Comments Add Comment

मिलन अमात्य : अञ्जु पन्तको ठाउँ खोसेकी छैन (भिडियो सहित)

Milan-Amatya

९ माघ, काठमाडौं । नेपाली चलचित्रको पाश्र्व गायनमा होस् या एल्बममा गीतमा, गायिका मिलन अमात्यको खुबै चर्चा छ । यतिबेला चलेका अधिकांश चर्चित गीतमा मिलनकै स्वर सुनिन्छ । चाहे नोटबुक चलचित्रको गाला रातै होस् या काली चलचित्रको स्लोली स्लोली नै किन नहोस्, मिलनकै स्वर सुनिन्छ ।

तर, गायिका मिलन आमात्यको करिअर एकाएक चर्चामा पुगेको भने होइन । आसाममा जन्मिएकी मिलनले आफ्नो जीवन यात्रा र सांगीतिक करिअरमा निकै ठूलो संघर्ष गरेकी छन् । अनलाइनखबरसँग उनले आफ्नो विगत र अनुभव यसरी साटिन् :

संघर्षका लागि के गरिएन ?
म भारतको असाममा जन्मिएकी हुँ । मेरो घरमा सांगीतिक माहोल भएकाले पनि मलाई गाह्रो भएन । तर, हाम्रो गाउँबाट कुनै पनि काम गर्नका लागि पाँच घण्टा लामो यात्रा गर्नुपर्ने हुन्थ्यो । पहिलो पटक मैले १३ बर्षको उमेरमा स्टेजमा गीत गाउने मौका पाएकी थिएँ । म गीत रेकर्ड गर्न गाडी चढेर गुहाटीसम्म पाँच घण्टाको यात्रा तय गर्थें ।

तर, त्यहाँ पनि आफू जुनियर भएकाले अवसर पाउन रातभरि नै कुर्नुपथ्र्यो । तर, एक प्रतियोगितामा फस्ट रनरअप भएपछि मैले अवसर पाउन थालें ।

मैले विभिन्न भाषाका गीत पनि गाएकी छु । संघर्षका ती दिनले नै आज मलाई नेपाली सांगीतिक क्षेत्रमा एउटा स्थान दिएजस्तो लाग्छ ।

आर्थिक अभावले रोकियो बलिउड

सन् २००३ मा एउटा राष्ट्रिय प्रतियोगिता भएको थियो । मैले त्यहाँ गीत गाउँदा गजलमा फस्ट रनरअपको उपाधि जितेकी थिएँ । यसपछि मैले आफ्नो आवाज ‘सारेगमप’ नामक शोका लागि सीडीमा पठाएकी थिएँ ।

उक्त शोमा म छनोट पनि भएँ । तर, मुम्बई गएर बस्नका लागि मसँग पैसा थिएन । करिब ५० हजार लाग्ने अवस्था थियो । म आर्थिक अभावका कारण मुम्बई जान सकिँन र मेरो बलिउडमा पाइला राख्ने अवसर गुम्यो ।

फेरि कोशिश गर्छु
कुनै दिनमा जीवनमा यो काम किन गरिएन भन्ने नहोस् भन्ने लागेको छ । यसैले, अब म फेरि बलिउडमा कोशिश गर्छु । एकजना साथी छन् त्यहाँ । उनका साथमा म बलिउडमा कोशिश गर्ने तयारीमा पनि लागेकी छु । भाग्यले साथ दियो भने पक्कै गाउने अवसर पाइएला ।

कसैको स्थान खोसेकी छैन
आज मेरो गीतलाई स्रोताले मन पराइदिनुभएको छ । तर, मलाई लाग्दैन कि मैले गायिका अञ्जु पन्तको स्थान खोसें । उहाँलाई म हृदयदेखि नै सम्मान गर्छु । उहाँको आफ्नो स्वर छ, मेरो आफ्नो छ । म उहाँको विकल्प हुँजस्तो मलाई लाग्दैन । यो स्रोता, मिडिया र यो क्षेत्रका मानिसले सोचेको मात्र हो  जस्तो लाग्छ ।

मलाई थाहा छैन, म कस्तो स्वभावकी छु, यो मसँग काम गर्ने संगीतकर्मीले अझ राम्रोसँग मूल्यांकन गर्न सक्नुहुन्छ होला । भगवानले मलाई कहिले पनि घमण्ड नहालिदिउन् भन्ने कामना गर्छु । अहिलेसम्म सबैले मलाई राम्रो भनिदिनुभएको छ । म साधारण छु भन्ने नै ठान्छु ।

मलाई सकेसम्म रीस उठ्दैन । तर, बढी नै भयो भने उठ्छ । म साधारण केटी हुँ, घमण्डले पतन नबनाओस् भन्ने नै चाहन्छु ।
सोचेकी थिइन यहाँ पुग्छु
पहिलो एल्बम ‘मिलन’ सार्वजनिक गर्दा मलाई यो स्थानमा पुग्छु भन्ने लागेको थिएन । जुन तरिकाले स्रोता र मिडियाले मेरो गीतलाई रुचाउनुहुन्छ, त्यही तवरले नै अगाडि बढ्छु भन्ने लागेको  थियो । तर, आज सबैले मनपराइदिनुभएको छ, खुशी लाग्छ । मलाई थाहा छ हरेक मानिसको समय आउँछ र जान्छ ।

म यो बिषयमा  पनि तयार भएरै आएको छु । मैले पनि कसैको ठाउँ खोसे होला, मेरो पनि केही बर्षपछि कसैले खोस्नेछन् । हरेक क्षेत्रमा विकल्पको जरुरी पनि छ ।

सांगीतिक क्षेत्रमा आफ्नो गायन बेचेर मात्रै सबैलाई बाँच्न सक्ने अवस्था छैन । यो केही मानिसका लागि मात्र लागू हुन्छ होला । हामीले संघर्ष गर्दाको समयमा पनि यस्तै अवस्था थियो । तर, कुनै दिन मीठो फल पाइन्छ भन्ने आश मैले गरेको थिएँ, आज त्यो केही हदसम्म पाएकी पनि छु । तर, सबै मानिस यही क्षेत्रबाट राम्रो आम्दानी गरेर बाँच्न सक्छन् भन्ने मलाई लाग्दैन ।

milan-amatya-cute-photo
किन चले त गीत ?
मैले जतिबेला ‘मिलन’ एल्बमको ‘जहिलेसम्म संसारमा’ बोलको गीत गाएकी थिएँ, यो गीतले चर्चा पायो । यसपछि अरु पनि चलचित्रका लागि कुरा भैरहेको थियो ।

मैले संगीतकार बसन्त सापकोटासँग पहिलोपटक भजन गाएकी थिएँ ।मैले गाएको गीत नयाँ पुस्ताको मुखमा झुन्डने खालका छन् कि भन्ने लाग्छ ।

संगीत र शब्दले पनि मलाई धेरै नै साथ दिएको छ । म हरेकखालका गीत गाउन सक्छु कि भन्ने लाग्छ । जस्तो गीत छ, मेरो आवाज त्यहीअनुसार नै आउँछ । यसैले पनि म आफूलाई भर्सटायल गायिका नै भन्न चाहन्छु ।

प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment