Comments Add Comment

चामल र गरीब खोज्न भन्दै विदेश भ्रमण

मात्रिका पाैडेल

५ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यवहादुर थापालाई राजकीय सम्मान दिने निर्णय गर्न विहीबार बसेको मन्त्रिपरिषद बैठक सकिनासाथ अर्को बैठक बसेर प्रधानमन्त्री सुशील कोइरालाको जकार्ता भ्रमणसहित करीव एक दर्जन अन्य विदेश भ्रमणका एजेण्डाहरु स्वीकृत गरिए ।

Susil-koirala

जाजरकोटमा महामारी फैलिइरहेका बेला बसेको मन्त्रिपरिषद बैठकमा अधिकांश एजेण्डा देश र जनताका लागि काम गर्नेभन्दा पनि भीआइपीहरुको विदेश भ्रमण स्वीकृत गर्ने र राज्य कोषबाट निकासा हुने गरेको समाचार अनलाइनखबरले खुलासा गरेको थियो ।

विदेश भ्रमणका एजेण्डा स्वीकृत गर्नकै लागि एकै दिन दुईपटक बसेको मन्त्रिपरिषद बैठकमा कामु मुख्य सचिव नारायणगोपाल मलेगोले पेश गरेका २५ मध्ये आधाभन्दा बढी एजेण्डा विदेश भ्रमणकै थिए ।

बैठकले जेठ ३ देखि ७ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने ‘एनुयल युनाइटेड नेशन्स सस्टिनेवल इनर्जी फर अल’ विषयक कार्यक्रममा भाग लिनका लागि योजना आयोगका उपाध्यक्ष डा. डोविन्दराज पोखरेल र सहसचिव गोपिनाथ मैनालीको भ्रमण स्वीकृत गरेको छ ।

त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रको टोलीलेाई प्राविधिक परीक्षणका लागि थाइल्याण्ड जाने स्वीकृति पनि मन्त्रिपरिषदले दिएको छ । केन्द्रका प्रमुख रमेशकुमार शर्मा, सहसचिव भोजेन्द्रवहादुर क्षेत्री र प्रहरी नायव महानिरीक्षक रोशननाथ पन्त वैशाख १७ र १८ बैंकक जानेछन् ।

चामल अध्ययन गर्न भन्दै विदेश

उत्तमकुमार भट्टराई
उत्तमकुमार भट्टराई

कृषि तथा सहकारी मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईलाई चामलको अध्ययन गर्नका लागि नयाँ दिल्ली भ्रमण गर्ने अनुमति समेत मन्त्रिपरिषदले दिएको छ । जबकि यस्तो कार्यक्रममा सम्बन्धित विषयका अधिकृतलाई पठाउनुपर्ने हो ।

सोही बैठकले टर्कीमा आयोजना हुने ग्यालिपोली शतवाषिर्की समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डे नेतृत्वको टोलीको भ्रमण स्वीकृत गर्दै भैपरी र उपहार खर्च बापत १५ सय डलर उपलव्ध गराएको छ ।

नेपाली सेनाका रथी प्रदीपविक्रम राणाले जेठ ५ देखि ७ मा अमेरिकाको होनोलुलुमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने प्रस्ताव पनि सोही बैठकले स्वीकृति प्रदान गरेको स्रोतले जनाएको छ ।

गरीव खोज्दै हैदरवाद

बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलका छोरा गरीव घरपरिवार सहयोग समन्वय वोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेल नेतृत्वको ९ सदस्यीय टोलीलाई सहकारी मन्त्रालयको बजेटबाट दिल्ली र हैदरावाद घुम्न स्वीकृति दिएको छ ।

यस्ता अधिकांश भ्रमण मन्त्रालयको बजेट सिध्याउनका लागि आयोजना हुने गरेका छन् । आर्थिक वर्ष सकिँदै गर्दा हतार-हतार बजेट सिध्याउन  बिभिन्न गोष्ठी र अध्ययन भ्रमणका नाममा राज्य कोष रित्याएर विदेश भ्रमण हुने गरे पनि मितव्ययी प्रधानमन्त्री सुशील कोइरालाले यसलाई रोक्न सकेका छैनन् ।

जकार्ताको जम्बो टोलीमा कोको ?

प्रधानमन्त्री सुशील कोइरालाका नेतृत्वमा इण्डोनेशिया जाने सरकारी टोलीको नाम मन्त्रिपरिषद बैठकले तय गरेको छ । १७ सदस्यीय भ्रमण दलमध्ये प्रधानमन्त्रीसँग जाने ८ जनाका लागि अलग्गै बजेट स्वीकृत भएको छ ।

भ्रमण दलका प्रायः सदस्यहरुले होटल खर्च भने लिएका छैनन्, होटल खर्च आयोजकले व्यहोर्ने छ

प्रधानमन्त्रीसँग जाने टोलीको पकेट खर्च र भत्तामा मात्रै पहिलो चरणमा ३ लाख रुपैयाँ निकासा भइसकेको छ । त्यस्तै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सचिव शंकरदास बैरागी नेतृत्वका अलग-अलग टोलीलाई थप भ्रमण खर्च निकासा भइसकेको छ ।

प्रधानमन्त्री कोइरालाको नेतृत्वमा जाने टोलीमा उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, शिष्टाचार सहायक यज्ञराज पौड्याल, स्वकीय सचिव अतुल कोइराला छन् ।

त्यस्तै प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा.करवीरनाथ योगी, नेपाली सेनाका प्रमुख सेनानी अर्जुनबहादुर थापा र प्रहरी निरीक्षक महेन्द्र मरासिनी पनि भ्रमण दलमा समावेश छन् ।

भ्रमण दलमा नेपाल टेलिभिजनका शालिग्राम सुवेदी र शिव पंगेनी तथा राससका बिष्णुप्रसाद नेपालको नाम पनि समावेश छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे वैशाख ४ गते नै जाकर्तातर्फ प्रस्थान गरिसकेका छन् । उनको टोलीमा राष्ट्रसंघका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उपसचिव लोकबहादुर पौडेल क्षेत्री छन् ।

यसअघि सचिव शंकरदास बैरागी र शाखा अधिकृत दधिराम भण्डारी पनि जकार्ता प्रस्थान गरिसकेका छन् । भ्रमण दलका प्रायः सदस्यहरुले होटल खर्च भने लिएका छैनन् । उनीहरुलाई होटल खर्च आयोजकले व्यहोर्ने स्रोतले जनाएको छ ।

अर्थमन्त्रीलाई पकेट खर्च

Ramsaran-mahat
अर्थमन्त्री डा. रामशरण महत प्रधामन्त्रीको टोलीभन्दा अलग्गै जकार्ता जाने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । वैशाख १६ र १७ गते आयोजना हुने बैठकमा जान भन्दै महतलाई नियम बमोजिमको भत्ता बाहेक भैपरि खर्च अर्थात पकेट खर्चवापत ३ सय डलर दिने निर्णय समेत बैठकले गरेको छ ।

महतको हवाइ टिकटको शुल्क राज्यकोषबाटै तिर्ने निर्णय भएको छ । यद्यपि हवाइ टिकट र होटल खर्च आयोजकले नै व्यहोर्ने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment