+
+
Shares

गृहमन्त्रीको दौडधुप : सीमा-नाका निरीक्षणदेखि घोपा बचाउ अभियानका सदस्यको घरसम्म

शनिबार करिब ५ घण्टा मोरङमा बिताएका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयदेखि सीमा-नाकाको निरीक्षणसम्म गरे । धरान पुगेर ‘घोपा बचाउ’ अभियानका सदस्यलाई घरघरमै पुगेर भेटे ।

हरि अधिकारी हरि अधिकारी
२०८३ असार २१ गते १९:३८

२१ असार, विराटनगर । गृहमन्त्री सुधन गुरुङ शुक्रबार बेलुका नै विराटनगर आएको हल्ला चलेको थियो । तर, उनी शनिबार बिहान मात्र विराटनगर विमानस्थल ओर्लिए । त्यसपछि गृहमन्त्री गुरुङ कोशीका जिल्लाहरूको दौडधुपमा छन् ।

उनको अनुगमन र निरीक्षण म्याराथन शैलीमा चलिरहेको छ ।

शनिबार करिब ५ घण्टा मोरङमा बिताएका उनले जिल्ला प्रशासन कार्यालयदेखि सीमा-नाकाको निरीक्षणसम्म गरे । धरान पुगेर ‘घोपा बचाउ’ अभियानका सदस्यलाई घरघरमै पुगेर भेटे ।

राति धनकुटाको भेडेटारमा बसेका गृहमन्त्री आइतबार धनकुटा जिल्लाको निरीक्षणपछि पुन: धरान आएका छन् । धरानबाट अब कहाँ जाने भन्ने टुङ्गो छैन । तर भोलि काठमाडौं फर्कने तयारीमा छन् ।

‘उहाँको भ्रमणको सेड्युलबारे जानकारी छैन । जहाँ जाने भन्नुहुन्छ, त्यतै टोली मुभ भइरहेको छ,’ कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे भन्छन्, ‘सबै जिल्लाका युनिटहरू तयारी अवस्थामा छन् ।’ शनिबार दिनभर घिमिरे पनि गृहमन्त्रीसँगै निरीक्षणमा खटिएका थिए ।

शनिबार गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगरको रानी सीमा-नाका, विराटनगर भन्सार कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको स्थलगत निरीक्षण गरे । निरीक्षणका क्रममा सुरक्षा अधिकारीहरूसँग छलफल पनि गरे ।

 

काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत बिहान करिब ११ बजेतिर विराटनगर विमानस्थल अवतरण गरेका गृहमन्त्री गुरुङले विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरे । उनले प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक संरचनाको समस्याका बारेमा जानकारी भए पनि नयाँ पूर्वाधार निर्माण गर्न पर्याप्त बजेट नभएको बताएका थिए ।

उनले विराटनगर विमानस्थलमा सुरक्षामा परिचालित प्रहरीका तालिमप्राप्त कुकुरसँग एकै छिन खेल्न पनि भ्याए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न निर्देशन दिए । नागरिकता र राहदानी जस्ता सेवा प्रवाहको क्षेत्रमा गुनासो नआउने गरी काम गर्न निर्देशन दिए ।

‘यहाँ यति धेरै जग्गा छ भन्ने थाहै थिएन, जग्गा पर्याप्त रहेछ, एउटै परिसरबाट एकीकृत सेवा प्रवाह गर्ने गरी व्यवस्थापन मिलाउन सके सेवाग्राहीलाई सहज हुन्थ्यो,’ उनले भने,‘ अब वान स्टप सोलुसनको अवधारणामा काम अघि बढाउनुपर्छ ।’

‘अहिले एउटा बिल्डिङ यहाँ छ, अर्को त्यहाँ छ, मान्छे कहाँ जाने, के गर्ने भनेर अलमलमा पर्छन्,’ उलने भने, ‘अव्यवस्थित संरचनालाई हटाएर एउटै ठूलो हब बनाउनुपर्छ, नागरिकताको ठाउँमा नागरिकता मात्रै, राहदानीको ठाउँमा राहदानी मात्रै एकै लाइनबाट काम सकिने गरी गर्नुपर्छ, पब्लिक अन्त घुमिरहनु पर्दैन ।’

सेवाग्राहीको सहजताका लागि भौतिक पूर्वाधार मात्र नभई वातावरण मैत्री संरचनामा बनाउनु पर्ने उनको भनाइ छ । ‘मान्छेलाई सजिलो होस् । दुःख पाइयो भनेर पब्लिकले गुनासो गर्ने ठाउँ नभई सेवा पाउने ठाउँ बन्नुपर्छ,’ उनले भने ।

प्रशासन कार्यालयको निरीक्षणपछि उनले कार्यालय परिसर बाहिर रहेको हनुमान मन्दिरमा पूजा गरेका थिए । त्यसपछि शुभेच्छुकहरूसँग तस्वीर खिचाउँदै विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा पुगे ।

त्यहाँ प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन तथा समसामयिक सुरक्षा अवस्थाका बारेमा विस्तृत ‘ब्रिफिङ’ लिएर उनी भारतबाट विराटनगर प्रवेश गर्ने मुख्य मार्ग रानीस्थित जोगवनी सीमा-नाकामा पुगेका थिए । रानी नाकाको सुरक्षा व्यवस्था, आवतजावत, निगरानी प्रणालीको अवलोकन गरेका थिए ।

त्यसपछि उनले विराटनगर भन्सार कार्यालय अन्तर्गतको एकीकृत जाँच चौकी निरीक्षण गरे । सो क्रममा सीमाबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रभावकारी काम गर्न निर्देशन दिए ।

भन्सार निरीक्षणपछि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका गृहमन्त्री गुरुङलाई मोरङ प्रहरी प्रमुख कवित कटवालले जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए । उनले प्रहरी हिरासत, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको समेत स्थलगत निरीक्षण गरेका थिए ।

मोरङको निरीक्षणपछि धरान पुगेका गृहमन्त्रीले शनिबार राति घोपा बचाउ अभियानमा संलग्न सदस्यहरूलाई घर–घर पुगेर भेटेका थिए । गुरुङ धरानमा रहँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा बचाउ अभियान सञ्चालन गरेका थिए ।

आफूले चलाएको अभियानमा साथ दिएकाहरूको घर‍-घर पुगेर भेटघाट गरेपछि गृहमन्त्री गुरुङ राति करिब ९ बजे भेडेटार पुगरे बसेका थिए । भेडेटारबाट आइतबार बिहान धनकुटा लागेका उनले सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै मन्दीर दर्शन र पारिवारिक भेटघाट पनि गरे ।

धनकुटा नगरपालिका–६ मा रहेको ऐतिहासिक निशान मन्दिर दर्शन गरेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट पनि गरे । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण अनि जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गरे ।

धनकुटाबाट फर्किएका गृहमन्त्री गुरुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निरीक्षण पनि गरेका छन् ।

कोशी प्रदेशका डीआईजी घिमिरेका अनुसार गृहमन्त्री गुरुङको सेड्युलका बारेमा प्रहरीलाई जानकारी नभए पनि भोलि सोमबार काठमाडौं फर्कने तयारी छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?