Comments Add Comment

कुष्ठरोगी महिला दुई वर्षदेखि घरबाहिरै

१७ साउन, बर्दिया । एकाबिहानै घस्रेर धारामा मुख धुन पुगेकी सोनपतिया थारुले आफ्नै जीवनसँग गुनासो गरिन् । तीन वर्षअघि जिन्दगीदेखि हरेस खाएर उनले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । ‘तर, समय नआई कालले लैजाँदो रहेनछ,’ उनले भनिन् ‘अरु सबैलाई काल आउँछ, मलाई विष खाँदा पनि काल आएन, यति दुःख काटेर म बाँच्नुभन्दा मर्नु नै बेस ।’
मगरागार्डी-२ पत्थरडाँडामा गाउँको एक छेउमा बस्ने सोनपतिया थारु कुष्ठरोगी हुन् । कुष्ठरोग लागेकी कारण दुई वर्षअघि उनी घरबाट निकालिइन् । रोग सर्ने डरले छोराबुहारीले घर निकाला गरेको उनको भनाई छ । उमेरले ६२ औ वसन्त पार गरेकी सोनपतियाको कुष्ठरोगकै कारण हातखुट्टाले काम गर्दैनन् । अहिले उनी भिख मागेर खान बाध्य भएको नयाँ पत्रिकामा खबर छ ।
घरनिकाला भएपछि उनी माइतीको शरणमा छिन् । उनले भनिन् ‘बुहारीले मलाई घरमा खाना खान पनि दिइनन्, काम गर्न मात्र लगाउँथिन् । खान लागेको खानामा समेत खरानी हालिदिने गर्थिन ।’ छोराबुहारीले घरनिकाला गरेपछि दाजु बहादुर थारुले बस्नका लागि दिएको ऐलानी जग्गामा सानो घर बनाएर श्रीमानसँग बस्दै आएको पीडित सोनपतियाले बताइन् । उनी अहिले घस्रँदै गाउँमा गएर भिख माग्ने गरेकी छन् ।
२ छोरी र १ छोरामी आमा सोनपतियाका श्रीमान सुस्तमनस्थितिका छन् । जेठी छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी नेपालगन्जमा एक गैर सरकारी संस्थाको सहयोगमा प्राविधिक शिक्षा पढ्दैछिन् । छोरा अमितले भने आमा आफ्नै खुसीले छुट्टै बसेको दावी गरे । उनले भने ‘म काम गर्न जान्थेँ, घरमा आमा र श्रीमती सँधै झगडा गरिरहन्थे । त्यही भएर आमा र बुवा छुट्टै बस्नुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment