Comments Add Comment

चीन पहिचानसहितको संघीयताका पक्षमा-प्रचण्ड

१५ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको संघीयताका पक्षमा अघि बढ्न चीनले सुझाव दिएको बताएका छन्।

Prachanda

नेपालको राजनीतिक परिस्थिति र संघीयताबारे चीनका राजनीतिक, कूटनीतिक र प्रशासनिक तहका नेताहरूसँग कुनमिङदेखि बेइजिङसम्म छलफल गरेर फर्किएका दाहालले अब आफूलाई १० प्रदेशको संघीयताका पक्षमा लड्न अन्तर्राष्ट्रिय रूपमा सकारात्मक वातावरण बनेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

संघीयताबारे चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तीन महिनाअघि पत्र लेखेका दाहाल पाँचदिने चीन भ्रमणका क्रममा बेइजिङमा उपराष्ट्रति ली युआनचाओसहितका नेताहरूसँग छलफल गरी शुक्रबार राति नेपाल फर्किएका हुन्।

नेपालको राजनीतिक परिस्थिति र संघीयताबारे चीनको कुनमिङमा त्यहाँका गभर्नर, कतिपय केन्द्रीय मन्त्रीहरूसँग र बेइजिङमा उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा अन्तर्राष्ट्रिय विभागका मन्त्रीहरूसँग छलफल हुँदा उनीहरू नेपालमा पहिचानसहितको संघीयताका पक्षमा रहेको आफूले पाएको दाहालले बताए।

उनले चीन भ्रमणमा सबभन्दा बढी नेपालको अहिलेको राजनीतिक परिस्थिति र संघीयताका विषयमै केन्द्रित रहेको जानकारी दिए।

चिनियाँ नेताहरूले आफूलाई विशेष जोड दिएको उद्धित गर्दै दाहालले भने, ‘चीन संघीयताको विरोधमा छ भन्ने भ्रम पार्न खोजिएको छ, बिल्कुल होइन, तपाईंले स्पष्ट पारिदिनुस्, हामी संघीयताका पक्षमा छौं।

हामी आफैं स्वायत्त प्रदेश बनाएर अल्पसंख्यक विभिन्न जाति, भाषा र क्षेत्रका समुदायलाई प्रदेश दिएर बसेका छौं।’

आफूलाई कुनमिङदेखि बेइजिङसम्म चिनियाँ नेताहरूले चीन नेपालमा संघीयताका विपक्षमा नरहेको कन्भिन्स गर्न बल गरेको पनि दाहालले बताए।

‘झन्डै ९४ प्रतिशत हान जाति भएको ठाउँमा थोरै प्रतिशतमात्रै रहेको जाति, भाषा र क्षेत्रलाई किन स्वायत्तता दिनु पर्थ्यो तर उनीहरूलाई पहिचान दिनुपर्छ।

उनीहरूको अधिकार दिनुपर्छ भनेर हामी स्वायत्त प्रदेशका पक्षमा छौं र स्वायत्त प्रदेश सञ्चालन गरिरहेका छौं’, चिनियाँ नेताको भनाइ उद्धित गर्दै दाहालले भने, ‘नेपाल जहाँ एउटा जातिको बहुमत कसैको छैन, बहुजातीय छ। एउटा भाषाको बहुमत पनि छैन।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो भने त्यो देशमा सबैको अधिकार र सबैको पहिचान भएको संघीयताको हामी किन विरोधी हुने?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment