Comments Add Comment

संघीयताबारे आफ्नै सदस्यसँग ओलीको छलफल

KP oli

४ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य पुनसंरचना र पार्टी संगठन सन्चालनका सन्दर्भमा पार्टीभित्र एकमत बनाउन छलफल थालेका छन् । केन्द्रीय कमिटीको दोस्रो बैठक कुनै पनि निर्णय गर्न नसकी टुंगिएपछि ओलीले केन्द्रीय सदस्यहरुसँग समूहगत छलफल थालेका हुन् ।
केन्द्रीय सदस्यहरुको समूह बनाएर उनीहरुका धारणा बुझ्ने प्रक्रिया शुरु गरेको स्रोतले जनाएको छ । विशेष गरि राज्य पुनसंरचनामा पार्टीभित्र समान धारणा बनाउन केन्द्रीय सदस्यहरुको राय बुझ्न खोजिएका ओली निकट स्रोतले जनाएको छ ।
एकल जातीय हुदैन

एमालेका अधिकांश केन्द्रीय सदस्यहरुले धेरै संघीय राज्य नबनाउन र एकल जातीय आधारमा राज्य पुनसंरचना गर्न नहुने राय दिएको स्रोतले जनाएको छ । हिमाल, पहाड र तराइलाई मिलाएर राज्यपुनसंरचना गर्न सुझाव दिइएको केन्द्रीय सदस्य तथा सभासद यज्ञराज सुनुवारले बताए ।
अध्यक्ष ओलीलाई राज्यपुनसंरचना बारे स्पष्ट हुन अर्का नेता माधवकुमार नेपालले आग्रह गरे लगत्तै ओलीले केन्द्रीय सदस्यहरुसँग छलफल थालेका हुन् । ओली बढिमा ५ देखि ७ प्रदेशको पक्षमा छन् ।

जनजाति र मधेशी नेता के भन्छन् ?
एमालेका अधिकांश जनजाति र मधेशी केन्द्रीय सदस्यहरुले पनि राज्य पुनसंरचना एकल जातीय आधारमा होइन बहुपहिचानका आधारमा हुनुपर्ने राय दिएको केन्द्रीय सदस्य एबम् सभासद पार्वत गुरुङले बताए ।

गुरुङले अनलाइनखबरसँग भने-संख्या कति बनाउने भन्ने कुरा दलहरुबीच छलफलबाट टुंगो लगाउनुपर्छ तर राज्य पुनसंरचना पहिचान र सामाथ्र्यका आधारमा हुनुपर्छ, एकल जातीय पहिचान हुदैन ।

अधिकांश केन्द्रीय सदस्यहरुले उत्तरमा चीन र दक्षिणमा भारत दुवै देशलाई छुने गरि संघीय राज्यहरु निर्माण गर्नुपर्नेमा नेतृत्वलाई सुझाएका छन् । नत्र युक्रेनबाट क्रिमिया छुट्टएि जस्तो अवस्था आउन सक्ने उनीहरुको आशंका छ ।

‘हाम्रो भौगोलिक अवस्थितीले पनि चीन र भारत दुवैको सिमाना जोडिने गरि संघीय राज्य बनाउनुपर्ने अवस्था छ, नत्र रसियासँगमात्र जोडिएको क्रिमिया जस्तो अवस्था आउन सक्छ’ केन्द्रीय सदस्य माधव ढुंगेलले भने ‘हामीले अध्यक्षलाई यसमा स्पष्ट ढंगले बुझाएका छौं’ ।

राज्य पुनसंरचनाबारे एमालेको धारणा स्पष्ट नभएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले ५/७ प्रदेशमा सहमति नहुने जनाए लगत्तै ओलीले पार्टीको धारणा बनाउन खोजेका हुन् ।

डाडूनै नचाट्नुस

केन्द्रीय सदस्यहरुले ओलीलाई पार्टी सन्चालन गर्दा योग्यता, क्षमता, व्यक्तिको रुची र जनाधार बुझेर कामको जिम्मा दिन आग्रह गरेका छन् । उनीहरुले गुटका सबै आधार भत्काउन पनि उनलाई सुझाव दिएका छन् ।

मंगलवारको छलफलमा नारायणी अन्चल इन्चार्ज बिरोध खतिवडाले ओलीलाई रमाइलो सुझाव दिए । ओली जस्तै ठट्यौलो स्वभावका खतिवडाले भने -पार्टीमा तपाइले डाडु पुन्यू चलाएपछि अलिकति बढि राख्नुपर्छ, तर डाडूनै चाट्नेतिर चाहि नलाग्नुस ।

उनको भनाइ थियो-२ जनाले अवसर पाउने भए भने आफ्नो एक र माधव नेपालको एकजना राख्नुस, ३ जना पठाउने अवस्थामा आफ्ना दुई राख्नुस तर एकलौटी नगर्नुस । खतिवडा नेपाल पक्षबाट निर्वाचित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment