुपर्छ’ सभासद घिमिरले भनिन् । उनलेजस्तै अधिकांश सभासदहरुले पश्चिमा संस्कृतिले समाजलाई छाडा बनाउदै लगेको भन्दै चिन्ता व्यक्त गरे ।

सभासद कमलाकुमारी घिमिरेले विधेयक बिहे, दाइजो तिलकमा केन्दि्रत देखिएको भन्दै बिभिन्न चाडपर्वका नाममा हुने भड्किलो र खर्चिलो शैली रोक्ने प्रावधान थपिनुपर्ने बताइन् । ‘तीजको दर खाने नाममा लाखौं पैसा र मदिराको खोलो बगाउन थालिएको छ’ उनले भनिन् ।

सभासद गुरु बुर्लाकोटीले दाइजो र तिलक नाम नराखी छोरीलाई बाबुआमाले सम्पत्ति दिन पाउने प्रावधान हुनुपर्ने बताए । ‘दाइजो तिलक भन्ने शब्दको साटो अरु केही राखौं, तर बाबुआमाले छोरीलाई बिहे गरेर पठाउँदा सम्पत्ति दिन सक्छन् भने रोक्न हुँदैन’ बुर्लाकोटीले भने ।

तराई मधेशका सभासदहरुले भने बिहेमा दाइजो, तिलक प्रतिबन्ध लगाउने मात्र होइन, ठूलो आवाजमा बाजा बचाउनसमेत प्रतिबन्ध लगाउनुपर्ने बताए । सभासद रामचन्द्र साह तेली, आशा यादव, रञ्जना सरकारलगायतले मधेशमा ध्वनी प्रदूषण हुने गरी बाजा बजाउने विकृति भित्रिएको बताए ।

naya-niyam

‘ध्वनी प्रदूषणका कारण कतिपय रोगीको हृदयघातका कारण मृत्यु भएको छ’ सभासद साहले भने ‘बाजा बजाए पनि छिमेकीलाई असर नपर्ने गरी साउण्ड बक्स नराख्न ऐनमै व्यवस्था हुनुपर्छ’ । सभासदले ऐनमा सजायँ कडा राखिनुपर्ने बताए । नेमकिपाकी अनुराधा थापामगरले पनि बिहेमा हुने ध्वनी प्रदुषण रोक्नुपर्ने बताइन् ।

गृहमन्त्री आफैं दाइजो थाप्ने ससुरा

गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको सामाजिक सुधारसम्बन्धी विधेयकमाथि सभासदहरुले चर्काचर्की बहस गर्दै उनलाई धन्यवाद दिए । तर, दाइजोमाथि प्रतिबन्ध लगाउन खोज्ने गृहमन्त्री गौतम स्वयंले आफ्नो एकमात्र छोराको विवाहमा बुहारीको माइतीबाट सुनचाँदी र अचल सम्पत्ति लिएको प्रमाण यतिबेला मन्त्रालयभित्र सुरक्षित छ ।

मन्त्री गौतमले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरण अनुसार काठमाडौंको साङ्ला गासिवसमा रहेको १ रोपनी जग्गा ‘बुहारीलाई माइतीतर्फबाट दिएको’, ‘बुहारीको पेवा’ एवं ‘पैसा नपरेको’ आदि उल्लेख छ । साथै गौतमले आफ्नो सम्पत्ति विवरणमा बुहारीको विवाहमा २५ तोला सुन प्राप्त भएको उल्लेख गरेका छन् ।

व्यवस्थापिका संसदमा छलफल गरिएको सामाजिक व्यवहार सुधार ऐनमा दाइजो लिन नहुने उल्लेख छ । त्यसरी दाइजो लिइएमा बिगो जफत गरी जरिवाना र कैदसमेत हुने भनिएको छ ।

मन्त्री गौतमले यस्तो विधेयक ल्याउनुभन्दा अघि पनि दाइजो, तिलक आदिमाथि प्रतिबन्ध लगाउने सामाजिक व्यवहार सुधार ऐन २०३३ अस्थित्वमा थियो । तर, उक्त ऐनलाई ठूलाबडाहरुले नै उल्लंघन गर्दै दाइजो लिने दिने गरेका थिए ।

व्यवस्थापिका संसदमा शुक्रबार भएको छलफलमा बोल्ने सभासदहरुले ठूलाबडाहरुबाटै भड्किलो व्यवहार गर्ने र विवाह आदिमा भड्किलो व्यवहार हुने गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment