Comments Add Comment

मन्त्रीलाई प्रधानमन्त्रीको पत्र- नेपालगञ्ज मुकाम बनाई राहत बाँड्नु

११ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले बाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापालाई पत्र लेखेर नेपालगञ्जमा मुकाम बनाई बाढीपीडितको उद्धार र राहत वितरणमा खट्न निर्देशन दिएका छन् ।

‘नेपालगञ्ज मुकाम बनाई कार्यसम्पादन गर्न तपाईलाई खटाएको छु’ प्रधानमन्त्री कोइरालाले मन्त्री थापालाई पत्रमा भनेका छन्-‘आफूले सम्पादन गरेका कामको नियमित प्रतिवेदन मलाई दिनुहुनेछ । तपाईले जिल्लास्थित सबै सार्वजनिक निकाय र ती निकायसँग भएका सबै साधन स्रोत, उद्धार, राहत तथा तत्काल पुनर्लाभ कार्यमा परिचलन गर्नुहुनेछ ।’

मध्यपश्चिमाञ्चल विकास क्षेत्रका बाँके, बर्दिया सुर्खेत र दाङ जिल्ला आएको बाढी पहिरोबाट प्रभावित पीडितको उद्धारका लागि प्रधानमन्त्रीले मन्त्री थापालाई नेपालगञ्जमा मुकाम बनाई काम गर्न खटाएका हुन् । जनतालाई वितरण गरिएको र गरिने राहत सामाग्री गरीब र विपन्नसमक्ष पुर्‍याउनुका साथै न्यायोचित वितरण गर्न कोइरालाले मन्त्री थापालाई निर्देशन दिएका छन् ।

Susil-latter

मन्त्री थापा विहीबार नेपालञ्ज जाने

यसैवीच प्रधानमन्त्री कोइरालाले नेपालगञ्जमा मुकाम बनाई काम गर्न निर्देशन दिएपछि आपूर्तिमन्त्री थापा विहीबारै नेपालगञ्ज जाने भएका छन् । मन्त्री थापाले बुधबार आफ्नो मन्त्राललयमा आयोजना गरेको बैठकमा आफू विहीबार नेपालगञ्ज जान लागेको बताएका हुन् ।

मन्त्री थापाले बाढी पीडित चार जिल्लामा अस्थायी चिकित्सकको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । साथै मन्त्री थापाले राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न विभिन्न गैरसरकारी संस्थालाई आग्रहसमेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

पुनःस्थापना र पुनर्निर्माणलाई गति दिन निर्देशन

यसैबीच नेपाली सेनाले देशको विभिन्न भागमा गएको पहिरोपछि नेपाली सेनाले राहत र उद्वार कार्यबारे प्रधानमन्त्री कोइरालालाई ब्रिफिङ गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा युद्धकार्य महानिर्दशक भिक्टर समशेर जबराले सिन्धपाल्चोकको राम्चेमा गएको पहिरोले सिर्जित विनासमा परेकाको उद्धारबाट शुरु भएको उद्वार र राहत कार्यक्रम मध्यपश्चिमाञ्चल पुगेको र त्यसमा भएको प्रगति र गर्नुपर्ने कामको विवरण प्रस्तुत गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले प्राकृतिक प्रकोपबाट बच्नका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन उपाय र कार्यक्रम तयार गर्न निर्देशन दिएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । कोइरालाले बाढी पहिरो पीडितहरुको तात्कालिन बन्दोबस्तका लागि थालिएको राहत वितरण कार्यलाई अझ गति दिदै पुनःस्थापना र पुनर्निर्माणको काम तीव्र बनाउन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment