Comments Add Comment

साहना : ‘श्री ३ महाराज’लाई झुकाउने २० वर्षे युवती !

-कमल कोइराला

मैले आफ्नो राजनीतिक यात्रा पुष्पलालको सानिध्यमा रहेर शुरु गरेँ । कोइराला परिवारबाट एक प्रकारले विद्रोह नै गरेर कम्युनिस्ट भएँ । मेरो संगत शुरुदेखि नै हाम्रा पारिवारिक नाताका मनमोहन अधिकारी, भरतमोहन अधिकारीहरुसँग भयो । त्यसैले हामी कम्युनिस्ट भयौं ।

Kamal-koiralaनेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग बनारसमा करिब सात वर्ष सँगै बसेँ । मैले पार्टी हेडक्वार्टरमै बसेर एसएलएम गरेँ ।

त्यसक्रममा सहाना प्रधान पुष्पलाललाई भेट्न काठमाडौंबाट बेला बेलामा बनारस आउनुहुन्थ्यो । उहाँसँग छोरा उमेश र छोरी उषा पनि आउथे ।

विश्वयुद्धको छर्रा

सहाना अधिकारी र साधना प्रधान दिदी-बहिनी नेपाली महिला आन्दोलनका अग्रणी हुन् । असनका शंकरलाल प्रधान खातापिता परिवारका व्यापारी थिए । उनी व्यापारका सिलसिलामा बर्मा गए । सहाना बर्मामै जन्मिनुभएको हो ।

पछि दोस्रो विश्वयुद्दमा हजारौं नेपालीहरुको वर्माबाट भागाभग भयो । त्यसपछि शंकरलाल पनि नेपाल फर्किनुभयो ।

साहना प्रधान उता बर्मामा सात कक्षासम्म पढ्नुभयो । नेपालमा त्यतिबेलासम्म छोरीले स्कुल जान पाउँदैनथिए । उहाँले छोरीले पढ्न किन नपाउने भनेर आन्दोलन थाल्नुभयो ।

वि.सं.२००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रुपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिला कार्यकर्तामध्ये दुईजना साधना र साहना दिदी बहिनी थिए ।

पद्म शमसेरलाई झुकाए

पन्ध्र दिन आमरण अनसनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरबाट आश्वासन पाएपछि साहना फर्किनुभयो ।

Sahana-pradhan-960

पद्मसमशेरले सुरुमा साहुकी छोरी हो, दुःख खेप्न सक्दिन भन्दै थिए । तर, बर्माबाट फर्किएकी साहसी युवतीले कठोर राणा शासकलाई झुकाएरै छाडिन्, जतिबेला उनी २० वर्षकी थिइन् । त्यसबेला नेपाली महिलाहरु घुम्टो खोल्नसमेत डराउँथे ।

त्यसबेला राणा शासनविरोधी आन्दोलन पनि शुरु भइरहेको थियो । राष्ट्रिय कांग्रेसको सत्याग्रह र साहना साधनाहरुको महिला आन्दोलन सँगै चलिरहेको थियो ।

पुष्पलालसँग पद्म समशेरकैमा भेट

वि.सं. २००४ सालको आन्दोलनकै क्रममा तत्कालीन राष्ट्रिय कांग्रेसका सचिव पुष्पलाल र महिला युवा आन्दोलनकारी साहना प्रधानलाई पक्राउ गरेर तत्कालीन श्री ३ पद्म समशेर समक्ष लगियो ।

पद्म समशेर अन्य राणामध्ये अलि उदार भएकाले उनले कठोर सजायँ दिएनन् । पद्म समशेरको हिरासतमै पुष्पलाल र साहनाको पहिलो भेट भएको हो । त्यहीँबाट पुष्पलाल फुर्तिली युवती साहनातिर आकषिर्त भए ।

साहनालाई नेपालमा पढाउन नपाएपछि बुबाले भारतमा पढ्न पठाए । पछि पुष्पलाल पनि साहनालाई भेट्न भारत गएका बेलाबेलामा उहाँहरुको लभस्टोरी सुन्ने क्रममा मैले पनि थाहा पाएको हुँ ।

महिला संघकी संस्थापक महासचिव

साहना, साधना दिदी बहिनी र गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह नेपाली महिला आन्दोलनका संस्थागत हुन् । वास्तवमा अब साहनाको अवसानसँगै नेपाली महिला आन्दोलनका पहिलो पुस्ताका अगुवाहरुको अन्त्य भएको छ ।

उहाँ महिला संघको संस्थापक महासचिव हुनुभयो । २००९ सालतिर पुष्पलालसँग उहाँको बिहे भयो । पुष्पलालसँग बिहे गरेपछि साहनाको राजनीतिक सक्रियतामा एक प्रकारको ब्रेक लाग्यो ।

जागिर खोसियो

छोरा छोरी हुर्काउन र पढाउनतिर उहाँ लाग्नुभयो । एमए पास गरेकाले उहाँले पदमकन्या क्याम्पसमा लेक्चरको जागिर पाउनुभयो ।

त्यही जागिरबाट उहाँले पुष्पलाललाई पनि भरथेग गर्नुहुन्थ्यो । बेला बेलामा बनारसमा भेट्न जाँदा उहाँहरुबीच आर्थिक संकटका कुरा सुनिन्थ्यो ।

पुष्पलालको निधनपछि..

पञ्चायती शासनले साहना, हिरण्यलाल श्रेष्ठलगायतका प्राध्यापकहरुको जागिर खोसेपछि उहाँ बेरोजगार हुनुभयो । यही बीचमा ०३५ सालमा कमरेड पुष्पलालको निधन भएपछि उहाँ बाध्यतावश पुनः पार्टीको सक्रिय राजनीतिमा आउनुभयो ।

पार्टीका तत्कालीन नेताहरु बलराम उपाध्याय, लोकनारायण सुवेदी, लोककृष्ण भट्टराई, शरणविक्रम मल्ल, बोर्णबहादुर कार्की, राम रावलहरुले पुष्पलालको निधनपछि पार्टी चलाउनुपर्‍यो भनेर साहनालाई आग्रह गरे ।

मनमोहनसँग एकीकरण

त्यसपछि साहना पार्टी नेतृत्वमा आउनुभयो । ०४२ सालमा मनमोहन र साहनाको पार्टी एकीकरण भएर नेकपा माक्र्सवादी गठन भयो । ०४३ सालमा भारतको सारनाथमा भएको महाधिवेशनले मनमोहनलाई महासचिव बनायो र साहना त्यो पार्टीको शीर्ष नेतृत्वमा रहनुभयो ।

यसबीचमा जनआन्दोलनको तयारी शुरु भयो । बिभिन्न घटकमा छरिएका कम्युनिस्ट पार्टीहरुलाई एक ठाउँमा ल्याएर बाममोर्चा बनाउने काम सहज थिएन । साहना प्रधानको व्यक्तित्वले गर्दा बाममोर्चा बन्न सम्भव भयो । त्यसको संयोजक पनि सर्वसम्मतिले साहना नै बन्नुभयो ।

बाममोर्चाको आवश्यकता

त्यसबेला सबैले स्वीकार गर्ने र संघर्षको लामो अनुभव भएकी निडर महिला नेतृका हिसाबले साहनाको नेतृत्वमा सबै कम्युनिस्टहरु आन्दोलनमा एक भए । एकातिर कांग्रेसका गणेशमान सिंह अर्कोतिर बाममोर्चाबाट साहना प्रधान, वास्तवमा जनआन्दोलनको उभार त्यहीँबाट शुरु भयो र पञ्चायत शासन ढल्यो ।

कांग्रेस र कम्युनिस्टको अन्तरिम सरकारमा बाममोर्चाबाट साहना प्रधान मन्त्री बन्नुभयो । त्यसपछि नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण गरेर नेकपा एमाले बनाउने कामको अगुवाइ पनि उहाँले नै गर्नुभयो ।

मेरो साथ सधैंँ

नेकपा एमाले बनेपछि उहाँ निरन्तर स्थायी कमिटी सदस्य हुँदै पार्टी बिभाजन भएर नेकपा माले बनेपछि अध्यक्ष समेत बन्नुभयो । ०४८ र ०५१ को निर्वाचनमा उहाँ काठमाडौंबाट निर्वाचित हुनुभयो । ०५६ मा पार्टी विभाजनका कारण पराजित हुनभयो र उहाँलाई हराउँदै एमालेकै अष्टलक्ष्मी शाक्य बिजयी हुनुभयो ।

पार्टी बिभाजन दुर्भाग्यपूर्ण घटना थियो । मैले बिभाजनका बेला पनि साहनालाई साथ थिएँ र पार्टी एकीकरणमा पनि हामी एकैतिर लाग्यौं ।

साहनाले मलाई राजदूत बनाउनुभयो

उहाँहरुलाई म बनारसका घाटहरु घुमाउँथे । त्यहीँदेखि नै सहानासँग शुरु भएको नाता उहाँको चेत हुन्जेल सधैं समधूर रहृयो । उहाँ र म राजनीतिक सहयात्री भए पनि एकप्रकारको स्नेह थियो ममाथि ।

उहाँले आफू परराष्ट्र मन्त्री भएका बेला मलाई पार्टीका शीर्ष नेताहरुलाई समेत पेलपाल पारेरै कोरियाका लागि राजदूत बनाउनुभयो । ‘तपाईको मूल्यांकन मैले नगरे कसले गर्न सक्छ र ?’ भन्नुहुन्थ्यो ।

काँडाको बाटो

एउटा सम्पन्न र बैभवशाली परिवारमा जन्मिएर पनि साहनाले जीवनको कठोर बाटो रोज्नुभयो । राजनीति र पारिवारिक जीवनमा उहाँले धेरै हण्डर खानुभयो ।

पुष्पलालसँग लामो दाम्पत्य जीवन रहन सकेन, कालले पुष्पलाललाई चुँड्यो । बाँचुञ्जेल पनि उहाँहरु लामो समय सँगै बस्न पाउनुभएन । तर, पनि नेपाली जनताको लागि साहनाले ठूलो गुण लगाउनुभएको छ ।

विशेष गरी नेपाली महिलाहरु आज जुन ठाउँमा आएका छन्, यसको जग बसाउने साहनालाई मेरो अन्तिम सलाम ! अलविदा कामरेड साहना ! तपाई हाम्रो स्मृतिमा सधैं ररिहनुहुनेछ !

(नेकपा एमाले जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य एवं कोरियाका लागि पूर्व नेपाली राजदूत समेत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment