Comments Add Comment

म ‘प्लेब्वाई’ होइन, मोडलले अफर गर्छन् : शंकर बीसी (भिडियो)

shankar bc
टेलिभिजनमा सधैं नाचिरहने, स्टेजमा पनि देखिइरहने युवक शंकर बीसीको सपना नेपाली चलचित्रको नायक बन्ने थियो । नायक बन्नका लागि उनी काठमाण्डौ छिरे, जीवनमा थुप्रै समय संघर्ष गरे । चलचित्रका लागि कोरस बनेर उनले नृत्य पनि गरेका थिए ।

तर, आज उनै शंकर लोकगीतको म्यूजिक भिडियोको बादशाह बनेका छन् । उनको विकल्प नेपाली लोकगीतका लागि देखिएको छैन । करिब १६ सय म्युजिक भिडियो निर्देशन र ९ सयमा अभिनय गरेका शंकर अब चलचित्र निर्देशनमा पनि लागेका छन् ।

अनलाइनखबरसँग कुरा गर्ने क्रममा उनले  जीवनमा थुप्रै पाटाहरुलाई खोतले । नेपाली लोकगीतको अवस्था आज बदलिएको छ । शंकर यसलाई समयको आवश्यता भन्छन् । विशेषगरी गीत नै नयाँ फ्युजनमा आएपछि आफूले म्यूजिक भिडियो पनि निर्देशनको तरिका पनि बदल्नु परेको उनको भनाइ छ । तर, लोकगीतमा देखिएको विकृतिलाई भने उनी स्वीकार गर्छन् ।

करिब १६ सय म्यूजिक भिडियोमा काम गर्दा उनका लागि सम्झना बुढाथोकी भन्दा सहज महिला मोडल कोही आएनन् । सम्झनासँग काम गर्न सजिलो भए पनि शंकर उनीसँगको अफेयरको कुरालाई भने अस्वीकार गर्छन् । शंकरले भने-‘मेरो सम्झनासँग कुनै सम्बन्ध थिएन । उनलाई मैले बहिनीजस्तो मानेको छु, बजारमा सधैं देखिने भएकाले पनि मानिसहरुले विभिन्नखालका कुरा गरेका हुन् ।’

अहिले शंकरले नेपाली चलचित्रका नायिकाहरुलाई पनि मोडल बनाइरहेका छन् । लोकगीतका लागि सुष्मा कार्की राम्रो मोडल भएको उनको तर्क छ । सम्झना बुढाथोकीपछि शंकर र पार्वती राईले लोकगीतको भिडियोमा धेरै नै ठुम्का लगाए । तर, आज यी दुईको सम्बन्धमा खटपट देखिएको छ । कारण के त ? शंकरले भने-‘उहाँलाई घमण्ड बढेको छ । अब शंकर बीसी नभए पनि हुन्छ भन्ने भ्रम उहाँमा परे जस्तो लाग्यो ।’

पार्वतीले समयमा नआउने, सम्झौता गरिसकेको काममा गर्दिँन भन्ने जस्ता आचरण देखाएपछि शंकर फन्किएका हुन् । उनी पार्वतीले आचरण सुधारेको खण्डमा सँगै काम गर्न सकिने बताउँछन् ।

के शंकर बीसी ‘प्ले ब्वाई’ हुन् त ?-‘म त्यस्तो केही पनि होइन । तर, मानिसहरु धेरै युवतीसँग नाचेका कारण मलाई यस्तो सोच्छन् ।’

धेरै भिडियो निर्देशन गरेका शंकर काम गराउनका लागि मोडलसँग विभिन्न खालका नाजायज अफर गर्छन्  कि गर्दैनन् होला ? उनले भने-‘त्यस्तो त मैले कहिल्यै पनि गरेको छैन । तर, मोडलहरु नै मलाई तपाईका लागि जे पनि गर्न सक्छौं भन्दै अफर गर्छन् । तर, मैले उनीहरुलाई सम्झाएर पठाउँछु ।’

म्युजिक भिडियोको विकृति : ‘मूर्गा प्रवृत्ति’
शंकरले नेपाली लोकगीतको म्युजिक भिडियोमा विकृति आउनुका पछाडि ‘मूर्गा’ प्रवृत्ति हावी भएको खुलाए । भिडियोमा देखिने लोभमा जो पनि लगानी गर्न अग्रसर हुँदा यस्तो अवस्था आएको उनको तर्क छ । लोकगीतलाई ‘मुर्गा’ प्रवृत्तिबाट टाढा लानुपर्ने उनको भनाइ छ ।

shankar bc-1
गायिका निशा सुनारसँग दोस्रो बिहे गरेपछि शंकर केही आलोचित पनि बने । तर, शंकर यसलाई गल्ती मान्न तयार छैनन् । उनले भने-‘मैले दुबै परिवारलाई मिलाएर राखेको छु, पहिली श्रीमतीबाट २ छोरा छन्, नीशा जीबाट छोरी भइन् । अब मलाई पुग्यो । म दुबैलाई कहिल्यै पनि दुख दिन्न ।’

भिडियोमै नाचेर गाडी, घर जोडेका शंकर टप थ्रीमा रहनेलाई मात्र जिउन सजिलो रहेको सुनाउँछन् । नेपाली लोकगीतको म्युजिक भिडियोमा सर्वाधीक धेरैमा अभिनय गरेर गिनिज बुकमा नाम लेखाउने सोचाइ पनि उनको छ । के शंकर यसमा सफल होलान्, प्रतिक्षा समयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment