Comments Add Comment

संसद अवरुद्ध नगर्न विपक्षीलाई प्रधानमन्त्रीको आग्रह

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले उच्चस्तरीय राजनीतिक समिति गठनलाई दिएर संसद अवरुद्ध नगर्न विपक्षीलाई आग्रह गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले भने-संसद् अवरुद्व गर्न हुँदैन त्यसले संविधान निर्माणलाई बाधा पुर्‍याउँछ । अपजस उहाँहरुमाथि -प्रतिपक्षी दल) जान्छ । मैले माओवादीका अध्यक्ष प्रचण्डसँग अनुरोध गरेको छु कि यस्तो नगरौँ ।’

चारबुँदे सहमति अनुसार राजनीतिक समिति गठनको माग गर्दै एमाओवादीसहितका विपक्षी दलहरुले शुक्रबार संसद बैठक अवरुद्ध गरेको थियो ।

प्रधानमन्त्री कोइरालाले शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको भन्दै वार्ताका माध्यमबाट किन समाधान गर्न सकिँदैन भन्ने प्रश्न गरे । उनले भने-‘त्यसैले म आग्रह गर्छु, संसद्मा व्यवधान गर्नुहुँदैन, यसबारेमा मेरो उहाँहरुसँग कुरा भइरहेको छ ।’

उनले संविधान लेखनको महत्वपूर्ण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न सबैलाई साथै लिएर जान र विपक्षी दलबाट भएको मागमा छलफल गरेर निकास निकाल्न आफू प्रतिबद्ध रहेको बताए ।

राजनीतिक समितिको मागबारे सोधिएको एक प्रश्नमा प्रधानमन्त्री कोइरालाले भने-‘निकास त दिनुपर्छ, यसैमा हामी अल्झेर बसिराख्न हुँदैन, छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई लिएर जानुपर्छ ।’

नियमित सबै काम गरिराखेको छु

प्रधानमन्त्री कोइरालाले आफू ठिक भएको र नियमित काम गरिरहेको बताए । पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम र धपेडी नगर्नुस् भन्ने सल्लाह र सुझाव हुँदाहुँदै पनि मन्त्रिपरिषद्को बैठक, विभिन्न कार्यक्रम र भेटघाटलाई नियमितता दिएको उनले बताए ।

उनले भने-‘यस्तो थेरापी लिएको मानिसले बिरलै आफ्नो काम यसरी निर्वाह गरिराखेको हुन्छ तर मलाई त एकदम ठीक छ ।’

दैवी प्रकोप उद्वार कोषमा सहयोग

कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा प्रधानमन्त्रीको स्वकीय सचिवालय, रासस, राधेराधे समूहले सहयोग गरेका छन ।

कोइरालाका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमले प्रधानमन्त्रीको स्वकीय सचिवालय र सल्लाहकार समूहबाट संकलन गरिएको ८३ हजार ५ सय ५१ रुपैयाँको चेक हस्तान्तरण गरे । प्रधानमन्त्रीको स्वकीय सचिवालय र सल्लाहकार समूहले स्वेच्छिक रुपमा ५ दिनको पारिश्रमिक दिएका हुन् ।

यस्तै राष्ट्रिय समाचार समितिमा कार्यरत कर्मचारीहरुले संकलन गरेको २५ हजार १ रुपैयाँ र राधेराधे समूहले १० लाख ९ सय ९९ रुपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment