Comments Add Comment

पानीबाट सुरु भएको झगडा नक्कली बलात्कारसम्म

१ असोज, काठमाडौं । झगडाका लागि ठूलो कुरा चाँहिदैन, एउटा झिँगाले पनि विश्वयुद्ध मच्चाइदिन सक्छ । जाजरकोटको खलंगामा यस्तै भएको छ । अलिकति पानीका निहुँमा भएको झगडा तेजाब र ‘बलात्कार’सम्म पुगेको छ ।

जाजरकोटका खलंगामा एक युवकले अर्को चिनेका व्यक्तिको मोटरसाइकलको तेल हाल्ने ट्यांकीमा पानी हालिदिए । यही निहुँमा भएको विवादपछि एक व्यक्तिको शरीरमा तेजाब खन्याइयो । तेजाबले जलेका व्यक्तिको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेकै बेला रुकुमकी एक युवतीलाई प्रयोग गरेर बलात्कारको अर्को नाटक रचना गरियो ।

सम्झँदा दन्ते कथाजस्तो लाग्ने यो घटना जाजरकोटको खलंगा -२ स्थित स्याँला भन्ने ठाउँको हो । एक युवतीले आफू बलात्कृत भएको भन्दै एक निर्दोष पुरुषलाई आरोप लगाइन् । आरोपित तिलक सुनार तीन दिन प्रहरी थुनामा बसे । तर, आरोप गलत सावित भएपछि उनी छुटे ।

सामान्य विवादबाट सुरु भएको यो झगडा बलात्कारको आरोप प्रत्यारोपसम्म पुगेको हो । प्रहरीका अनुसार झण्डै एक महिना पहिले अर्जुन सुनार, शिव सुनार र जगत सुनारबीच सामान्य विवाद भएको थियो ।

‘मोटरसाइलकमा पानी हालेर अब यसको बाइक चल्दैन भनेपछि विवाद सुरु भएको एक प्रहरी अधिकारीले भने । तिलकले सुरुमा आफूसँग नभई सुन पसले शिव र उनीकहाँ काम गर्ने अर्जुनबीच विवाद भएको बताए । उनका अनुसार मोटरसाइकलमा पानी हालेको विषयमा शिव, अर्जुन र जगतबीच विवाद भएको थियो ।

पानीको विवाद प्रहरीले मिलायो

मोटर साइकलमा पानी हालेपछि चर्केको झगडा प्रहरीले मिलाएर आइन्दा झगडा नगर्नु भन्दै पठायो । तर, त्यसको केही समयपछि सुन पसले जगत सुनारमाथि तेजाव आक्रमण भयो ।

जगतलाई तत्काल उद्धार गरी काठमाडौं ल्याइएयो । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । तेजाव हालेको आरोपमा अर्जुन सुनार पूर्पक्षका लागि थुनामा छन् । सोही आरोपमा थुनिएका तिलक साधारण तारेखमा छुटे । तेजाब खन्याइएका जगत र तारेखमा छुटेका तिलक नाताले काका-भतिज हुन् ।

युवतीको प्रयोग र बलात्कारको नाटक

तेजाव आक्रमणमा तिलक समेत मुख्य योजनाकार भएको भन्दै प्रतिशोध साँध्न अर्को समूहले एक युवतीलाई परिचालन गर्‍यो । ती युवतीले आफूमाथि तिलकले बलात्कार गरेको आरोप लगाइन् । तर, सो आरोप प्रमाणित भएन ।

बलात्कारको नाटक गर्ने योजना शिव, रविन सुनारसहितको समूहले बनाएको तिलकको आरोप छ । ‘मेरो इज्जतमा दाग लगाउने काम भयो’ उनले भनेका छन् । जाजरकोट प्रहरीले पनि तिलक निर्दोष रहेको पुष्टि गरेको छ ।

प्रहरीका अनुसार रुकुमकी १८ वर्षीय युवतीलाई एक लाख दिन्छु भनेर उनीहरुले बोलाए । घुम्न आएको तर, पैसा हराएको भन्दै तिलक ज्वेलर्समा सुन धितोमा राखेर होटलको व्यवस्था गरिदिन उनले आग्रह गरिन् । योजना अनुसार नै राति तिलकलाई बोलाइयो तर, उनी नआएपछि युवतीले बलात्कारको आरोप लगाइन् । गस्ती प्रहरीले भेटाएपछि युवतीले तिलकविरुद्ध बलात्कारको उजुरी हालिन् ।

फेरि मिलापत्र

प्रहरी छानविनका क्रममा आरोप झुटो भएको खुलेको डीएसपी दिनेश मैनालीले अनलाइनखबरलाई बताए । ‘यो झगडाको श्रृखला नै रहेछ, अहिले बलात्कारको आरोप झूटो भन्ने खुलेपछि नगरिक समाजसहितको पहलमा फेरि मिलापत्र गराइएको छ’ डीएसपी मैनालीले अनलाइनखबरसँग भने ।

कता जाँदैछ हाम्रो समाज ?

जाजरकोटोको यो घटनाले नेपाली समाज विश्रृंखलित र अनैतिक बन्दै जान थालेको संकेत दिन्छ । सामान्य र विवाद र झगडा परिवारमासमेत हुने गर्छन्, जुन समान्य हो ।

तर त्यस्ता सामान्य विवादलाई आपसी समझदारीमा समाधान गर्ने र गाउँ समाजमा एकता कायम गर्ने भन्दा पनि प्रतिशोध साँध्ने नाममा तेजाब खन्याउने र बलात्कारको अभियोगसम्म लगाउने परिपाटीले नेपाली समाजको नैतिक स्खलन स्पष्ट पारेको छ ।

त्यसैगरी पैसाको प्रलोभनमा बलात्कृत भएको अभिनय गर्ने चरित्र पनि जाजरकोट घटनाले उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment