Comments Add Comment

धराैटीमा ‘बलात्कारी’ छाड्ने कुन एेनमा छ श्रीमान् ?

मात्रिका पौडेल

३० चैत, काठमाडौं । बीस वर्षीया प्रबिना मगर (नाम परिवर्तन)लाई आफू बलात्कृत भएको रात जुन त्रास थियो, त्यो भन्दा ठूलो डर अहिले लागिरहेको छ । आफ्नो अस्मिता लुट्ने बलात्कार अभियुक्त अमृत थेवेलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि उनी थप असुरक्षित भइन् ।

Prbina

अभियुक्तले जुन रातमा उनलाई बलात्कार गरे त्यही राति भनेका थिए-‘यदि यो कुरा बाहिर लगिस् भने तँ, तेरो श्रीमान दुवैजनालाई सिध्याउँछु ।’ श्रीमानकै आड भरोसामा प्रहरीसमक्ष पुगेकी प्रबिना आफ्नो अस्मिता लुट्ने व्यक्तिलाई अदालतले छाडेपछि साँच्चै सिध्याइदिने हो कि भन्ने त्रासमा छिन् ।

श्रीमती बलात्कार गर्ने थेवे अदालतबाट ५५ हजार धरौटीमा छुटेपछि प्रबिनाका श्रीमान सानुकुमार लामाले उनलाई काठमाडौंबाट गाउँ पठाए । होटल मजदूर लामा  भने आफू लुकीलुकी हिँडेका छन् ।

‘म त लुकेर बाँचौंला, तर दुवैजना यहाँ हुँदा असुरक्षित भएकाले उनलाई गाउँ पठाएँ’ लामाले भने ‘बलात्कारीलाई अदालतले नै छाडेपछि हामी पीडितले कहाँबाट न्याय पाउने ?’

अदालतबाटै आशा मरेपछि आफ्नो पीडा सुनाउन पीडित प्रबिना मगर अनलाइनखबरको कार्यालयसम्म आइन् । उनले भनिन्-‘कति दिन लुकेर बसौं ? ममाथि भएको अपराध समाजलाई सुनाउन यहाँसम्म आएकी हुँ ।’

चोखो प्रेममा बैरीको नजर

गण्डकीकी प्रबिना र नारायणीका सानुबीच तीन वर्षअघि प्रेम विवाह भएको हो । आर्थिक रुपमा गरिवीले थिचिए पनि यी दुईबीचको सम्बन्ध प्रेमले उँचो थियो । तर गत फागुन २५ गते उनीहरुको यो जोडीको प्रेममा बैरीको आँखा लाग्यो ।

इन्टर बिजनेश सहकारी लिमिटेडका प्रमुख अमृत थेवेको कार्यालय र घर दुवैतिर काम गर्न थालेकी थिइन् प्रबिनाले । आर्थिक अवस्था कमजोर भएका कारण उनले थेवेको घरमा पनि काम गर्नु बाध्यता थियो ।

कोठा ललितपुरको नख्खुबाट टाढा भएकाले उनी थेवेकै घरमा बस्नुपर्ने भयो । श्रीमानसँगको सल्लाहमै उनले त्यो निर्णय लिइन् । ताप्लेजुङ सिनामका थेवेको घर धापासीको हेपाली हाइटमा छ ।

कसरी लुटिइन् प्रबिना ?

प्रबिनाले काम थालेको एक सातामात्रै भएको थियो । फागुन २५ गते साँझ उनले थेवेको घरमा भान्छा तयार पारिन् । थेवेकी कान्छी श्रीमती र बालबच्चाहरुले खाना खाएर सुत्न गए ।

उनका मालिक थेवे बैठक कोठामा मदिराको पेग लगाउँदै थिए । प्रबिना स्न्याक्स र पेग थप्दै थिइन् । घर मालिक थेवेले उनको मोबाइल मागे । मोबाइल लिएपछि थेवेले सिम निकालेर राखे ।

त्यसपछि के भयो त ? प्रविना भन्छिन्-‘त्यसपछि उसले मलाई समात्यो । मेरा अंग खेलाउन थाल्यो । म रुन थालेपछि मुख थुन्यो । मेरा कपडा फाडेर उसले मेरो सर्वस्व लुट्यो । मैले उसको प्रतिकार गर्न धेरै खोजेँ, तर म लुटिएँ ।’

प्रबिनालाई नशाको सूरमा बलात्कार गरेपछि थेवेले उनलाई ‘जे भयो भयो, अब यो कुरा बाहिर लगेमा तेरो श्रीमानलाई समेत सिध्याइदिन्छु । मेरो पावर माथिसम्म छ’ भन्दै धम्क्याए ।

prabina1

  • अनलाइनखबरकर्मी मात्रिका पौडेल पीडित युवतीसँग कुराकानी गर्दै

रोएर बित्यो त्यो कालो रात

उनको मोबाइल पहिले नै खोसिसकेकाले श्रीमानलाई सम्पर्क गर्न पाइनन् । आफ्नो अस्मिता लुटेर उनका मालिक थेवे अाफ्नी श्रीमतीसँगै कोठामा सुत्न गएपछि उनी रातभरि रोएर बसिन् ।

गाउँबाट भर्खरै काठमाडौं पसेकी यी अनपढ, अबोध युवतीले आफूमाथिको त्यति भयानक अपराधको प्रतिवाद गर्न पनि सकिनन् र घर मालिक्निीलाई सुनाउन पनि आँट आएन ।

रातभरि रोएर बिताएकी प्रबिना विहान ४ बजे नै आफ्नो अस्मिता लुटिएको महल छाडेर हिँडिन् । विहान ६ बजे कोठामा पुगेपछि श्रीमानलाई देख्नासाथ भक्कानो छाडेर रुन थालिन् ।

धेरैबेर रोएपछि पनि उनले आफूमाथिको घटना सुनाउन सकिनन् । यदि बलात्कृत भएँ भन्यो भने श्रीमानले पनि छाड्ने हुन् कि भन्ने डर उनीभित्र थियो ।

मलाई छाडिदेऊ

प्रबिना भन्छिन्-‘त्यसपछि मैले अब म यो शहर छाडेर जान्छु । म तपाईसँग मुख देखाउन लायक पनि रहिँन । मलाई छाडिदिनु, म अब सकिएँ भनेर ममाथि भएको अत्याचार श्रीमाानलाई सुनाएँ । तर, मेरा श्रीमान भगवान निस्किनुभयो, उहाँले नै यो कुरा छाड्नुहुँदैन पुलिसमा जाउँ भनेपछि महाराजगन्ज प्रहरीमा गएर रिपोर्ट लेखाएको हो ।’

संयोग नै मान्नुपर्छ, जतिबेला प्रबिना उनका श्रीमानको साथ लागेर आफू बलात्कृत भएको रिपोर्ट लेखाउँदै थिइन्, त्यति नै बेला अभियुक्त अमृत थेवे पनि महाराजगन्ज प्रहरी कार्यालयकै अगाडि भेटिए ।

श्रीमानको दरिलो साथ

एक रेष्टुरेन्टबाट झर्दै गरेका उनलाई प्रबिनाले चिनाइदिएपछि प्रहरीले त्यहीँबाटै पक्राउ गरेको महाराजगन्ज प्रहरीका डीएसपी सानुराम भट्टराईले बताए । प्रबिना प्रहरीसम्म पुगेपछि थेवेले साथीमार्फत उनलाई व्यापारमा लगानी गरिदिने भन्दै आर्थिक प्रलोभन पनि पठाए ।

‘म त पुलिसमा जान डराएकी थिएँ, भोलि मेरो बदनाम होला, सबैले थाहा पाउलान् भनेर मानेकी थिइँन । तर, मेरा श्रीमानले यस्तो कुरा सहन हुँदैन भन्नुभयो,’ उनले अनलाइनखबरसँग भनिन् ।

प्रहरीले प्रबिनाको मेडिकल जाँच गर्‍यो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उनी बलात्कृत भएको मेडिकल रिपोर्ट दियो । प्रहरीले काठमाडौं जिल्ला अदालतमा थेवे विरुद्ध जबर्जस्ती करणीको मुद्दा दायर गरेको थियो ।

अदालतको रहस्यमय आदेश

तर, थेवे पक्राउ परेको २५ दिनपछि काठमाडौं जिल्ला अदालतबाट ५५ हजार धरौटीमा रिहा भए । उनलाई रिहा गर्न आदेश जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले दिएको थियो ।

बलात्कार जस्तो जघन्य अपराधका अभियुक्तलाई जिल्ला अदालतले धरौटीमा छाडेपछि सरकारी वकीलहरु समेत आश्चर्यमा परेका छन् ।

प्रहरीले मुद्दा कमजोर बनाएर पेश गरेको आरोप एकातिर लागेको छ भने अर्कोतिर थुनामै राख्नुपर्ने अभियुक्तलाई छाडिएकोमा जिल्ला अदालतभित्रै पनि खैलाबैला मच्चिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकील कार्यालयका सहायक न्यायाधिवक्ता प्रतिमा पोखरेलले जिल्ला अदालतले थेवेलाई धरौटीमा छाडे पनि उनको मुद्दा अहिले नै बन्द नहुने बताएकी छन् ।

धरौटीमा छाड्ने अदालतको आदेश विरुद्ध पीडित पक्षका तर्फबाट सरकारी वकील कार्यालयबाटै पुनः थुनामा राख्न निवेदन समेत पेश भएको छ ।

मुलुकी एेन अदालती बन्दाेबस्त महलकाे ११८  अनुसार तीन वर्षभन्दा बढी सजायँ हुने अपराधमा अभियुक्तलार्इ थुनामा राखी कारवाही गर्नुपर्ने स्पष्ट व्यवस्था छ । घटनामा अभियुक्त दाेषी नदेखिए रिहा गर्न सकिने एेनमा व्यवस्था छ ।

सकिएको सपना

राम्रो लाउने, मीठो खाने र शहरी जीवन जिउने सपना बोकेर काठमाडौं छिरेकी प्रबिनाको रंगीन सपना अब चकनाचूर भइसकेको छ । अब उनको एउटैमात्र सपना छ, त्यो भनेको आफ्नो सतित्व लुट्ने अभियुक्तलाई कडा भन्दा कडा सजायँ दिलाउने ।

बलात्कृत हुनु प्रबिनाको अपराध होइन । तर, आज उनी अपराधी जसरी लुकेर हिँड्नु परेको छ, त्यो पनि बलात्कारीको धम्कीबाट जोगिन । बलात्कृत नारीले लुकेर हिँड्नुपर्ने अनि बलात्कारी अदालतबाट छाती फुलाएर रिहा हुने क्रुर नियतिको शिकार प्रबिना र उनका श्रीमान बनेका छन् ।

श्रीमानसँग सुत्दा आफैंलाई धिक्कार

प्रबिना भन्छिन्-‘मलाई आफ्नो श्रीमानसँग सुत्दा पनि अपराध गरेजस्तो लाग्छ । जब त्यो रातको घटना सम्झिन्छु, आफैंलाई धिक्कार्न मन लाग्छ । सँगै सुतेर श्रीमानलाई धोखा दिँदैछु जस्तो लाग्छ ।’

आफू बलात्कारमा परेपछि प्रबिनाले थेवेलाई थुक्न चाहेकी थिइन् । तर, जसलाई थुक्नुपर्ने हो, उसलाई अदालतले इज्जतका साथ रिहा गरेपछि उनै आफैं लुक्न बाध्य भएकी छन् ।

‘जसले मेरो सर्वस्व लुट्यो उसले धम्की दिँदै हिँडेको छ, बलात्कारमा पर्नु मेरो अपराध हो ?’ प्रबिनाको यो प्रश्नको उत्तर कसले दिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment