Comments Add Comment

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन दबाबमुलक कार्यक्रम

२३ असोज, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न दबाबमूलक कार्यक्रमहरू सुरु गर्ने भएको छ ।

चीनको एक्जिम बैंकले ऋण दिने र निर्माण गर्न चिनियाँ ठेकेदार कम्पनीको समेत छनौट भैसक्दा पनि बैंकसँग ऋण सम्झौता हुन नसकी निर्माण कार्य अघि बढ्न नसकेपछि सरोकार समितिले दबाबमूलक कार्यक्रम सुरु गर्न लागेको हो ।

पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा विभिन्न राजनीतिक दलका नेता, पर्यटन व्यवसायी, नागरिक समाज, उद्यमी र व्यापारीको एक टोली यही असोजको अन्त्यतिर काठमाडौँ जाने र टोलीले अर्थमन्त्री, पर्यटन मन्त्री र प्रमुख दलका नेताहरूलाई भेटी विमानस्थलको निर्माण कार्यलाई अघि बढाउन छलफल गर्नेछ ।

विमानस्थलको निर्माण कार्यको सुरुवातको सुनिश्चितता नभएसम्म टोली काठमाडौँमा रहने र टोलीले काठमाडौँमा नै पत्रकार सम्मेलन गरी निर्माण कार्यको ढिलासुस्तीका बारे जानकारी गराउने छ ।

विमानस्थलको निर्माणमा ढिलासुस्ती गरिएको भन्दै सरोकार समितिले तीन वर्षअघि पनि रिले अनसनलगायतका विभिन्न आन्दोलनका कार्यक्रम गरेको थियो ।

विसं २०३२ मा पोखराको छिनेडाँडामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनी तीन हजार एकसय छ रोपनी जमीन अधिग्रहण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment