Comments Add Comment

एमाओवादी बिग्रेको गाडीजस्तै भयो : प्रचण्ड

  • संघीय गणतान्त्रिक मोर्चाले गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्ड । तस्वीरः सुदर्शन रन्जित/अनलाइनखबर

१४ भदौ, पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई बिग्रेको गाडीसँग तुलना गरेका छन् । गाडी बिग्रेपछि भट्टराई पक्षले नयाँ गाडी खोज्न थालेको र वैद्य पक्षले पैदल हिँड्न खोजेको प्रचण्डले सांकेतिक अभिव्यक्ति दिएका छन् ।

शनिबार पोखरा पुगेका प्रचण्डले पहिचानसहितको संघीय संविधान नबन्ने अवस्था आए शान्तिपूर्ण जनक्रान्ति गर्ने चेतावनीसमेत दिएका छन् । प्रचण्डले पोखरामा गणतान्त्रिक मोर्चाको कास्की जिल्ला शाखाले आयोजना गरेको संघीयतासम्बन्धी अन्तरक्रियामा मन्तव्य व्यक्त गरेका थिए । साथै उनले कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई आन्तरिक सम्बोधनसमेत गर्न भ्याए ।

कार्यकर्ता चम्कने र तन्कने नगरौं, माथि मिलेर अघि बढिन्छ । तपाईहरु जिल्लामा मिलेर अघि बढनुहोस्, माथि हामी पनि मिलेर अघि जान्छौं

प्रचण्डले आफ्नो पार्टी बिग्रेको गाडीजस्तै भएको बताए । ‘हाम्रो पार्टी अहिले बिग्रेको गाडीजस्तै भएको छ, बल्लबल्ल बनायो, फेरि रोकिन्छ’, उनले भने- ‘कोही, नयाँ खोज्न थाल्छन्, कोही हिँड्न खोज्छन्, अब नबिग्रने गरी गाडी बनाएर अघि बढ्नुपर्ने हुन्छ ।’

प्रचण्डले कास्कीमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफुले पनि सक्दो पहल गर्ने बताए । प्रशिक्षणमा बाबुराम भट्टराई पक्षका कार्यकर्ताहरु पनि सहभागी थिए । केही दिनअघि भने संस्थापन र भट्टराई पक्षले छुट्टाछुट्टै प्रशिक्षण गरेका थिए ।

चम्किने र तन्किने काम नगर्नोस्

पार्टी पूरै बिगि्रई नसकेको भन्दै प्रचण्डले कार्यकर्तालाई अनावश्यकरुपमा चम्किने र तन्किने काम नगर्न निर्देशन दिएका छन् । बाहिर हल्ला भएजस्तो पार्टी नबिगि्रइसकेको बताउँदै केन्द्रदेखि तलसम्म नेता कार्यकर्ता मिलेर अघि बढ्नुपर्ने उनले बताए । उनले पार्टी नेतृत्व पनि मिलेर अघि बढ्ने बताए ।

‘कार्यकर्ता चम्कने र तन्कने नगरौं, माथि मिलेर अघि बढिन्छ’ बाबुराम पक्षधर कार्यकर्तालाई संकेत गर्दै प्रचण्डले भने ‘तपाईहरु जिल्लामा मिलेर अघि बढनुहोस्, माथि हामी पनि मिलेर अघि जान्छौं ।’ आगामी असोज १ गतेबाट शुरु हुने केन्द्रीय समितिको बैठकले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने उनले दाबी गरे ।

पहिचानसहितको संविधान नआए जनक्रान्ति

गणतान्त्रिक मोर्चा कास्कीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले पहिचानसहितको संघीय संविधान बन्ने वातावरण सिर्जना नभए जनक्रान्तिमा उत्रने चेतावनी दिएका छन् ।

उत्पीडित जातजातिका अधिकार तथा पहिचान संविधानमा उल्लेख नभए सदन र सडकबाट आन्दोलन चर्काउने जनाउ दिँदै उनले भने- ‘संविधानमा पहिचान र परिवर्तन समेट्नुपर्छ तर अहिले सत्ता पक्षले त्यो बातावरण बनाएका छैनन् । सहज तवरले मुद्दा नसमेटिएमा शान्तिपूर्ण जनक्रान्तिबाटै अधिकार सुनिश्चित गरिनेछ ।’

हाम्रो पार्टी अहिले बिग्रेको गाडीजस्तै भएको छ, बल्लबल्ल बनायो, फेरि रोकिन्छ । कोही, नयाँ खोज्न थाल्छन्, कोही हिँड्न खोज्छन्, हामी नबिग्रने गरी गाडी बनाएर अघि बढ्नुपर्ने हुन्छ- प्रचण्ड

पहिलो संविधानसभामा सहमतिबाटै संविधान ल्याउने प्रयास गर्दा पनि सफल नभएको बताउँदै प्रचण्डले अब भने चुप लागेर नबस्ने बताए । ‘संविधानमा देशका उत्पीडित जनताको अधिकार समेट्न धेरै प्रयास गरिनेछ’ उनले आक्रोशित हुदै भनेे, ‘सदनमा हामीले अधिकारका लागि आवाज उठाउँछौं, तपाई जनताहरु पनि सडकमा आउनुपर्ने हुन सक्छ ।’

पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान समेट्नको संकल्प अभियान शुरु भएको उनले बताए । जनताको अधिकार समेट्नका लागि संविधानसभाको अंकगणित ठूलो नभएको भन्दै सहमतिमै आदिवासी जनजाति, मधेसी, दलित, महिलालगायतको अधिकार संविधानमा उल्लेख गर्नुपर्ने उनले बताए ।

बहुमत जनताको माग पहिचानसहितको संविधान भएको भन्दै प्रचण्डले नेपाली कांग्रेस र एमालेका नेतालाई सदनको अंकगणितको धाक नलगाउन चेतावनी दिए । ‘कांग्रेसका नेताहरु संविधान ४ वर्षमा बनाए पनि हुन्छ भन्छन्, एमालेका नेताले कार्यतालिका सकिए केही हुन्न भन्छन्’ प्रचण्डले भने, ‘हामीले पहिचानसहितको संविधान तोकिएको माघ ८ भित्रै जारी गर्नुपर्छ भनेका छौं,’ प्रचण्डले भने, ‘अब तपाई जनताले पनि तलबाट दबाव दिनुपर्छ ।’

गोष्ठीमा बोल्दै प्रचण्डले संविधानसभाको निर्वाचनपछि मुख्य पार्टीहरुवीच सम्पन्न ४ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुनुपने बताए । ‘उच्चस्तरीय राजनीतिक समिति गठन मात्रै होइन, त्यहाँ सत्य निरुपण आयोग बन्ने कुरा पनि थियो,’ प्रचण्डले भने, ‘सत्तापक्षले समितिको मात्रै कुरा गरेर त्यहाँ भित्रका गम्भीर विषयलाई छायाँमा पारेको छ ।’

कार्यक्रममा संघीय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले पहिचानसहितको संघीयताको लागि सडक आन्दोलनमा उत्रनुपर्ने बताए । त्यस्तै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेता वीरेन्द्रलाल नेपाली श्रेष्ठले पहिचान र परिवर्तनका लागि प्रचण्डले खुट्टा नकमाई अघि बढ्नुपर्ने बताए ।

– पत्रकार महेशकुमार खातीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment