Comments Add Comment

स्वाइन फ्लुबाट मृत्युको सम्भावना कति हुन्छ ?

डा. विवेक सिंह

स्वाइनले फ्लु अहिले धेरै नै चर्चा पाएको छ । यसले जनमानसमा डर उत्पन्न गरेको छ। स्वाइन फ्लुका बारेमा मानिसहरुमा सही ज्ञान हुन जरुरी छ, सही शन्देश सबैमा पुर्याउनु हाम्रो कर्तब्य हो । लक्षण देखा परेको व्यक्तिले उचित सल्लाह र समयमा नै उपचार पायो भने, यो रोग ले भयानक रुप भने लिन सक्दैन ।

swine-fluस्वाइन फ्लुका बारेमा जान्नुभन्दा पहिला, फ्लु भनेको के हो भन्ने कुरा जान्नु आवश्यक छ। फ्लुलाई इन्फ्लुएन्जा पनि भनिन्छ। इन्फ्लुएन्जा एक किसिमको भाइरल रोग हो । यो रोग गराउने भाइरसलाई इन्फ्लुएन्जा भाइरस भनिन्छ ।

इन्फ्लुएन्जा भाइरस तीन प्रकारका हुन्छन् । ती हुन् : १. इन्फ्लुएन्जा भाइरस ए २. इन्फ्लुएनजा भाइरस बी र ३. इन्फ्लुएन्जा भाइरस सी । तीन प्रकारका इन्फ्लुएन्जा भाइरस एक-आपसमा भिन्न छन् ।

इन्फ्लुएन्जा भाइरस ए को संक्रमण चरा-चुरुंगी, सुँगुर, घोडा, अन्य जनावर र मानिसहरुमा समेत देखिने गर्छ। यसले क्षेत्रीय स्तरमा रोगको प्रकोप ल्याउनुका साथै बिश्वब्यापीरुपमा माहामारी फैलाउने गर्छ। इन्फ्लुएन्जा भाइरस ए को विभिन्न उप-प्रकारहरु छन्।

इन्फ्लुएनजा भाइरस बी को संक्रमण मानिसहरुमा प्राय देखिने गर्छ। यसले क्षेत्रीय स्तरमा रोगको प्रकोप ल्याए पनि बिश्वब्यापी रुपमा महामारी फैलाउन भने सक्दैन। इन्फ्लुएन्जा भाइरस सी ले साधारण रोग-लक्षण गराउँछ र केही व्यक्तिमा यो लक्षणरहित हुने गर्छ।

माथि उल्लेख गरिएका ती भाइरसमध्ये सबैभन्दा महत्वपूर्ण भाइरस: इन्फ्लुएन्जा भाइरस ए हो। इन्फ्लुएनजा भाइरस ए को विभिन्न उप-प्रकारहरु छन् । इन्फ्लुएनजा भाइरस ए को बाहिरी भागमा मुख्य २ किसिमका प्रोटिन हुन्छन् :  हेमएग्लुटिनिन: पहिको अंग्रेजी अक्षर ” एच” र निउरामिनिडेज : पहिको अंग्रेजी अक्षर ” एन” ।

बाहिर भएको प्रोटिनकै आधारमा यसका बिभिन उप-प्रकारलाई बैज्ञानिक नामाकरण गरिन्छ, जस्तै : एच ५ एन १,,एच १ एन १, एच १ एन २, एच ३ एन २, एच ३ एन १ अादि ।

स्वाइन फ्लु के हो ?

स्वाइन फ्लु एउटा संक्रामक रोग हो जसले श्वास-प्रश्वासमा कार्यरत प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अंगलाई असर गर्ने गर्छ। यसले हाम्रो शरीरको पाचन प्रणाली र प्रतिरोधात्मक क्षमतालाई पनि असर पार्छ।

स्वाइन फ्लु इन्फ्लुएनजा भाइरस ए का विभिन्न उप-प्रकारहरुले गराउने गर्छ। स्वाइन फ्लु गराउने इन्फ्लुएनजा भाइरस ए का केही उप-प्रकारहरु यस प्रकार छन् : एच १ एन १, एच १ एन २ र एच ३ एन २ ।

स्वाइन फ्लुको महामारी

स्वाइन फ्लु गराउने विभिन्न उप-प्रकारहरु मध्य सबैभन्दा खतरनाक भाइरस एच १ एन १ हो । सामान्यतः एच १ एन १ ले स्वाइन ( सुँगुर) लाई लाग्ने गरे पनि, मानिसहरुमा यसले बिश्वब्यापी रुपमा महामारी फैल्याउने गर्छ।

सन् १९१८-१९१९ को बिश्वब्यापी महामारीका बेला यसलार्इ स्पेनिस फ्लु को संज्ञा दिइएको छ । महामारीको दौरान स्सपेनिस फ्लुले  “पर्पल डेथ” को संज्ञा पाएको थियो ।

पहिलो विश्वयुद्धमा जति मानिसहरुको मृत्यु भएको थियो, त्यो भन्दा धेरै मृत्यु स्सपेनिस फ्लुले १९१८-१९१९ मा भएको थियो । यस क्रममा ५ करोड मानिसको मृत्यु भएको थियो ।

त्यस्तै सन् २००९- २०१० को बिश्वब्यापी महामारीमा लगभग २ लाख ५० हजारको मृत्यु भएको थियो। इन्फ्लुएन्जा भाइरस ए को अरु विभिन्न उप-प्रकारहरुले पनि यसरी महामारी फैल्याउने गरेको छ।

कसरी फैलिन्छ स्वाइन फ्लु ?

स्वाइन फ्लु प्रायःजसो सुँगुरहरुमा देखिन्छ । सुँगुरहरुमा यो संक्रमण धेरै देखिए पनि यो रोगको लक्षण भने धेरै सामान्य नै हुने गर्छ र मृत्यु पनि कमै गराउँछ।

विवेक सिंह
विवेक सिंह

मानिसमा भने यो रोगले भयानक रुप लिन सक्छ र महामारी गराउन सक्छ । श्वास-प्रश्वास प्रक्रियाद्वारा फैलने यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा र श्वास फेर्दा निस्कने थुक/सिंगानसँगै यो रोग लगाउने भाइरस वातावरणमा आउने गर्छ, र त्यही थुक/सिंगानसँग निस्केको भाइरस अरु व्यक्तिले श्वास फेर्दा उनीहरुको श्वास-प्रश्वासमा कार्यरत  प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अंगमा जाने र आक्रमण गर्ने गर्छ, जसका कारण बिरामीमा  विभिन्न लक्षणहरु देखिने गर्छन् ।

स्वाइन फ्लुबाट संक्रमित वस्तुलाई हामीले हातले छोयौं र त्यही संक्रमित हातले आँखा, नाक, मुख छोयौं भने त्यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्छ ।

एच १ एन १ भाइरस टिस्यु पेपरमा १५ मिनेट, हाथमा ३० मिनेट, कपडामा १२ घण्टासम्म र स्टील र प्लास्टिकमा ४८ घण्टासम्म सक्रिय/क्रियाशील रहन्छ ।

प्राय संक्रमण भएको १ देखि ७ दिन भित्र लक्षणहरु देखिन थाल्छन् । र, लक्षण देखिएको २४ घण्टा पहिला र ८ दिन पछिसम्म संक्रमित व्यक्तिमा भएको भाइरस अरुमा फैलने सम्भावना धेरै हुन्छ।

स्वाइन फ्लुको लक्षण

ज्वरो आउने, खोकी लाग्ने, घाँटी  दुख्ने, नाक बन्द हुने, नाकबाट सिंगान बग्ने, हाछ्युँ आउने, मांसपेसी र जोड्नी दुख्ने, थकाइ लाग्ने, टाउको दुख्ने, आँखा रातो हुने र आँशु आउने, बच्चाहरुमा पेट दुख्ने, वाक वाक लाग्ने,  बान्ता आउने र पखाला लाग्ने ।

के स्वाइनबाट मृत्यु हुन्छ ?

मानिसहरु मा स्वाइन फ्लु ले अहिले धेरै नै डर उत्पन्न गरेको छ । बुझ्नु पर्ने कुरा के हो भने, स्वाइन फ्लुले संक्रमित बिरामी मध्य मात्रै १ देखि ५ प्रतिशतमा मात्रै मृत्युको सम्भावना हुन्छ । तर, केही व्यक्तिहरुमा भने यसले भयानक रुप लिने गर्छ ।

कस्ता बिरामीमा भयानक रुप लिने गर्छ ?

केही बिरामीहरुमा स्वाइन फ्लुको पकड अझै धेरै हुने र अझै भयानक रुप लिने गर्छ। ५ वर्ष मुनिका बच्चा, ६५ वर्षभन्दा धेरै उमेर पुगेको व्यक्ति, गर्ववती, मधुमेहका बिरामी, श्वास-प्रश्वासमा कार्यरत प्रणाली सम्बन्धी रोग, मुटु, किड्नी, लिभरसम्बन्धी बिरामीहरूमा खतरा बढी हुन्छ । त्यस्तै प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति (कुनै औषधि, कुनै रोग को कारण अथवा कुनै प्रक्रियाका कारण) र मस्तिष्कसम्बन्धी रोग लागेकाहरूलार्इ स्वाइन फ्लुको खतरा बढी हुन्छ ।

स्वाइन फ्लुबाट कसरी बच्ने ?

यसबाट बच्न फेस मास्कको प्रयोग गर्नुपर्छ । स्वाइन फ्लुको लक्षण देखा परेको व्यक्तिसँग भेट गर्दा वा भीडभाड ठाउँमा हिँड्दा मास्कले सय प्रतिशत बचाऊ भने गर्न सक्दैन।

मास्कको प्रयोग गर्दा, सही मास्कको, सही तरिकाबाट प्रयोग गर्नुपर्छ । मास्क प्रयोग गरिसकेपछि त्यसलाई सही तरिकाले नष्ट गर्नुपर्छ ।

खोक्दा, हाछ्युँ गर्दा टिस्यु पेपरको प्रयोग गरी त्यसलाई सही तरिकाले नस्ट गर्नुपर्छ।

हात साबुन-पानीले धुने, हेन्ड सेनीटाइजर को प्रयोग गर्ने र सफा पानीको प्रयोग गर्ने गर्नुपर्छ ।

कुनै लक्षण देखा परेमा, सही रोग थाहा पाउन समयमा नै सम्बन्धित व्यक्तिसंग सल्लाह सुझाब लिनुपर्छ ।

प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति र माथि उल्लेखित रोग भएको व्यक्तिले आफ्नो स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्छ ।

समयमा नै रोगको पहिचान गर्नुपर्छ र संक्रमित व्यक्तिलाई छुट्टै राख्नुपर्छ ।सर-सफाइमा ध्यान दिनुपर्छ । संक्रमित हातले आँखा, नाक र मुखमा छुन हुँदैन। रोगका बारेमा जन-मानसमा चेतना जगाउनुपर्छ । ताजा खानेकुरा खाने, हरियो सागसब्जी खाने पानी प्रसस्त खाने  र आराम गर्ने गर्नुपर्छ। संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा कमसेकम १ मिटरको दुरी कायम राख्नुपर्छ।

कसरी हुन्छ स्वाइनको उपचार ?

स्वाइन फ्लु लागेको व्यक्तिले समयमा नै उचित उपचार र सही सल्लाह पाउन जरुरी छ । यो रोग लागेका बेला लक्षण अनुरुप विभिन्न औषधि प्रयोग गरिन्छ । भाइरस बिरुद्ध विभिन्न एनटी भाइरल औषधि यो रोगका लागि लाभदायक हुन्छ र केही व्यक्तिहरुमा प्रतिरोधात्मक शक्ति काम भएका कारण अरु किटाणु(ब्याक्टेरिया) ले पनि संक्रमण गर्ने हुनाले कहिले काहिँ  एनटी ब्याक्टेरियल  औषधिको प्रयोग गर्नुपर्ने हुन सक्छ। केही औषधिहरुले हाम्रो प्रतिरोधात्मक शक्ति कायम राख्ने हुनाले यस्तो औषधिको प्रयोग पनि बिरामीका लागि लाभदायक हुन सक्छ । तर, बजारमा विभिन्न औषधिको झुटो प्रचार भएको हुनाले कुनै औषधि प्रयोग गर्नु अगाडि चिकित्सकको सल्लाह सुझाब लिन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment