Comments Add Comment

बाबुरामको भारत भ्रमण : एक टिप्पणी

विष्णु रिजाल

बाबुराम भट्टराईलाई भारत पुग्दा धेरै दिनपछि माइती फर्केकी चेलीलाई जस्तो अनुभूति हुने गर्दोरहेछ भन्ने उनको हाउभाउ र व्यवहारले देखाउँछ । सामाजिक सञ्जालमा उनी स्वयमले सार्वजनिक गरेका तस्वीरहरुले उनी दिल्ली पुग्दा कति प्रफुल्लित हुँदारहेछन् भन्ने देखाएको छ ।

विष्णु रिजाल
विष्णु रिजाल

वास्तवमा अरु कुनै नेपाली नेताभन्दा डा. भट्टराईको जीवनकथा दिल्लीसँग अन्योन्याश्रित रुपमा जोडिएको छ । उनले उच्च शिक्षा भारतमै हासिल गरे, पीएचडी जवाहरलाल नेहरु विश्वविद्यालयबाट हासिल गरे । उनको राजनीतिक जीवनको सुरुआत पनि भारतीय भूमिबाटै भयो, विद्यार्थी संगठनमार्फत । त्यति मात्र होइन, व्यक्तिगत जीवनमा हालकी पत्नी हिसिला यमीलाई पनि उनले जेएनयुकै परिसरमा भेटाए ।

कुनै संयोग होइन, दिल्लीप्रति उनको मोह कति छ भन्ने कुरा उनले आफ्नी छोरी मानुषीलाई पीएचडी गर्नका लागि दूताबासमार्फत जेएनयुमै छात्रवृत्ति दिलाउनुले पनि देखाउँछ ।

पुरानो छात्राबास, पुरानो चिया पसल, पुरानो ढावा पसल र पुराना गुरुहरुलाई सम्झेर नोस्टाल्जिक हुँदै डा. बाबुराम भट्टराईले भारतीय मित्रहरुलाई एउटा आत्मीय सन्देश दिन खोजेका छन्- ‘म अरुभन्दा फरक छु, म अरुभन्दा निकट छु ।’

सँगै गएका आफ्नै पार्टीका महासचिव कृष्णबहादुर महरालाई फिर्ता पठाएर डा. भट्टराईले दिल्लीमा गरेका भेटहरुबाट उनले भारतीय पक्षको विश्वास जित्न कुनै कसर बाँकी राखेका छैनन् । कोसिसका बाबजुद भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसके पनि त्यसबाहेक भट्टराईले भारतीय राजनीति र जनमत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई भेटेका छन् ।

खासगरी, भारतसँगको उनको लामो मित्रता, उठबस र विश्वासका कारण पदमा नभएका कुनै नेताले दिल्लीमा पाउनेभन्दा न्यानो आतिथ्य डा. भट्टराईले पाएका छन् ।

विदेशका राष्ट्रपति वा प्रधानमन्त्री आउँदा विरलै देखिने जमघट इन्डियन इन्टरनेसनल सेन्टर (आइआइसी) मा देखिएको छ भने त्यसभन्दा बढी नेपाली प्रधानमन्त्रीको भ्रमणलाई समेत निकै कम महत्व दिने भारतीय मूलधारका समाचारपत्रहरुमा उनको कभरेज देखिएको छ । हिन्दुस्तान टाइम्स, द हिन्दु, फाइनान्सियल टाइम्स जस्ता नाम चलेका पत्रिकाहरुले डा. भट्टराईका विचारलाई प्राथमिकताका साथ स्थान दिएर नेपालको राजनीतिमा भारतीय रोजाइको सार्वजनिक सूचना सम्प्रेषण गरेका छन् ।

Pranab-Mukharji-and-Baburam

  • भारतीय राष्ट्रपति प्रणव मुखर्जीका साथ डा. बाबुराम भट्टराई । तस्वीर : भट्टराईको फेसबुक

बाबुराम भट्टराई अपवाद होइनन्, उनले अतिरिक्त मिहेनत मात्र गरेका हुन् । नेपालको राजनीतिमा पकड कायम गर्नका लागि भारतीय पक्षसँग न्यानो सम्बन्ध राख्ने प्रयत्नबाट नेपालका कुनै पनि नेता मुक्त छैनन् । फरक यति हो- कसैले त्यसलाई अलि राजनीतिक तहमा विकास गरेका छन् । नत्र भने भारतीय कर्मचारीतन्त्रदेखि खुफिया एजेन्सीसम्म याचनाको हात बढाउने उपक्रम चल्न थालेको अहिले होइन ।

कुनैबेला नेपालको मन्त्रिपरिषद् बैठकमै आफ्नो राजदूतलाई राख्ने भारतले आज त्यसका लागि आफ्नै देशको नागरिकताधारी मानिस राख्न आवश्यक पर्दैन । उसलाई चाहिएको सूचना टक्र्याउन हाम्रो कर्मचारीतन्त्रदेखि राजनीतिक वृत्तसम्म प्रतिस्पर्धामा छ ।

यस्तो बेलामा डा. बाबुराम भट्टराईले भारतले गएर केके नै गरे भनिरहनु पर्दैन । विगतदेखि नै भारतसँगको सम्बन्धलाई लिएर पार्टीभित्र समेत आलोचित र आरोपित भट्टराईका भारतमा थुप्रै मित्र छन् । भारतीय खुफियातन्त्रमा विशेष अर्थ राख्ने प्राध्यापक एसडी मुनिदेखि १२ बुँदेका आर्किटेक्ट मानिने श्यामशरण र गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग (रअ) का पूर्व प्रमुख पीके हर्मिज जस्ता व्यक्तिगत मित्र बनाउन अरु नेपाली नेताले सकेका छैनन् ।

‘भारतका खास इच्छाहरुका विरुद्ध काम गर्ने छैनौँ’ भनेर यिनी मित्रहरुको सहयोगमा एमाओवादीले सन् २००४ मै आन्तरिक गुप्तचर संस्था (आइबी) मार्फत अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा कबुलियतनामा गरेको खुलासा त उनै मुनीले ‘नेपाल इन ट्रान्जिसन’ पुस्तकमा राम्रैसँग गरिसकेका छन् ।

माओवादी आन्दोलनको उद्भव र विकाससँग जोडिएका तथ्यहरु यति खुल्ला हुँदाहुँदै डा. बाबुराम भट्टराईलाई मात्र दोष दिनु न्यायोचित नहोला ।

नेपालमा दलहरुका बीचमा मतभेद छन् । यही कारणले यिनीहरु एकअर्काको आलोचना पनि गर्छन् । स्वयम् भारतमा मात्र होइन, अरु विकसित देशहरुमा पनि एक दलले अर्को दलको आलोचना, खण्डन र प्रतिवाद गर्ने कुरा स्वाभाविक हुन्छ । नेपालमा पनि त्यो भइरहेको छ । दलका नेताहरुले एउटाका विरुद्ध अर्काले चर्को आलोचना र टिप्पणीहरु गरिरहेका छन् । कतिपय अराजनीतिक हर्कत पनि उनीहरुबाट भइरहेका छन् । त्यस पंक्तिमा भट्टराई अझ अगाडि छन् । यसलाई कसैले अन्यथा पनि मानेको छैन ।

तर, दिल्ली पुगेर दायाँ एसडी मुनी र बायाँ श्यामशरणलाई राखेर डा. भट्टराईले जसरी नेपालका राजनीतिक दलहरुको सत्तोसराप गरेका छन्, त्यो विल्कुल अशोभनीय मात्र होइन, आपत्तिजनक पनि छ । अझ कांग्रेस र एमालेका नेताहरुको नामै किटेर उनले गरेको वक्तव्यवाजी भारतीय पक्षलाई खुसी पार्ने र आफू मात्रै उनीहरुको सच्चा हितचिन्तक हुँ भनेर पुष्टि गर्ने कोशिस बाहेक केही होइन ।

देशको आन्तरिक मामिलामा भारतीय पक्षलाई जबर्जस्त ल्याउने र थप विवादित बनाउने कोशिस देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले गरेका छन्, जुन एउटा स्वतन्त्र र सार्वभौम मुलुकका लागि लाजमर्दो कुरा होे ।

डा. भट्टराईले आफ्ना वक्तव्यहरुमा भारतलाई त्यसरी खुल्ला रुपमा आमन्त्रण गर्नुका पछाडि ऊ शान्ति प्रक्रियाको ‘मुख्य हिस्सेदार’ भएको दलील पेस गरेका छन् । यदि सत्य त्यही हो भने समग्र माओवादी आन्दोलन, त्यसको उद्देश्य, सञ्चालन र योजनाकै बारेमा पुनःव्याख्या हुन जरुरी छ । १२ बुँदे सम्झौता सात दल र माओवादीबीच भएको थियो । आन्दोलन नेपालमा भएको थियो । संविधानसभाको निर्वाचन नेपालमा भएको थियो । अनि भारत त्यसको मुख्य हिस्सेदार कसरी हुन सक्छ ? होला, भारतले सद्भाव राखेको छ, १२ बुँदे सहमति गर्नका लागि सहज वातावरण बनाइदिएको छ । यही आधारमा उसलाई मुख्य हिस्सेदारी दिने हो भने यहाँका राजनीतिक नेताहरुको स्थान के हुन्छ ?

बाबुराम एक्ला होइनन्

भारतको विश्वास जित्नका लागि कोसिस गर्ने र उसलाई खुसी पार्न न्वारानदेखिको बल लगाउने बाबुराम भट्टराई एक्ला नेता होइनन् । अरु नेताहरु पनि यस्तो मौका आयो भने छुटाउँदैनन् । भारतबाट कोही एउटा मध्यम तहको नेता त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा र्झन पाएको हुँदैन, दर्शनाभिलासीबीच उछिनापाछिन सुरु भइहाल्छ । पशुपतिनाथको दर्शन गर्न आएको कुनै भारतीय अधिकारीलाई नेपाली नेता भेटेर फुर्सत हुँदैन ।

नेताहरुको व्यवस्थापनदेखि उपचारसम्मको जोहो मिलाउँदा भारत पनि सम्भवतः हैरान होला । यस्तो बेलामा कुनै मुुलुकलाई दोष दिनुभन्दा हाम्रा नेताहरुतिरै औंला ठड्याउनुपर्छः आफ्नो संकट टार्न दिल्ली दौडेर देशलाई थप संकटमा नपार्नुहोस् ।

त्यसबाट तपाईंलाई त फाइदा होला, देशलाई फाइदा हुँदैन र स्वयम् दिल्लीलाई पनि सानातिना नेताका स्वार्थमा सहयोग बन्दा दीर्घकालमा फाइदा हुँदैन ।

एमाओवादीले बेलाबेलामा भिर्ने गरेको राष्टवादको मखुण्डो डा. बाबुराम भट्टराईको यसपटकको दिल्ली भ्रमणले नराम्ररी ध्वस्त बनाएको छ । खासगरी, नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपका लागि उनले गरेको खुल्ला र गोप्य आमन्त्रणले प्रत्येक देशभक्त नागरिकलाई झस्काएको हुनुपर्छ । यसबाट भावी दिनमा अझ चर्को स्वरमा भारतको दलाली गर्ने र उसको विश्वास जित्नका लागि अझ बढी चाकरी  गर्ने प्रवृत्ति देखा पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment