Comments Add Comment

नेपालमा बिदेशीको जासुसी जालोबारे बेलायती पत्रकारको खुलासा

यो निश्चित हो कि काठमाण्डौ जासुसहरुको गुँड हो । दक्षिण कोरियाली र जापानीहरुले उत्तर कोरियालीको निगरानी गर्छन् । उत्तर कोरियाली दूतावास निकै गरीब छ र दूतावास सञ्चालनको खर्च धान्नका लागि एउटा रेष्टुरेन्ट (प्योङयाङ) चलाएको छ । उक्त रेष्टुरेन्टका म्यानेजर अलिकति भए पनि पैसा बचाउनका लागि न्युरोडको दक्षिणपट्टि रहेको बजारमा कागती र आँप किन्न जाँदा उसको पिछा गर्छन् ।

thomas-bell
बेलायती पत्रकार थोमस बेल

उत्तर कोरियालीहरुले आफ्नै देशबाट ल्याएको भियग्रा बेचेर समेत पैसा कमाउँछन् । र, यो व्यवसाय निक्कै फापेको पनि छ, नेपालीहरुकै भनाइमा ।

चिनियाँहरु तिब्बती शरणार्थीको निगरानी गर्नका लागि काठमाण्डौमा बस्छन् । चिनियाँले स्वयंसेवी शिक्षण, भाषा इन्स्टिच्युट, एनजीओ, रेष्टुरेन्ट तथा साना व्यवसाय आदि नाममा ठूलो सञ्जाल विस्तार गरेका छन् । उनीहरुले तिब्बती शरणार्थीभित्रै आफ्ना एजेन्ट स्थापित गरेका छन्, उनीहरु नेपाल आउनुअगावैबाट । बौद्ध लगायतका शरणार्थी जम्मा हुने क्षेत्रमा चीनका निगरानी कर्ता तथा सूचना प्रदायकहरुले भरिएको हुन्छ ।

भारतीय गुप्तचर एजेन्सी ‘रअ’ले धेरैथरि कार्यालयहरु सञ्चालन गरेको छ । पाकिस्तानी आइएसआइले भारतमा नक्कली नोट प्रवाह गर्नका लागि नेपालको प्रयोग गरेको छ । काठमाण्डौस्थित पाकिस्तानी कूटनीतिज्ञका आवासमा विष्फोटक पदार्थ पाइएका छन् भने सन् १९९९ मा काठमाण्डौबाट भारतीय एयरलाइन्सको विमान अपहरण हुँदासमेत पाकिस्तानी कुटनीतिज्ञहरुमाथि आरोप लागेको थियो । तर, ‘रअ’ले मुख्यतया नेपाली राजनीतिक दलभित्र घुस्ने तथा आफ्नो एजेण्डा लाद्ने काममै आफुलाई केन्द्रित गरेको छ ।

‘रअ’ कुनै सामान्य गुप्तचर एजेन्सी होइन । एकजना पश्चिमा गुप्तचर अधिकारी भन्छन्, ‘यसले गुप्तचरी गर्दैन, राजनीतिक हस्तक्षेप गर्दछ ।’

रेष्टुरेन्ट तथा कफी सप, जहाँ कुटनीतिज्ञहरुले आफ्नो काम गर्छन्, त्यसलाई घरेलु निगरानीमा राखिन्छ । तर, त्यहाँ को नेपालीले कुनसँग कुरा गरिरहेको छ भन्ने कुराको मात्र निगरानी हुन्छ । नेपालले विदेशी सरकारको गम्भीर जासुसी गरेको देखिँदैन । नेपालीहरुले नै एक अर्काको तिब्र रुपमा जासुसी गरिरहेका हुन्छन् ।

नेपालको अनुसन्धान विभागका आधाभन्दा बढी कर्मचारीहरुले अहिले पनि विपक्षी राजनीतिक दलका गतिविधिहरुबारे सरकारलाई जासुसी गर्नमै परिचालित भएका छन् । यो गुप्तचर निकायमा अधिकांश राजनीतिक नियुक्तिका मान्छे भएको हुँदा र सरकार पनि छिटोछिटो परिवर्तन हुने हुँदा जासुस अधिकारीहरुले व्यक्तिगत मूल्यांकनको जटिल परिदृश्य सिर्जना गर्छन् ।

मैले एकजना अनुसन्धान विभागका अधिकारीलाई ठमेलको इटालियन रेष्टुरेन्टमा भेटेँ । उनी मोटा थिए र छोटा औँलामा सुनको औँठी लगाएका थिए, जसमा रंगीन पत्थर थियो । उनीसँग मदिरा पिएर मैले ठट्टा गर्न थालेँ । राजनीतिक दलका घर बाहिर क्यारेमबोर्ड खेलिरहेका युवाहरु पनि कतै तपाईका मान्छे पनि हुन्छन् कि भनेर मैले ठट्टा गरेँ । उनले आफुसँगै आएका एक जुनियर कर्मचारीतर्फ फर्केर सोधे । उसले मलाई एउटा कथा सुनायो ।

एकजना मानिसका बारेमा जसले शिक्षण अस्पतालमा उसको जुत्ता फोहोर हुँदा सफा गरिरहेको बहानामा जासुसी गरिरहेको थियो, जब जासुस गरिएको टार्गेट त्यहाँबाट अन्तै लाग्यो, तब त्यो जुत्ता सफा गरिरहेको पुरुष एउटा जुत्ता लगाएरै मोटरसाइकलमा हुइँकियो । त्यो जुत्ता पालिस गरिरहेको मानिससमेत एक जासूस थियो, जो भारतीयका लागि खटाइने एउटा खास पद नै रहेछ । अहिले पनि त्यस्तै छ । धेरै मानिसहरु एउटै टार्गेटको जासूसी गरिरहेका हुन्छन् । जब त्यो टार्गेट सुत्छ, तब त्यहाँ बँचेका मानिसहरुमा गुप्तचर, नेपाल प्रहरी, सेना, ससस्त्र प्रहरी तथा ‘रअ’का एजेन्ट हुन्छन् ।

नेपाली सेनाले कैदीमाथि कस्तो व्यवहार गर्यो भन्ने कुरा बेलायतलाई जानकारी थियो भन्नेमा कुनै प्रश्न नै उठ्दैन । बेलायती राजदूतले सन् २००२ को सुरुतिर नेपालको सेनाप्रमुख सामु कडा विरोध जनाए, जब ब्रिटिस गोर्खा कल्याणकारी केन्द्रमा आफ्नो बुबाको पेन्सन बुझिरहेको एकजना मानिसलाई सेनाले पक्रेर गोली हान्यो ।

सन् २००३ को अगष्टमा लण्डनमा भएको राजा र बेलायती विदेश मन्त्रीबीचको भेटवार्तामा दोरम्बामा भएको हत्याको विषय उठाइएको थियो । सोही वर्षको डिसेम्बरमा एम्नेष्टी इन्टरनेसनलले अघिल्लो ३ महिनामा काठमाण्डौबाट बेपत्ता पािरएका व्यक्तिको सूचि सार्वजनिक गर्यो । केही दिनपछि राष्ट्रिय मानव अधिकार आयोगले सयौँजना बेपत्ता नागरिकको नाम पत्रपत्रिकामै प्रकाशित गर्यो । सन् २००३ मा भैरवनाथ गणमा भएको यातना तथा बेपत्ता सम्बन्धी राष्ट्रसंघको प्रतिवेदन सन् २००६ को मे महिनामा सार्वजनिक भयो, जतिबेला अपरेसन मुस्ताङ बन्द भएको ५ महिना पुगेको थियो ।

बेलायतको सार्वजनिक भनाइ तथा नेपाली अधिकारीहरुसँगको निजी छलफलका क्रममा मानव अधिकारको संरक्षणमा जोड दिइएको थियो । मानव अधिकार सम्बन्धी गैरसरकारी संस्थालाई आर्थिक सहयोग गरिएको थियो ।
रेडक्रसले सन् २००१ द्येखि २००६ सम्ममा काठमाण्डौ उपत्यकामा १ हजार १ सय २२ जना बन्दी दर्ता गर्यो । तर, तीमध्ये एक तिहाइ भन्दा पनि कमसँग सैनिक ब्यारेकमा गएर भेट्न सक्यो ।

रेडक्रसका अनुसार सन् २०१२ सम्म नेपालभरबाट १४ सय १ जना मानिस बेपत्ता छन् । काठमाण्डौ उपत्यकामै ८० जना बेपत्ता छन् । १७ जना मानिसहरु मारिएको भनिए पनि उनीहरुको कुनै अवशेष प्राप्त नहुँदा पुष्टि हुन सकेको छैन ।

सन् २००४ को अन्त्यतिर राजा ज्ञानेन्द्रले सत्ता हत्याउने कू को योजना बनाइरहेका थिए । सेना र दरबारभित्रका श्रोतहरुबाट एम आइ सिक्सले यो कुराको स्पष्ट संकेत पाएको थियो । आफ्नो उच्च पदस्थ अधिकारीहरुमार्फत बेलायती जासूसहरुले राजालाई यो सन्देश पुर्‍याउने कोसिस गरेका थिए कि यस्तोखालको कू राजतन्त्रकै लागि घातक हुन्छ ।

नोभेम्बर ११ मा हाइ अल्टिच्युड रिसर्च सेन्टर गैरसरकारी संस्थाको रुपमा दर्ता भएपछि अपरेसन मुस्ताङमा एउटा अतिरिक्त तह थपिएको थियो । डिसेम्बरमा बेलायती र अमेरिकी राजदूतहरुले राजा ज्ञानेन्द्रबाटै कू नहुने प्रतिवद्धता व्यक्तिगतरुपमै प्राप्त गरेका थिए । फेब्रुअरी १, २००५ को राजाको कू को समय बेलायतका लागि आश्चर्यकै विषय बनेको छ ।

राजाको कू यस्तो समयमा भयो कि यसले सबैखालका पैठारीमा तहल्का सिर्जना गर्यो । नेपालमा ल्याउनका लागि कैयौँ टन सैनिक सामाग्रीहरु तयारी हालतमा थिए । तर, मित्रराष्ट्रहरुले सैनिक सहयोग रोक्का गरेपछि ती सामाग्री नेपाल आएनन् । केही महिनाभित्रैमा नेपाली सेनामा हातहतियारको कमी हुन थाल्यो । यदि कू गर्नका लागि राजाले केही हप्ता पर्खिएको भए हतियार भएका ट्रक नेपाल आउँथे । एकजना सैनिक जनरलले पश्चाताप मान्दै भनेका छन्, त्यो कू को दिन ज्योतिषहरुले नै तय गरेको शुभ दिन अथवा शुभ समय थियो ।

राजाले सबैको कुरा राम्ररी सुन्न र मनन गर्न सक्ने क्षमता राख्नुपर्नेमा र परिस्थिति बुझ्ने बुद्धिमत्ता राख्नुपर्नेमा त्यसको अभाव भएको ती सैनिक जनरल बताउँछन् ।

एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘दुर्भाग्यवस राजा ज्ञानेन्द्रले राजनीतिक विषय बुझ्न सकेनन् ।’

अर्का सैनिक जनरलले यसलाई सामान्यरुपमा लिँदै भन्छन्, ‘माओवादीसँग राम्रो एजेण्डा थियो ।’

युद्ध राजनीतिक विषय थियो । र, अन्त्यमा भारतले राजनीतिक मामिलालाई व्यवस्थापन गर्न सक्यो ।

(बेलायती पत्रकार थोमस बेलले नेपालको द्वन्द्वबारे लेखेको पुस्तक ‘काठमाण्डौ’को यो पुस्तक अंश हिन्दुस्तान टाइम्सबाट भावानुवाद गरिएको हो । पुस्तक सेप्टेम्बर ४ मा सार्वजनिक हुँदैछ ।)

यो पनि पढ्नुस् :  माओवादीलाई यातना दिन बेलायतले सहयोग गरेको खुलासा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment