२१ असार, धनकुटा । गृहमन्त्री सुधन गुरुङ पूर्वी पहाडका जिल्लाको भ्रमणमा छन् । गुरुङ आइतबार धनकुटा पुगेका थिए ।
सो क्रममा सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षणसँगै धार्मिक दर्शन तथा पारिवारिक भेटघाट गरे । उनी शनिबार बेलुका धनकुटाको भेडेटार आएर बास बसेका थिए ।
धनकुटा आएर धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक निशान मन्दिर परिसरमा आएपछि गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । स्वागतपछि गृहमन्त्री गुरुङले मन्दिरमा दर्शन गरेका थिए ।
मन्दिर दर्शनपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गर्नुका साथै जिल्लाको शान्तिसुरक्षा, प्रहरीको कार्यसम्पादन र सेवा प्रवाहबारे जानकारी लिए ।

त्यसपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनकुटाको निरीक्षण गरेका थिए । प्रशासन कार्यालयमा नागरिकलाई उपलब्ध गराइने सेवाको अवस्था, प्रशासनिक कार्यसम्पादन तथा समग्र सरकारी सेवा प्रवाहबारे जानकारी लिँदै उनले प्रशासनिक संयन्त्रसँग छलफल गरेका थिए ।
निरिक्षण अनुगमनका सार्वजनिक प्रतिक्रिया नदिएका गुरुङले धनकुटा नगरपालिका वडा नं. ५ स्थित पारिवारिक भेटघाट गरेका थिए । त्यसपछि खाना खाएर उनी सुनसरीको धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)तर्फ प्रस्थान गरेका थिए ।
अकस्मात धनकुटा आएका गुरुङका कारण आइतबार साप्ताहिक बिदाको दिन कर्मचारी, सुरक्षा निकायको दौडधुप पनि बढ्न पुग्यो ।

प्रतिक्रिया 4