+
+
Shares

अन्डरकभर शैलीमा सीमामा गृहमन्त्रीको छड्के

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले कसैलाई जानकारी नदिई बारा र पर्साका सीमा नाकाहरूमा छड्के अनुगमन गरेका छन्।
  • गृहमन्त्री गुरुङले अनौपचारिक पोशाकमा सीमा क्षेत्रका स्थानीयसँग संवाद गर्दै भन्सार छली र तस्करीबारे जानकारी लिएका छन्।
  • यो अप्रत्याशित अनुगमनले सुरक्षा निकायमा तरंग पैदा गरेको छ भने तस्करी नियन्त्रणका लागि यस्तो शैली प्रभावकारी हुने विज्ञहरूको बुझाइ छ।

१४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडियो तथा तस्वीरहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कालो क्याप, कालो चस्मा, निलो मास्क, सेटो भेस्ट, कालो हाफ पाइन्ट लगाएर बिन्दास तरिकाले लखर-लखर सीमा क्षेत्रका नाकाहरूमा हिँडेको भिडियो तथा तस्वीरहरू अहिले भाइरल बनेका छन् ।

तराई क्षेत्रका केही स्थानीयबासीसँग डुल्दै गरेको, केही बुझेको तथा कुराकानी गरेको भिडियोहरू सार्वजनिक भएका छन् । ती भिडियो तथा तस्वीरहरू गृहमन्त्री सुटुक्क नेपाल–भारत सीमा क्षेत्रका ठाउँहरुमा छड्के अनुगमन गर्न जाँदाका हुन् ।

विशेषगरी बारा, पर्साका सीमा नाकाहरूका स्थानीयबासीसँग कुराकानी गर्दैै सीमा नाका र त्यस ठाउँहरूबाट हुने अवैध भन्सार छली तथा तस्करीबारे बुझ्ने काम गरेका छन् ।

रारष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशमा चितवन गएका गृहमन्त्री गुरुङ त्यहाँबाट शुक्रबार राति बाराको पथलैया पुगेका थिए ।

यसबारे उनले कसैलाई पनि जानकारी गराएका थिएनन् । शुक्रबार राति सिमराको एक होटलमा बसे । त्यतिबेला पनि उनले तराईको सुरक्षा अवस्था र विशेषगरी सीमा क्षेत्रबाट हुने तस्करीबारे चासो राख्दै बुझ्ने काम गरेका थिए ।

शनिबार बिहानैबाट उनी पर्साका सीमा नाकाहरुमा पुगे । त्यहाँका स्थानीयहरुसँग बुझ्ने काम गरे । सीमा नाकाको अनुगमन गरे । तर यसबारे गृहमन्त्रीले बारा, पर्साका सुरक्षाका निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई भने कुनै पनि जानकारी गराएका थिएनन् ।

पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) सँग निजी गाडीमा उनी सीमा क्षेत्र घुम्दै स्थानीयसँग संवाद गर्दै हिँडेको सार्वजनिक भिडियोमा देखिन्छ । त्यसपछि उनी सिमराबाट शनिबार साँझपख हवाईमार्ग हुँदै काठमाडौं आएका थिए ।

भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूबाट भन्सार छली तथा तस्करी हुने गरेको विषयहरू बारम्बार सार्वजनिक हुँदै आएका छन् । अझ विशेष गरी मधेश प्रदेशका जिल्लाहरूबाट तस्करी हुने गरेको गुनासो आउने गरेको छ ।

त्यसो त तराईका यस्ता जिल्लाहरूमा जान एसपीहरूबीच अस्वस्थ प्रतिस्पर्धा पनि चल्दै आएको छ । गृहमन्त्रीले कसैलाई पत्तो नै नदिई सुटुक्क छड्के गरेको पाइएपछि सुरक्षा निकायमा तरंग पैदा भएको छ । एउटा उनको सुरक्षाको विषयलाई लिएर तरंग भएको छ भने गृहमन्त्री स्वंयम जानकारी नै नदिई सीमा नाकामा छड्के गरेपछि जिल्लामा खटिएका सुरक्षा अधिकारीहरूमाथि पनि अप्रत्यक्ष रूपमा त्यसको मनोवैज्ञानिक दबाब पर्ने सुरक्षाका जानकारहरू बताउँछन् ।

‘एउटा मन्त्रीको सुरक्षाको विषय हुने भयो । अर्को चाहिँ सीमा क्षेत्रमा सुटुक्क छड्के जाँदा तस्करी हुने जिल्लाका पुलिसहरूलाई टाउको दुख्ने भयो’ एक पूर्वडीआईजी भन्छन्, ‘तराईमा बेला–बेलामा मन्त्रीस्तरबाटै यस्तो छड्के हुने हो भने तस्करी पनि धेरै हदसम्म नियन्त्रण हुन्छ ।’

अघिल्लो पटक गृहमन्त्री बन्दा बिहानै गुड मर्निङ भन्दै काउन्ट सुरु गर्नेदेखि पक्राउ पुर्जी तथा पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका गृहमन्त्री गुरुङ अहिले भने शान्त भएर काम गरेको देखिन्छ ।

गृहमन्त्री लगत्तै एक्सनमा उत्रिएर केपी शर्मा ओलीदेखि रशेम लेखकसम्म पक्राउ गर्दै त्यसबारे फेसबुकबाटै गृहमन्त्री गुरुङले जानकारी गराउँदै आएका थिए । त्यसपछि हरेकजसो बिहान उनले गुड मर्निङ भन्दै काउन्ट डाउन समेत गर्थे ।

तर सम्पत्ति तथा शेयर सम्बन्धी विवादपछि राजीनामा दिएर बाहिरिएका उनी छानबिनपछि पुन: गृहमन्त्री बनेका छन् । यद्यपि छानबिन समितिको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक हुन सेकेको छैन ।

उनै गृहमन्त्री गुरुङ अहिले भने शैली फेरेर अन्डरकभर रूपमा छड्के जानेदेखि शान्त भएर धेरै सोच बिचार गरेर मात्रै एक्सन लिने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?